उम्मेदवारी दर्ताको पहिलो दिन : स्वतन्त्र बढी, ठूला दल पर्खाइमा

वीरेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उम्मेदवारी मनोनयनसम्बन्धी कागजात लिँदै दलका प्रतिनिधिहरु । कर्णालीमा सत्ता साझेदार दलहरु र एमालेले सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने तयारी गरेका छन । तस्वीर : प्रकाश अधिकारी, रासस

काठमाडौं । स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया आइतबारदेखि सुरु भएको छ । देशका ७ सय ५३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो । उम्मेदवारको मनोनयन दर्ताका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गतेको समय निर्धारण गरेको छ । पहिलो दिन आइतबार देशभर रहेका निर्वाचन अधिकृतको कार्यालयहरूमा विभिन्न दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारहरूले पनि विभिन्न पदमा मनोनयनपत्र दर्ता गराएका छन् ।

अधिकांश प्रमुख राजनीतिक दलले भने पहिलो दिन उम्मेदवारी दर्ता गराएका छैनन् । खासगरी सत्तारूढ गठबन्धन दलहरूले महानगरपालिका र उपमहानगरहरूमा उम्मेदवारकै टुंगो लगाउन सकेका छैनन् । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पनि अधिकांश महानगर र उपमहानगरमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । त्यसैले प्रमुख राजनीतिक दलहरूले सोमबार मात्र आफ्नो उम्मेदवारको मनोनयन दर्ता गराउनेछन् ।

निर्वाचन आयोगका अनुसार, मनोनयनको पहिलो दिन देशका विभिन्न पालिकामा विभिन्न पदका लागि १० हजार ५ सय ३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी दर्ताको यो प्रारम्भिक तथ्यांक हो । देशको सबैभन्दा ठूलो महानगरपालिका काठमाडौंमा पहिलो दिन आइतबार १६ जनाले मेयर १७ जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । विभिन्न वडाको वडाध्यक्षमा २३ जना र वडा सदस्यमा आठ जनाको उम्मेदवारी परेको छ । मेयरमा उम्मेदवारी दर्ता गराउनेमध्ये १२ जना पुरुष र चार जना महिला रहेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख पदमा स्वतन्त्रबाट मनोनयन दर्ता गराउँदै शुशिल गन्धर्ब । उनी सारङगीसहित आफना प्रस्तावक र समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरमा पुगेका थिए । तस्वीर : नारायणी रजौरे, रासस

काठमाडौं महानगरपालिकाको मेयरका लागि आनन्दराज जोशीले पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरपालिका–१९ वडा निवासी जोशी राष्ट्रिय यथार्थवादी पार्टी नेपालका महासचिव हुन् । काठमाडौं–१४ निवासी रविकान्त मानन्धरले पनि मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेका हुन् । यसैगरी काठमाडौं–१६ निवासी राजन कार्कीले पनि मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । ¥यापर बालेन्द्र शाह (बालेन) ले पनि मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौं–३२ निवासी शाहको प्रस्तावकमा प्रतिश श्रेष्ठ र समर्थकमा प्रेमकृष्ण श्रेष्ठ रहेका छन् ।

देशको सबैभन्दा ठूलो महानगरपालिका काठमाडौंमा पहिलो दिन आइतबार १६ जनाले मेयर १७ जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । विभिन्न वडाको वडाध्यक्षमा २३ जना र वडा सदस्यमा आठ जनाको उम्मेदवारी परेको छ । मेयरमा उम्मेदवारी दर्ता गराउनेमध्ये १२ जना पुरुष र चार जना महिला रहेका छन् ।

यसैगरी विवेकशील साझा पार्टीका तर्फबाट समीक्षा बाँस्कोटाले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् । बानेश्वर–३१ निवासी समीक्षाको प्रस्तावकमा मोहन श्रेष्ठ र समर्थकमा बीना शाह रहेका छन् । आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट काठमाडौं—२४ निवासी सुरेशरत्न बज्राचार्यले मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाल समावेशी पार्टीका तर्फबाट काठमाडौं–२४ का रामबहादुर खड्का, मंगोल नेसनल अर्गनाइजेसन पार्टीका तर्फबाट काठमाडौं–९ की सीता तामाङ र मौलिक जरोकिलो पार्टीका तर्फबाट काठमाडौं–९ का मनोजराज आचार्यले मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
ज्ञानु लामा तामाङ, सुमन सायमी, काठमाडौं–१५ की अमोट महर्जन, विपिनराज वैद्य, सूर्य थापा श्रेष्ठ, डिल्लीराम राजभण्डारी र जेठा महर्जनले पनि स्वतन्त्र रूपमा मेयर पदका लागि आआफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर प्रमुख पदमा मुख्य निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराउँदै व्यवसायी तथा इन्जिनियर कोमलबहादुर सिंह । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सिंहले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन । तस्वीर : शेरबहादुर सिंह, रासस

यसैगरी गुणबहादुर बञ्जाराले काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएका छन् । उनले आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी आधुनिक नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् । विवेकशील साझा पार्टीको तर्फबाट उपमेयरमा कीर्ति तुलाधरको उम्मेदवारी परेको छ । स्वतन्त्र रूपमा उपमेयर पदमा विद्या श्रेष्ठ महर्जनको उम्मेदवारी परेको छ । अमरबहादुर खत्री र विश्वविजय श्रेष्ठले पनि स्वतन्त्र रूपमा उपमेयर पदमा उम्मेदवारी दिएका छन् ।

यसैबीच, पोखरा महानगरपालिकाको मेयर पदकका लागि ११ जनाले मनोनयन दर्ता गराएका छन् । पोखरामा पनि उम्मेदवारी दर्ता गराउनेमा राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवार बढी छन् । पार्टीबाट पाँच जना र स्वतन्त्रबाट ६ जनाले उम्मेदवारी दिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गोविन्द गुरुङ, नेपाल जनता दलबाट मुक्तिराम सुवेदी, मौलिक जरोकीलो पार्टीका संजय तिमिल्सिना, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमप्रसाद गुरुङ र सचेत नेपाली पार्टीबाट भोजराज खनालले मेयर पदमा मनोनयन दर्ता गराएका हुन् ।

स्वतन्त्र रूपमा खड्कराज पौडेल, किशानसिंह गुरुङ, नवराज बाँस्तोला, विमलबहादुर कार्की, रामराज अधिकारी र डिलबहादुर गुरुङले मेयर पदमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पोखरा महानगरको उपमेयर पदमा भने चार जनाले मात्र उम्मेदवारी दर्ता गरेका छन् । उपमेयरमा सचेत नेपाली पार्टीबाट सोनी परियार, मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर तामाङ, राप्रपा नेपालबाट चिना दवाडी र स्वतन्त्र रूपमा सोममाया विकले उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा आइतवार जनमत पार्टीका महिला सदस्य उम्मेदवारहरु दर्ताको लागि पालो पर्खदै । तस्बिरः मनोज दाहाल /रासस

सोमबार साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।

उम्मेदवार छन्ने जिम्मा देउवालाई

स्थानीय तहको आगामी निर्वाचनका लागि नेपाली कांग्रेसबाट महानगरपालिका र उपमहानगरको उम्मेदवार छनोट गर्ने जिम्मा सभापति शेरबहादुर देउवाले पाएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई उम्मेदवार टुंगो लगाउने जिम्मा दिएको हो ।

बैठकले महानगरको टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठन गरेको थियो । तर, अन्तिम अवस्थामा आएर देउवालाई टिकट वितरणको पूर्ण अधिकारी दिइएको हो । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरमा मेयर पाएको छ ।

यसैगरी वीरगञ्ज, भरतपुर र पोखरामा महानगरपालिकामा उपमेयर पदमा उम्मेदवार उठाउनेछ । उपमहानगरतर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीमा मेयर पद पाएको छ । जितपुर सिमरा, घोराही र हेटौँडामा उपमेयरमा उम्मेदबार उठाउनेछ ।

प्रतिक्रिया