जनकपुरमा एमालेबाट मेयरमा दुई प्रतिस्पर्धी !

जनकपुरधाम । आसन्न स्थानीय तहको निर्वाचनमा बढो गजबको खेल जनकपुरधाममा भइरहेको छ । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि एकल उम्मेदवारको रुपमा सिफारिस गरिएका शिवशंकर साह हिराको प्रतिस्पर्धीको रूपमा अर्का उम्मेदवार पनि सोही पार्टीबाट थपिएपछि औपचारिक को भनेर जनकपुरधाममा कुतूहुलताको विषय बनेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जनकपुरधामको मेयरका लागि सिफारिसमा गरेका पाँच जना मध्ये एक जानकीराम साहले औपचारिक निर्णय आउनुभन्दा पहिले नै आपूmलाई स्वतन्त्र उम्मेदवारीको घोषणा गरे । उनलाई त्यतिले मात्रै पुगेन । जानकीराम साह मेयर पदकै लागि एमालेमा प्रवेश गरेपछि सो पार्टीभित्र अलमल देखिएको छ । केही दिनअघि काठमाडौंस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर जानकीराम साह टिकाटालोसहित एमालेमा प्रवेशमा गरेका थिए । जानकीराम साह लोसपाबाट जितेका वर्तमान वडाध्यक्ष पनि रहेका छन । यसअघि नै मेयरका लागि सिफारिस भएका शिवशंकर साह हिराले चुनावी अभियानअन्तर्गत घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

नवप्रवेशी जानकीराम साहले पनि चुनावी अभियानमा लागि परेका छन् । एमालेबाट दुई जना उम्मेदवार भएपछि कार्यकर्ताहरू पनि अलमलमा परेका छन् । नेता हिराले पार्टीमा उम्मेदवार छनोट गर्ने विधि–विधान, पद्धति रहेको र त्यसभन्दा बाहिर जाने कसैलाई अनुमति नरहेकाले अहिले चुनावी अभियान चलाइरहेको बताए । नेता हिराले विगतमा एमालेलाई मधेस विरोधीको रूपमा षड्यन्त्रपूर्वक प्रचार गरिएको भन्दै यस चार वर्षको अवधिमा पार्टीले काम गरेर आफूहरू मधेस विरोधी नरहेको पुष्टि गरिसकेको बताए ।

जानकी राम एमालेमा प्रवेश गरेपछि एमालेभित्र टिकटका लागि हानथाप हुने नेताहरूको अनुमान छ । प्राप्त जानकारीअनुसार ०६४ मा भएको स्थानीयतहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीमा रहेका बेलामा पनि व्यापक प्रचारप्रसार गरिए पनि मेयरको टिकट दिइएको थिएन । एमालेका नेता रघुवीर महासेठका विश्वासपात्रका रूपमा रहेका हिरालाई टिकट दिने एमालेले निधो गरे पनि एमालेकै नेता प्रभु साहले लोसपा परित्याग गराई एमाले प्रवेस गराएका जानकीराम साहलाई टिकट दिलाउने प्रतिवद्धता जनाइएको छ ।

यता यसवर्ष पनि मेयरको टिकटबाट वञ्चित गरिएपछि हिरालाई पीडा हुने भएपछि उनलाई प्रदेशसभाको उम्मेदवार बनाउने र जानकीराम साहलाई मेयरको उम्मेदवार बनाउने भएको एमाले स्रोतबाट नै जानकारि प्राप्त भएको छ । यता दुवैले दैनिक घरदैलो अभियानलाई जारी राखेका छन् ।

प्रतिक्रिया