दार्चुला । जिल्लाको सबैभन्दा विकटको मतदान केन्द्र रहेको व्यासमा मतदानस्थल निरीक्षण गरिएको छ । जिल्ला सुरक्षा समितिले हेलिकोप्टर प्रयोग गरी बिहीबार छाङ्गरु र तिङ्कर मतदानस्थलका साथै नेपाली सेनाको निर्माणाधिन क्याम्प निरीक्षण गरेको हो । निरीक्षणका क्रममा व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा मतदान केन्द्रको अवस्था, मतपेटिका ढुवानी, कर्मचारी ढुवानीलगायतको विषयमा जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । छाङ्गरुमा हेलिकोप्टर अवतरण गरेर मतदानस्थल निरीक्षण गरिएको उनको भनाइ थियोे ।
उनको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख हेलिकोप्टरमार्फत छाङ्गरु पुगेका थिए । मतदानस्थलको निरीक्षणसँगै तिङ्करमा प्रहरीचौकी र सशस्त्र प्रहरीको बिओपी स्थापनालगायत विषयमा पनि जानकारी लिइएको थियो ।
नेपालबाटै स्थलगत छाङ्गरु र तिङ्कर जान नसकिने भएकाले हेलिकोप्टरमार्फत निर्वाचन सामग्री पठाउने र भण्डारणलगायत सुरक्षा अवस्थाबारे जानकारी लिइएको गरिएको प्रजिअ उपाध्यायले बताए । नेपालतिरबाट हिँडेर जानसमेत पैदल गोरेटो बाटो छैन । अप्ठ्यारो गरी जाने हो भने पाँच÷६ दिन छाङ्गरु र तिङ्कर पुग्न समय लाग्छ । वडा–१ मा दुई वटा मतदान केन्द्र छन् । छाङ्गरुको कैलाशपति आधारभूत विद्यालयमा ३ सय ७५ र तिङ्करस्थित मोति महिला संघ आधारभूत विद्यालयमा २ सय ३१ मतदाता छन् ।
यहाँका स्थानीय निकायमा वैशाख १३, १४ र १५ गते कर्मचारी सदरमुकाम खलंगा, छाङ्गरु र तिङ्कर उक्लिने तयारीमा छन् । व्यासी सौका समुदायको दोहोरो बस्तीभएका कारण कहिले खलङ्गा र कहिले छाङ्गरु वा तिङ्करमा मतदान हुने गर्दछ । उनीहरूको बसाइँ सर्नुअघि त्यहाँको मतदानस्थल, कर्मचारी पठाउन निरीक्षण गरिएको होे ।
स्थानीय तहको निर्वाचनका लागि दार्चुलाका नौ वटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय खुलेका छन् । वैशाख ३० गते स्थानीय तहमा निर्वाचनका लागि ती कार्यालय खुलाइएको हो । यो पटक निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा सशस्त्र प्रहरी बलले पाएको छ । नौ वटै स्थानीय तहमा निर्वाचन अधिकृतसँगै सशस्त्र प्रहरीको टोली खटिएको छ । नौ वटै स्थानीय तहमा मतदान केन्द्र खुलेसँगै मतदाता नामावली पनि सार्वजनिक गरिएको छ ।
यसैगरी व्यास गाउँपालिका–१ छाङ्गरुमा नेपाली सेनाको क्याम्प राख्ने तयारी गरिएको छ । निर्माणाधीन दार्चुला–तिङ्कर सडक निर्माणका लागि सेनाको क्याम्प छाङ्गरुमा राख्ने तयारी गरिएको हो । क्याम्प राख्ने विषयमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायसँगै सुरक्षा निकायका प्रमुख नेपाली सेनाको हेलिकोप्टरमार्फत छाङ्गरु पनि पुगेका थिए । उनीहरूले अहिले सेनाले निर्माण गरिरहेको सडकको हवाई निरीक्षणसमेत गरेका थिए ।
नेपाली सेनाले व्यास गाउँपालिका–३ सीनादेखि तिङ्करसम्मको ८२ किलोमिटर सडक निर्माणको जिम्मा पाएकाले यो क्षेत्रमा चालु आर्थिक वर्षदेखि सडक निर्माण सुरु भएको छ । माथिल्लो क्षेत्रबाटसमेत सडकको काम गर्न छाङ्गरुमा सेनाको क्याम्प राख्ने जमिनको अवस्थासमेत अवलोकन गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए । सेनाले अहिले व्यास गाउँपालिका–२ मा सडक निर्माणको काम गरिरहेको छ ।
केपी शर्माओली प्रधानमन्त्री भएका बेला महाकाली करिडोरअन्तर्गत दार्चुला–तिङ्कर सडकखण्डको ८७ किलोमिटर सडक निर्माणका लागि सेनालाई जिम्मेवारी दिइएको थियो । यो सडकमा आर्थिक वर्ष ०६५÷६६ देखि निर्माण थालिएको थियो ।
प्रतिक्रिया