गण्डकीका २२ भन्दा बढी पालिकामा एमालेले गर्यो सर्वसम्मत उम्मेदवार सिफारिस

पोखरा । एमालेले गण्डकी प्रदेशमा २२ भन्दा बढी पालिकाका प्रमुखको उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । विशेष परिस्थितिबाहेक सर्वसम्मत निर्णय भएर आएका उम्मेद्वारहरु फेरिने छैनन् । उनीहरुलाई नै प्रदेश कमिटीले निर्णय गरेर टिकट दिने सचिव धनन्जय दवाडीले जानकारी दिए ।

उनका अनुसार बागलुङबाट ४, म्याग्दीमा २, पर्वतमा १, लमजुङमा १, स्याङजामा ३, तनहुँ १, कास्की १, मनाङ र मुस्ताङका सबै पालिकाहरु सर्वसम्मत भएका छन् । तर, मनाङ र मुस्ताङको निर्णय प्रदेश कमिटीमा आइसकेको छैन ।

बागलुङको ढोरपाटनमा सर्वसम्मत मेयर सिफारिस भएको छ भने उपमेयरमा एकभन्दा बढीको नाम पठाइएको छ । जैमिनी नगरपालिका, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको प्रमुख उपप्रमुख नै सर्वसम्मत भएको छ ।

म्याग्दीमा अन्नपूर्ण र रघुगंगा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष नै सर्वसम्मत सिफारिस भएको सचिव धनन्जय दवाडीले जानकारी दिए । पर्वतको पैंयू गाउँपालिकामा दुवै पद सर्वसम्मत आएको छ । लमजुङको क्व्होलासोथार गाउँपालिकामा अध्यक्ष सर्वसम्मत सिफारिस गरिएको छ ।

स्याङजाको आँधीखोला गाउँपालिका र वालिङ नगरपालिकामा सर्वसम्मत सिफारिस भएको छ भने हरिनासमा अध्यक्ष मात्र सर्वसम्मत गरिएको छ । तनहुँमा आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष सर्वसम्मत सिफारिस भएको छ ।

कास्कीको रुपा गाउँपालिकामा अध्यक्ष उपाध्यक्षसहित वडाका अध्यक्ष सदस्यहरू समेत सर्वसम्मत सिफारिस गरेर प्रचार सुरु गरिसकेका छन् । मनाङ र मुस्ताङका सबैजसो पालिका सर्वसम्मत भए पनि अहिलेसम्म डकुमेन्ट प्रदेश कमिटीमा आइपुगेको छैन ।

‘करिब हिमाली क्षेत्र सर्वसम्मत नै हो । तर, छलफल गरिरहनुभएको छ । कल्चरको हिसाबले ढिलो भएको हो,’ उनले भने, ‘प्रदेशको अरु टुंगिने बेलासम्म त्यताको सबै सकिन्छ । एकै पटक घोषणा गर्छौं ।’

अरुमा भने छलफल भइरहेको छ । एमालेले बुधबार जिल्ला अध्यक्ष तथा इन्चार्जहरूलाई बोलाएर जिल्लाको बस्तुस्थितिबारे जानकारी लिएको छ । उनीहरूले सम्भावित उम्मेद्वारको नामसमेत दिएकोले निर्णयमा समस्या नहुने धवाडीले बताए ।

प्रतिक्रिया