काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा समितिले तयार पारेको मस्यौदालाई पारित गरेको छ । सोमवार राति सम्पन्न केन्द्रीय सचिवालय बैठकले घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बैठकले विभिन्न पालिका र जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा उम्मेदवार रहेका व्यक्तिहरुको पनि नाम सिफारिस भएकाले ती व्यक्तिको नाम सूचीबाट हटाउन निर्वाचन आयोगलाई लेखेर पठाउने निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए ।
त्यस्तै बैठकले १२ वटा केन्द्रीय विभाग गठन गर्नुको साथै केन्द्रीय सल्लाहकार परिषदको संख्या १०६ बाट थपेर २७८ जना बनाएको छ । त्यस्तै केन्द्रीय सम्पर्क समन्वय कमिटीमा ५१ जना सदस्य थप भएको गुरुङले जानकारी दिए । बैठकले पार्टी केन्द्रीय कार्यालय वैशाख ९ गतेबाट च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सन्चालन गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया