दलहरूका लागि किन सबैभन्दा महत्वपूर्ण बन्दै छ पोखरा ?

गण्डकी प्रदेशको राजधानी पोखरामा यतिबेला पर्यटकहरूको घुइँचो मात्रै बढेको छैन, आसन्न स्थानीय चुनावको रौनकले पोखरा यतिबेला ह्वात्तै तातेको छ । अहिलेसम्मका स्थानीय निर्वाचनहरूमा सिंगो मुलुकको ध्यान काठमाडौं महानगरपालिकाले तान्ने गरेकोमा यसपटकदेखि काठमाडौंको ठाउँ पोखराले लिन थालेको छ ।

संघीय राजधानी काठमाडौंलाई गण्डकी प्रदेशको राजधानी पोखराले कसरी उछिन्दै छ ? भन्ने चासो यतिबेला सर्वत्र देखिएको छ । गत स्थानीय निर्वाचनमा नेकपा एमाले एक्लैले चुनाव जितेको एक मात्रै महानगरपालिका हो पोखरा ।

कांग्रेस र माओवादीबीच तालमेल हुँदाहुँदै पनि पोखारामा एमालेले कसरी अत्यधिक मतका साथ चुनाव जितेको थियो ? अघिल्लो निर्वाचनमा माओवादीले कांग्रेसलाई के कसरी थाङ्नामा सुताइदिएको थियो ? भन्ने यथार्थता थोरैलाई मात्रै थाहा छ ।

मुलुकका ६ वटा महानगरपालिकामध्ये क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो र जनसंख्याका हिसाबले दोस्रो ठूलो पोखरमा महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि मैदानमा उत्रिनेहरूको संख्या ५० भन्दामाथि छ । यसैगरी सत्तागठबन्धनले मुलुकभरी तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको छ ।

                       विन्दुकान्त घिमिरे

तालमेलका क्रममा पोखरा महानगरपालिका कसको भागमा पर्ला ? सत्ता गठबन्धनले पोखरामा एमालेलाई कसरी टक्कर देला ? भन्ने जिज्ञासा सर्वत्र छ । किनकी गत निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल हुँदा पनि एमालेले पोखरामा निकै फराकिलो मतान्तरले चुनाव जितेको थियो । यतिबेला पार्टी विभाजनको असर एमालेले कसरी झेल्ला त ? भन्ने चासो देशव्यापी देखिएको छ ।

काठमाडौं, विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज जुनबेला ठूला सहरमा परिणत भइसकेका थिए, त्यतिबेला सानो बजार मात्रै थियो पोखरा । तर यतिबेला राजधानी काठमाडौंबाहेक मुलुकका सबै सहरहरूलाई पोखराले उछिनिसकेको छ । जनसंख्या वृद्धिको वर्तमान अवस्था कायमै रह्यो भने अबको १५ वर्षभित्र काठमाडौं महानगरपालिकालाई समेत पोखराले सजिलै उछिन्ने स्थिति देखिएको छ ।

हालै सार्वजनिक राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार पोखरा महानगरपालिकामा ५ लाख १८ हजार ४ सय ५२ जनसंख्या छ । काठमाडौं महानगरपालिकाको जनसंख्या करिब नौ लाखको हाराहारीमा छ । यो १० वर्षको अवधिमा पोखरा महानगरमा जनसंख्या वृद्धि ४१ प्रतिशत भएको देखिन्छ भने काठमाडौं महानगरमा जम्मा नौ प्रतिशत मात्रै भएको देखिन्छ ।

यसैगरी गत स्थानीय निर्वाचनमा पोखरा महानगरको मतदाता संख्या १ लाख ६८ हजार थियो भने काठमाडौं महानगरको मतदाता संख्या २ लाख ७९ हजार थियो । तर यसपटक काठमाडौं महानगरको मतदाता जम्मा २० हजार बढेर ३ लाखको हाराहारीमा पुगेको छ भने पोखरा महानगरको मतदाता संख्या ४० हजार बढेर २ लाख ७ हजार पुगेको छ ।

यो पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकामा जम्मा सात प्रतिशत मात्रै मतदाता बढेको देखिन्छ भने पोखरा महानगरको मतदाता संख्या २७ प्रतिशत वृद्धि भएको देखिन्छ । त्यसो त बितेको पाँच वर्षमा विराटनगर महानगरपालिकामा १९ हजार ३ सय ८१ मतदाता बढेका छन् ।

ललितपुर महानगरपालिकामा ९ हजार ९ सय ६८ मतदाता बढेका छन् । भरतपुर महानगरपालिकामा ३५ हजार ४ सय ७८ मतदाता बढेका छन् । वीरगञ्ज महानगरपालिकामा १६ हजार १ सय ४६ मतदाता बढेका छन् । आखिर संघीय राजधानी काठमाडौंलाई गण्डकी प्रदेशको राजधानी पोखराले किन लखेड्दै छ त ? पोखरा कसरी बन्दै छ त नेपालकै सबैभन्दा अकर्षक सहर ?

विचित्रको पोखरा

नेपालका अधिकांश ठाउँको सहरीकरणको सुरुआत बयलगाडाबाट भएको पाइन्छ । सुरुमा बयलगाडा, त्यसपछि साइकल, साइकलपछि गाडी चलेको पाइन्छ । गाडी चलेपछि हवाइजहाज चल्न थालेको पाइन्छ । तर पोखरामा सहरी विकास ठीक उल्टो ढंगबाट भयो । पहिलो जहाज चल्यो, त्यसपछि गाडी चले । गाडी चलेपछि साइकल भित्रियो, साइकलपछि बयलगाडा भित्रियो ।

यतिबेला पोखराबाट मुलुककका प्रायः सबै जिल्लाका अधिकांश पालिकाहरूमा गाडी चल्छन् । पोखराबाट मुलुकका प्रायः सबै मुख्य सहरहरूमा हवाइजहाज चल्छन् । अब केही महिनापछि नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छ । मध्यपहाडी लोकमार्गको निर्माणले पोखरालाई पश्चिम रुकुमसम्म सिधै जोडिसकेको छ ।

भूगोलका हिसाबले त पोखरा नेपालको मुटुमै छ । सडक यातायात र हवाई यातायातको दृष्टिले पनि पोखरा नेपालको मुटु बन्दै छ । पोखरा उपत्यकाका चारै वटा कुना राष्ट्रिय सडक संजालले जोडिएका छन् । पृथ्वीराजमार्ग दक्षिण पूर्वबाट पोखरा प्रवेश गरेको छ । सिद्धार्थराजमार्ग दक्षिणबाट पोखरा प्रवेश गरेको छ । मध्यपहाडी लोकमार्ग उत्तरपूर्वबाट पोखरा उपत्यका प्रवेशगरी पश्चिमबाट निस्केको छ ।

पोखरा आफैँमा राजधानी काठमाडौं पछिको दोस्रो ठूलो उपत्यका हो, तर पोखरा आसपासमा फराकिला उपत्यकाहरू धेरै छन् । काठमाडौं महानगरजस्तो सबै उपभोग्य बस्तुमा परनिर्भर पोखरा महानगर छैन । पर्यटकको कुरा गर्ने हो भने पोखरामा कुल जनसंख्याभन्दा कैयौँ गुणा बढी आन्तरिक पर्यटकहरू जान्छन् ।

विदेशी पर्यटक पनि पोखराको जनसंख्याभन्दा धेरै गुणा बढी जान्छन् । यसैगरी पोखरा महानगरका स्याटलाइट सिटीहरूको संख्या पनि उल्लेख्य छन् । उदाहरणका लागि तनहुँका दमौली, डुम्रे, भीमाद, खैरेनीटार र दुलेगौंडा पोखराका स्याटलाइट सिटीहरू हुन् ।

लमजुङका बेँसीसहर, सुन्दरबजार र भोर्लेटार पनि पोखराका स्याटलाइट सिटी हुन् । यसैगरी पाल्पाको रामपुर, स्याङ्जाको चापाकोट, वालिङ र पुतलीखेत पनि पोखराका स्याटलाइट सिटीहरू हुन् । पर्वतको कुश्मा र फलेवास, बाग्लुङ जिल्लाको बाग्लुङ बजार र गलकोट, म्याग्दीको कुश्मा पनि पोखराका स्याटलाइट सिटीहरू हुन् । यति धेरै स्याटेलाइट सिटी भएका महानगर नेपालमा अरू छैनन् ।

पोखराको चुनावी रस्साकस्सी

पोखरामहानगर एमाले र कांग्रेसको मुख्य प्रभाव क्षेत्र हो । ०४८ साल यताका निर्वाचनलाई हेर्ने हो भने पोखरामा कांग्रेस र एमालेले बराबरजसो चुनाव जित्दै आएका छन् । माओवादीको खासै प्रभाव छैन । यतिबेला एमाले विभाजन भएको र अन्य पार्टीहरूले गठबन्धन गर्ने निर्णय गरेका कारण पोखरामा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

संगठन बलियो भएका कारण कांग्रेस र एमालेबाट मेयरपदमा दावी गर्नेहरूको संख्या निकै ठूलो छ । माओवादी केन्द्रले भने करिबकरिब हात झिकिसकेको छ । यता एमालेबाट विभाजित भएर गठन भएको पार्टी एकीकृत समाजवादीले मुलुकका ६ वटा महानगरमध्ये पोखरा मागेको छ । पोखरा एकीकृत समाजवादीको भागमा पर्नसक्ने संभावना बलियो छ । त्यसकारण एकीकृत समाजवादीभित्र पनि मेयर पदका आकांक्षीहरूको रस्साकस्सी देखिएको छ ।

महानगर प्रमुखका लागि विभिन्न दलबाट तीन दर्जनभन्दा बढी नेताको चर्चा सुरु भएको छ । प्रमुख प्रतिपक्षी एमाले र सरकारको नेतृत्व गरेको कांग्रेसबाट उम्मेदवारका आकांक्षी धेरै छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीका आकांक्षीको पनि चर्चा चलिरहेको छ ।

मेयर पदका लागि उम्मेदवारको आकांक्षा गर्नेमा एमालेका १६ र कांग्रेसका १३ जना छन् । माओवादी केन्द्रका चार र नेकपा एकीकृत समाजवादीका दुई जनाले मेयरमा आकांक्षा प्रकट गरेका छन् । यतिबेला पोखरा महानगरको वर्तमान नेतृत्व एमालेले गरिरहेको छ । ०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार मानबहादुर जिसी निर्वाचित हुनुभएको थियो । उहाँले पोखरा महानगरपालिकामा राम्रै काम गरेको मतदाताको मूल्यांकन छ । तर, स्वाथ्यका कारण मेयर जिसी उम्मेदवार बन्ने दौडमा हुनुहुन्न ।

वर्तमान मेयरले आगामी कार्यकालका लागि दौडमा नरहेको स्पष्ट पारेकाले आफू स्वभाविक दाबेदार रहेको भनाइ बहालवाला उपमेयर मञ्जुदेवी गुरुङको छ । प्रदेश सांसद कृष्णबहादुर थापा एमालेको तर्फबाट सबैभन्दा सशक्त दावेदार हुनुहुन्छ । ०५४ सालमा पोखरा उपमहानगरको मेयर रहिसक्नुभएका थापा केसी ०७४ सालमा पनि आकांक्षी हुनुहुन्थ्यो । एमालेका अर्का प्रदेश सांसद राजीव पहारीले पनि आकांक्षा राख्नुभएको छ ।

एमाले कास्की इन्चार्ज रहेका केन्द्रीय सदस्य भीम कार्की, एमाले प्रदेश कमिटी सदस्य मीना गुरुङ, प्रदेश कमिटी सदस्य देवका पहारी, पोखरा इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन एवं नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सचिव प्राडा भरत पहारी, व्यवसायी पुष्प अधिकारी, एमालेको पछिल्लो पुस्ताका नेता रस्मी आचार्य र दिलीप न्यौपाने पनि उम्मेदवारका आकांक्षी हुनुहुन्छ ।

यसैगरी पूर्वशिक्षक नेता एवं साविक नेकपाकालमा नेकपा नगर संयोजक दीपक पौडेल, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइराला, वडा–१३ का अध्यक्ष दर्शन लामा र वडा–१९ का अध्यक्ष शोभामोहन पौडेल पनि एमालेबाट मेयरपदको रसिद लिने दौडमा हुनुहुन्छ । त्यसो त जलविद्युत् उद्यमी पुष्पज्योति ढुंगाना, पर्यटन व्यवसारी बालासिंह काउचा मगरले पनि एमालेबाट मेयर उम्मेदवार बन्ने आकांक्षा राख्नुभएको छ ।

सत्ताको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसभित्र पनि निकै ठूलो रस्साकस्सी छ । संघीय सरकारका पूर्वमन्त्री, प्रदेशका बहालवाला मन्त्री र नेपाल सरकारका पूर्वसचिवदेखि वरिष्ठ पत्रकार सम्मको चर्चा कांग्रेसभित्र छ । कांग्रेस कास्कीका निवर्तमान जिल्ला सभापति कृष्ण केसीले आफू मेयरको स्वभाविक उम्मेदवार भएको भन्दै लबिङ सुरु गर्नुभएको छ । पैसा खर्च गरेर टिकट लिएको र पैसा खर्च गरेरै मन्त्री बनेको प्रकरणमा देशव्यापी चर्चा बटल्नुभएका घरजग्गा व्यवसायी बिन्दुकुमार थापा पनि मेयरपदमा नेपाली कांग्रेसको रसिद लिन घुँडा धसेर लाग्नुभएको छ ।

नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष गंगाधर पराजुलीले मेयरको रसिद लिनका लागि ६ महिना अघिदेखि लबिङ सुरु गर्नुभएको छ । यसैगरी नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्य, कास्की कांग्रेसका निवर्तमान पार्टी जिल्लासचिव सुदीपमोहन भट्टराई, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरी, पोखराका भेट्रान पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पनि मेयर पदका लागि कांग्रेसको रसिद लिन लालयित हुनुहुन्छ ।

यसैगरी पोखराको प्रतिष्ठित औद्योगिक घराना केसी ग्रुपका कार्यकारी निर्देशक किरण केसी पनि उम्मेदवारको लाइनमा हुनुहुन्छ । उहाँ संघीय संविधानसभा सदस्य एवं पोखराका पूर्वप्रधानपञ्च स्वर्गीय सूर्यबहादुर केसीका छोरा हुनुहुन्छ ।

गत निर्वाचनमा उपमेयरमा पराजित नेतृ सरस्वती गुरुङ, प्रदेश सहमहामन्त्री कोपिला रानाभाट, महिला नेतृहरू माया बराल, लक्ष्मी पाण्डे, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं नेपाल–चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखे, कांग्रेस नगर समितिका पूर्वसभापति वीरेन्द्रनारायण बिजुक्छे पनि मेयरका आकांक्षी हुनुहन्छ । यसैगरी माओवादी केन्द्रबाट चार जनाको नाम चर्चामा छ ।

विश्वप्रकाश लामिछाने, दीपक कोइराला, बखानसिंह तमु र हरिनारायण गिरी ‘विज्ञान’ गरी माओवादी केन्द्रबाट चार जना आकांक्षी हुनुहुन्छ । एमालेबाट विभाजित भई गठन भएको एकीकृत समाजवादीबाट पोलिट्ब्युरो सदस्य श्रीनाथ बराल र केन्द्रीय सदस्य एवं कास्की अध्यक्ष धनराज आचार्य मेयर पदका आकांक्षी हुनुहुन्छ ।

श्रीनाथ बराल जिल्ला विकास समिति कास्कीका पूर्वउपसभापति हुनुहुन्छ भने आचार्य पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति हुनुहुन्छ । विभिन्न पार्टीका दर्जनौँ नेताहरूले आकांक्षा देखाए पनि अखिरीमा पोखराको मेयर पदको कुर्सीका लागि अन्तिम प्रतिस्पर्धा भने गठबन्धनका धनराज आचार्य र एमालेका कृष्णबहादुर थापाबीच हुने संभावना रहेको छ ।

को हुनुहुन्छ धनराज आचार्य ?

पोखरा महानगर पालिकामा मेयर बन्नका लागि दर्जनौँ आकांक्षीहरू प्रकट हुनु, ठूला दलभित्र रस्साकस्सी हुनु अस्वभाविक होइन । सरसर्ती हेर्दा कम्तिमा ४० प्रतिशत मत ल्याउने हैसियतमा नेकपा एमाले छ । करिब ३५ प्रतिशत मत ल्याउने हैसियतमा नेपाली कांग्रेस छ । विगतका निर्वाचनहरूको विश्लेषणले यही आँकडा देखाउँछ । तर, पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको उम्मेदवारलाई अघि सार्ने कि ? एकीकृत समाजवादीको उम्मेदवारलाई अघि सार्ने ? भन्ने निक्र्योल गर्न फलामको च्युरा बनिरहेको छ ।

एकीकृत समाजवादीको उम्मेदवारलाई अघि सार्दा एमालेका तरल मत थपिने र चुनाव जित्न सजिलो हुने तर्क एकथरीको छ । आखिर ६ वटा महानगरपालिकामध्ये कम्तिमा एउटा संघीय समाजवादीलाई दिनै पर्ने भएकोले एमाले बलियो रहेको पोखरा नै किन नदिने ? भन्ने तर्क गठबन्धनमा सामेल अन्य पार्टीहरूले गरेका छन् ।

तर, पोखराका कांग्रेसजनहरूले भने ठूलो भाँडोबाट सानो भाँडोमा खन्याउँदा पोखिने संभावना रहेको तर्क गर्दै सानो भाँडोबाट ठूलो भाँडोमा खन्याउने गरी तालमेल गर्नुपर्ने तर्क राखेका छन् । पोखरा महानगरपालिकामा यसपटक थपिएका ४० हजार मतदाताहरूको रुझान कतापट्टी छ ? यसै भन्न सकिने अवस्था छैन ।

यसैगरी पार्टीगतभन्दा पनि गुणदोषका आधारमा भोट हाल्ने मतदातालाई आकर्षित गर्ने उम्मेदवार कुन पार्टीले अघि सार्ला ? भन्ने कुरा पनि अहिलेसम्म एकीन छैन । गत निर्वाचनको परिणाम हेर्ने हो भने पोखरा महानगरपालिकामा एमालेको भोट ५६ हजार, कांग्रेसको भोट ४४ हजार, माओवादी केन्द्रको भोट आठ हजार, संघीय समाजवादी फोरम अर्थात डा.बाबुराम भट्टराईको पार्टीको भोट तीन हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीको भोट दुई हजार देखिन्छ ।

गत चुनावमा कांग्रेस र माओवादी बीच तालमेल गर्ने सहमति भयो । मेयर पदमा माओवादीले कांग्रेसलाई र उपमेयर पदमा कांग्रेसले माओवादीलाई साथ दिने सहमति भयो । सहमतिअनुसार माओवादीले मेयर पदको उम्मेदवार फिर्ता गरायो, तर कांग्रेसले सहमति तोड्दै उपमेयरको आफ्नो उम्मेदवारलाई कायमै राख्यो ।

कांग्रेससँग रुष्ट भएको माओवादीले मेयर पदमा एमालेका उम्मेदवारलाई मत दियो । त्यसैले कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार भोट ल्याउँदै गर्दा एमालेका मानबहादुर जिसीले ६० हजार भोट ल्याएर चुनाव जित्नुभयो । तर उपमेयरमा भने जुन पार्टीको जति हैसियत हो त्यति नै भोट आयो ।

गत निर्वाचनको मूल्यांकन गर्दा एमालेको ५६ हजार मत रहेको देखिन्छ भने कांग्रेस, माओवादी र डा. बाबुराम भट्टराईको संघीय समाजवादीगरी तीन वटा पार्टीको मत जोड्दा ५७ हजार मत देखिन्छ । यसरी हेर्दा सिंगो एमालेको भन्दा गठबन्धनमा सामेल तीन पार्टीहरूको मत जम्मा एक हजार मात्रै बढी देखिन्छ, तर पोखरा महानगरपालिकामा एमालेबाट विभाजित भई गठन भएको एकीकृत समाजबादी पार्टीको हैसियत के कति छ ? आँकलन भइसकेको छैन ।

एमालेका ५६ हजार मत मध्ये एकीकृत समाजवादी पार्टीको हिस्सा कति होला ? भन्ने प्रश्नको उत्तरले मात्रै पोखराको छिनोफानो गर्छ । राप्रपाको दुई हजार मत एमालेले लिन सक्ने संभावना जीवितै छ । तर, एकीकृत समाजवादीका संभावित उम्मेदवार धनराज आचार्य व्याक्तिगत रूपमा निकै बलियो भएका कारण एमालेलाई चुनाव जित्न सहज छैन ।

३३ वडा रहेको पोखरा महानगरपालिकामा २२ वटा वडामा एमाले र ११ वडामा कांग्रेसले जितेको थियो । एमालेको शक्ति कमजोर पार्दा र कांग्रेसको शक्ति बढाउँदा मात्रै नतिजा सत्ता गठबन्धनको पक्षमा आउन सक्छ । तर, त्यो सानोतिनो मिहिनेत तथा रणनीतिबाट हुँदैन ।

किनकि, एमाले कांग्रेसभन्दा बलियो छ । कांग्रेसलाई साथ दिनसक्ने माओवादी कमजोर छ । एकीकृत समाजवादीका धनराज आचार्यलाई साझा उम्मेदवारका रूपमा सत्ता गठबन्धनले अघि बढाएको अवस्थामा बाहेक पोखरा महानगरपालिकाको चुनावी परिणाम एमालेको पोल्टामा जाने संभावना अधिक छ ।

प्रतिक्रिया