काठमाडौं । गीतकार डा. डिआर उपाध्यायले १०८ वटा रेकर्ड बनाएका छन् । चार वर्षमा गीत, संगीत र साहित्य क्षेत्रमार्फत उनले यो कीर्तिमान राखेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहबीच उनले २८ विश्व कीर्तिमान प्रमाण–पत्र बुझ्दै आफ्नो विश्व कीर्तिमानको संख्या १०८ पु¥याएका हुन् । उपाध्यायले र एभरेस्ट वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम र एसियन वल्र्ड रेकर्डजस्ता संस्थाबाट रेकर्ड प्राप्त गरेका हुन् । उनलाई २८ विश्व कीर्तिमान प्रमाण–पत्र पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रदान गरे ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले डा. उपाध्यायले सिर्जनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन सफल भएको बताए । ‘डा. उपाध्यायले आफूले आफ्नो सिर्जनाबाट मुलुकको पहिचान अझ उच्च बनाउने काम गरिरहनु भएको छ,’ खनालले भने ‘१०८ विश्व कीर्तिमान चानचुने कुरो होइन त्यसका लागि बधाई दिन्छु ।’ खनालले आगामी दिनमा पनि यस्तै सिर्जनशील कार्य गरेर अझ देशको नाम उच्च राख्न हौसला प्रदान गरे ।
गीतकार संघका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, संगीतकार सन्तोष श्रेष्ठ लगायतले गीतकार उपाध्यायको कामको चर्चा गरेका थिए । कार्यक्रममा उपाध्यायका आठ एल्बमसमेत एकसाथ सार्वजनिक गरिएको थियो । यसअघि उनका २५ गीति एल्बम सार्वजनिक भएका छन् ।
कार्यक्रममा एभरेस्ट वल्र्ड रेकर्डका फाउन्डर मथुराप्रसाद श्रेष्ठ, साहित्यकार प्रा.डा.नारायण खनाल, एनटिभी बोर्ड सदस्य सवनम मुखिया, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतको उपस्थिति रहेको कार्यक्रममा पत्रकार नरेश भट्टराई, कुवेरराज गिरी, कृष्ण भुसाल, गीता अधिकारी, संगीतकार सागर अधिकारी ‘शरद’, सन्तोष श्रेष्ठ, निर्देशक माइकल चन्द, भिडियो सम्पादक सिलन लम्साल, छायांकार उत्सव दाहाललाई युरोपियन रेकर्ड बुकको अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।
सोही अवसरमा गायक तथा संगीतकार बाबुल गिरीले डा. उपाध्यायको आमालाई समर्पित गीत ‘मेरी आमा’ र गायक सागर अधिकारी ‘शरद’ र उनको समूहले राष्ट्रिय गीत गाएका थिए । गिनिज बुक अफ वल्र्ड रकेर्डसहित १०८ विश्व रेकर्ड कायम गरेका डा. उपाध्यायका १२ उपन्यास सार्वजनिक भएका छन् ।
प्रतिक्रिया