जनकपुर । लामो समयको प्रतीक्षापश्चात् धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल्वे खण्ड चल्ने रेल सेवाको उद्घाटनसँगै रेल जनकपुर आइपुगेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरबाद हाउसबाट भर्चुअलमार्फत संयुक्तरुपमा रेल सेवाको उद्घाटन गरेपछि दिउँसो ३ बजेतिर रेल जनकपुर आइपुगेको हो । दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर रेल सेवा शुभारम्भ गरेका थिए । प्रधानमन्त्रीद्वयले उद्घाटन गरेपछि दुल्ही झैँ शृंगारिएको रेल जयनगरबाट खुलेको थियो । जयनगरबाट कुर्थाका लागि खुलेको रेलमा सवार नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झासहितको टोलीलाई प्रत्येक स्टेशनमा दुवै देशको राष्ट्रिय झन्डा बोकेर उभिएका नेपाली विद्यार्थी तथा स्थानीयले नागरिक अभिनन्दन गरेका थिए ।
रेल जनकपुरधामस्थित रेल्वे स्टेशन पुगेपछि महाप्रबन्धक झासहितको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई स्वागत गर्दै कुर्थासम्मको यात्रा गराएका थिए । रेल कुर्थासम्म पुगेर पुनः फर्केपछि जनकपुरधामस्थित रेल्वे स्टेशनमा उद्घाटन समारोह कार्यक्रमको आयोजना गरियो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा भर्चुअल माध्यमबाट रेल्वे सेवाको उद्घाटन गरेसँगै आइतबारदेखि नियमित रेल सेवा सञ्चालन हुनेछ । दैनिक दुई पटक जयनगर–कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । दैनिक बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ । सो रेल बिहान १० बजे कुर्था स्टेशन पुग्नेछ । पौने ११ बजे जनकपुरधामको कुर्थाबाट जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए । जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाले बताए ।
जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुलाई आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने भएको छ । खुल्ला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले बताए । सुरक्षा र खुल्ला सीमानाकालाई दृष्टिगत गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने उनले जानकारी दिए ।
यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिस पत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उनले सुनाए । दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा विद्यालयको फोटोसहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नुपर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहचानपत्र लिनुपर्ने जनाइएको छ ।
जयनगरदेखि कुर्थासम्म चल्ने रेल सेवाको नयाँ भाडादर कायम गरिएको छ । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ९० र एसी सिटमा ४५० भाडा निर्धारण गरिएको छ । जयनगर–कुर्थासम्मको दूरी करिब ३५ किलोमिटर छ । गत ०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग रु ८४ करोड ६५ लाखमा खरिद गरेको रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् ।
प्रतिक्रिया