म्याग्दी । बेनी नगरपालिका–३ भकिम्ली तोराखेतको पहिरो नियन्त्रणको कुनै उपाय नभएपछि दुई वटा गाउँ उच्च जोखिममा परेका छन् । डेढ दशक अघिदेखि खस्न सुरु गरेको यो पहिराले बर्सेनि उग्ररूप लिँदै गएपछि स्थानीय सरकारको बजेटले नियन्त्रण गर्नै नसकिने अवस्थामा पुगेको सरोकारवालाले बताएका छन् ।
पहिरा नियन्त्रणको पहल नहुँदा बेनी नगरपालिका–३ तोराखेत र बेनी नगरपालिका–२ बगरफाँटका ३० भन्दाबढी घर उच्च जोखिममा परेका छन् भने पहिराकै कारण तोराखेतका १७ र बगरफाँटमा चार घर परिवार विस्थापित भएका छन् ।
०७२ सालको भूकम्पका कारण जमिनको सतहलाई खल्बल्याएपछि उक्त पहिरा थप जोखिमपूर्ण बनेको नेपाली कांग्रेस म्याग्दीका पूर्वसचिव मीनबहादुर कार्कीले बताए । उनले तोराखेतको करिब एक किलोमिटर क्षेत्रफल ओगटेको चट्टानयुक्त जमिनका दर्जन बढी ठाउँमा ठाडो चिरा परेको, मुख्य पहिरोको तलपट्टिका वस्ती र जग्गा पहिलाको स्थानभन्दा तल सरेको जानकारी दिए ।
माथिबाट पहिरो आउने र घरजग्गा रहेको जमिन तलतर्फ भासिनेक्रम बढेपछि तोराखेतको पहिरा वरपरको क्षेत्रमा बसोबास गर्ने १७ घर परिवारलाई स्थानान्तरण गरी ज्यामरुककोटको भकुण्डे, फापरखेत र बगरफाँटमा राखिएको बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापाले बताए ।
भकिम्लीको चिनाखेत कटेपछि भकिम्ली र ज्यामरुककोटको सीमा नजिक पर्ने सात्लेपानीसम्मको अधिकांश भाग चर्केको, धाँजा फाटेको र सोही क्षेत्र वरपर पानीका मूल रहेकाले पनि वर्षाको समयमा पहिराको खतरा बढेको स्थानीयवासी बताउँछन् ।
कमजोर भू–बनोट भएको भिरालो गाउँ, गाउँको सिरानमा मोटरबाटो, योसँगैको पहरो फुटेर बगेको चट्टाने पहरा, जंगल र त्यस क्षेत्रमा रहेका पानीका मूलका कारण पनि सो पहिरा तोराखेत र बगरफाँटवासीका लागि खतरापूर्ण रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
तोराखेत गाउँमाथिको चट्टाने पहराबाट बेनी नगरपालिका–२ को बगरफाँटलाई ठूलो खतरा रहेको छ । तोराखेतको पुछारमा रहेको धुपिरुखतर्फको पहराले बगरफाँट उच्च जोखिममा परेको सरोकारवालाले बताएका छन् ।
प्रतिक्रिया