दोहोरी प्रतियोगितामा ६१ टोली

काठमाडौं । ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता २०७८’ सुरु भएको छ । बुधबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको उक्त प्रतियोगिता अर्थसचिव मधुकर मरासिनी तथा लोकगायक कुमार बस्नेतले उद्घाटन गरे । कार्यक्रममा अर्थसचिव मरासिनीले एक समय गाउँमा गाइने लोकदोहोरी गीत अहिले सहरमा पनि त्यत्तिकै उत्तिकै लोकप्रिय भएको बताए । उनले भने, ‘नेपालको मौलिक लोकसंगीतको रुपमा लोकदोहोरी गीत रहेको छ । यो प्रतियोगिताले लोकदोहोरीको विकासमा अझ टेवा पु¥याउने आशा राख्न सक्छौं ।’ मरासिनीले आफूले मन्त्रालयका तर्फबाट लोकदोहोरी गीतको प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले अहिले लोकदोहोरी गीत लोकमा लोकप्रिय भएको जिकिर गरे ।

अर्का अतिथि तथा लोकगायक कुमार बस्नेतले आफूहरुको पालामा लोकगीत गाउनेलाई गाउँलेको रुपमा हेर्ने गरेको स्मरण सुनाए । आफ्ना केही गीतको चर्चा गर्दै उनले भने, ‘अहिले निकै राम्रा लोकदोहोरी गीत आएका छन् ।’ उनले कोरोनापछि लोकदोहोरी प्रतियोगितामा दर्शकको उपस्थिति देखेर खुसी व्यक्त गर्दै लोकदोहोरी प्रतिष्ठानले निकै राम्रो काम गरेको बताए । यस्तै, लोकदोहोरी प्रतिष्ठानका पूर्वअध्यक्ष तथा लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानले अहिलेका कतिपय चर्चित लोकदोहोरी गायक गायिका विगतमा यस्तै प्रतियोगिताबाट आएको सुनाए । उनले संगीत क्षेत्रमा सरकार उदासिन भएको टिप्पणी गर्दै भने, ‘हाम्रा स्रष्टाको निधन हुँदा कमलादिको प्रज्ञा प्रतिष्ठानमा स्रष्टाको शव राखेर श्रद्धाञ्जली प्रकट गर्न पनि रोक लगाइयो । हामीले टोखामा प्रतिष्ठानको कार्यालय जेनतेन बनाएको भए पनि अब दिवंगत स्रष्टालाई श्रद्धाञ्जली दिनको लागि समेत केही जग्गा जोहो गर्न आर्थिक सहयोग जुटाउनुपर्ने भएको छ ।’

हास्यअभिनेता जितु नेपालले आफू हास्यव्यंग्य अभिनेता भए पनि मोडल बनेर कैयौं लोकदोहोरी गीतमा मोडलिङ गरेको बताए । उनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आजीवन सदस्य बन्ने घोषणा गर्दै आफू पनि अभिनयको हिसावले लोकदोहोरीको कलाकार भएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका विभिन्न कलाकारको क्यारिकेचर गर्दै उनले यस्तो प्रतियोगिताले लोकदोहोरीमा एक प्रकारको उत्साह जागेको जिकिर गरे । बुधबारदेखि ४ दिनसम्म चल्ने प्रतियोगितामा ६१ वटा टोलीले भाग लिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिए । उनका अनुसार दर्शकका लागि प्रवेश निःशुल्क गरिएको यो प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोकदोहोरीतर्फको राष्ट्रिय रनिङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, द्वितीय हुने टोलीले ट्रफी, पदक र १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा तेस्रो हुने टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, पदक एवं प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँसहित ट्रफी, पदक, प्रमात्रणपत्र प्राप्त गर्ने अध्यक्ष बिजीले जानकारी दिए । उनले प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँसहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिने छ बताउँदै उत्कृष्ट भेषभूषा र उत्कृष्ट अनुशासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र पाउने सुनाए । सो कार्यक्रममा दोहोरीसँगै खानाका विभिन्न स्टल पनि राखिएकाले दर्शकले खानाको स्वादसँगै दोहोरी सुन्न सक्ने अध्यक्ष बिजीले बताए । उद्घाटन समारोहमा गायक कुलेन्द्र बिक, रामजी खाँडल, प्रकाश सपुत लगायतका कलाकारले गीतसँगै नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा बिहीबार बिहान नौ बजेबाटै दोहोरी गायन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म जारी रहने यो प्रतियोगिताको समापन शनिबार हुनेछ ।

प्रतिक्रिया