बर्दिबासमा स्थानीय पाठ्यक्रम लागू

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका स्थानीय पाठ्यक्रम लागू गर्ने जिल्लाको पहिलो स्थानीय तह बनेको छ । महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले नगरका सबै विद्यालयमा शैक्षिक सत्र २०७९ देखि लागू गरिएको स्थानीय पाठ्यक्रमको ‘बर्दिबास ज्ञानमाला’ नाउँको पुस्तक एक समारोहबीच विमोचन गरे ।

कक्षा–१ देखि ८ सम्मको स्थानीय पाठ्यक्रममा अब कक्षैपिच्छेको ‘बर्दिबास ज्ञानमाला’ पुस्तक विद्यार्थीलाई उपलब्ध गराइनेछ । अहिले कक्षा ५ सम्मको पुस्तक तयार भएर आएपछि यसअघिको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहिसक्नु भएका पोखरेलले आज विमोचन ग।ेका हुन् । कक्षा ६ देखि ८ सम्मको ‘बर्दिबास ज्ञानमाला’ पुस्तक नाउँको पुस्तक प्रकाशन क्रममा रहेको नगर कार्यपालिकाको कार्यालयका शिक्षा शाखाप्रमुख गणेश दाहालले जानकारी दिए ।

बर्दिबास नगरपालिकाले आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गरेर ससाना विद्यार्थीमा आफ्नो ठाउँबारे चासो जगाउने नयाँ काम थालेको पूर्वमन्त्री पोखरेलले बताए । अब आधारभूत तहका छात्रछात्राले ‘बर्दिबास ज्ञानमाला’बाट आफ्नो ठाउँको भूगोल, वेशभूषा, भाषाभाषी, रीतिथिति र स्थानीय सम्भावनाबारे आधारभूत ज्ञान पाउने पोखरेलको भनाइ छ । उनले जिल्लाका अन्य स्थानीय तहले पनि यसको सिको गर्न सके राम्रो हुने बताए । स्थानीय पाठ्यक्रमसँगै प्राथमिक शिक्षा मातृभाषामा दिनसक्ने प्रबन्धको तयारीमा पनि सम्बन्धित स्थानीय तहले पहलकदमी लिनुपर्ने पोखरेलको भनाइ छ । स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दिबास अहिलेसम्म जिल्लाको एकमात्र स्थानीय तह हो ।

नगरप्रमुख विदुरकुमार कार्कीको अध्यक्षतामा सम्पन्न विमोचन समारोहमा नगर कार्यपालिकाको कार्यालयका शिक्षा तथा खेलकुद शाखाप्रमुख गणेश दाहालले शैक्षिक सत्रको प्रारम्भमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पु¥याइने जानकारी दिए । बर्दिबासलाई शैक्षिक केन्द्र (हब) बनाउने नगर नेतृत्वले बताउँदै आएको छ । नगर क्षेत्रमा आधारभूत र माध्यमिक गरी ५५ वटा सामुदायिक विद्यालय छन् । त्यसैगरी कृषि सङ्कायको अध्ययन अध्यापन हुने प्राकृतिक स्रोत साधन कलेज सञ्चालित छ । यसबाहेक शिक्षाशास्त्रमा स्नातकोत्तर र वाणिज्यशास्त्रमा स्नातक तहसम्मको अध्ययन हुने बर्दिबास जनता बहुमुखी क्याम्पस एवम् १० भन्दा बढी प्राविधिक विषयको पठनपाठन हुने निर्मल लामा बहुप्राविधिक शिक्षालय छ ।

नगर क्षेत्रका सात माविले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा पशुविज्ञान, नापी, कम्प्युटर विज्ञान, फरेष्ट्री, इन्जिनियरिङ र कृषिसम्बन्धी पठनपाठन गराइरहेका छन् । मधेस प्रदेशभित्र बर्दिबासलाई शैक्षिक गन्तव्य बनाउने गरी काम अघि बढाइएको नगर शिक्षा शाखाले जनाएको छ । यसैगरी नगरले पछिल्लो पटक बौद्ध शिक्षा प्रारम्भ गर्ने निर्णय गर्दै गत फागुनमै सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सकेको छ ।

बौद्ध शिक्षा लागू भएपछि बर्दिबासमा स्थापना हुने कलेजमा बौद्ध दर्शनसम्बन्धी ज्ञान, तालिम, खोज एवम् अनुसन्धान गरिनेछ । यो शिक्षाले आम नागरिकमा अष्टाङ्ग ध्यान, सम्यक जीवन र बौद्ध दर्शनका बहुआयामिक पक्षबारे चासो बढाउने यहाँका शिक्षाविद् बताउँछन् । सुखद जीवन जिउने कलाबारे बौद्ध दर्शनले सुझाएको बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी बताए । यहाँ बौद्ध शिक्षाका लागि कलेज स्थापना हुनसके यसबारे सकारात्मक चासो बढ्ने, बौद्ध दर्शनको अध्ययन, अभ्यास, अन्वेषण र यससम्बन्धी सघन छलफल बढाउन सहयोग पुग्नेमा ठकुरी जस्तै यहाँका आम बुद्धिजीवी सहमत देखिएका छन् ।

प्रतिक्रिया