‘आवश्यकताका आधारमा चुनावी गठबन्धन’

सल्यान । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेपाली कांग्रेसले आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएका छन् । स्थानीय तहमा कांग्रेसले आवश्यकता महसुस गरेको अवस्थामा मात्रै चुनावमा गठबन्धन गर्न सकिने जानकारी दिएका हुन् । जिल्लाको छत्रेश्वरीको शंखमूलमा निर्माण गरिएको नेपालको सबैभन्दा ठूलो शंखपार्कको उद्घाटन गर्न सल्यान आइपुगेका महतले काग्रेस एक्लै चुनाव जित्न सक्ने स्थानमा गठबन्धन आवश्यक नभएको दावी गरे । ‘चुनावमा जाने भनेको जित्नकै लागि हो, एक्लै जित्न सकिन्छ भने त्यहाँ किन गठबन्धन गर्ने ? स्थानीय स्तरमा गठबन्धन गर्न आवश्यक भएका स्थानीय तहहरूमा मात्र गठबन्धन गर्ने हो’, महतले भने ।

नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्य समितिमा छलफल गरेपछि सबै कुराको टुंगो लाग्ने महतको भनाइ छ । उनले देशको समद्धिका लागि कांग्रेस आवश्यक भएको भन्दै अब कांग्रेसले बहुमतको सरकार बनाउने गरी घरघरमा पुगेको बताए । ‘कम्युनिस्टहरूले ५० वर्ष एकलौटी सरकार चलाउँछाैं भन्थे तर तीन वर्ष टिक्न सकेनन्, हावादारी कुरा गरेर सत्ता टिकाउन सकिँदैन भनेर थाहा भइहाल्यो नि, अबको जिम्मा कांग्रेसले लिन्छ’, महतले भने । महतले देशमा अनुदान लिन हँुदैन भनेर विषयलाई विषयान्तर गरेर विवाद सिर्जना गरेको भन्दै एमालेकै पालमा एमसीसी अगाडी बढेको बताए । ‘नेपालका लागि एमसीसी हितमा छ यस्ता अनुदान नेपालले धेरै लिएको छ, अनुदान नलिए देश चलाउन ऋण लिनुपर्छ, अहिले केपी ओलीको सरकारको पालामा देशलाई सबैभन्दा बढी ऋण लागेको छ’, महतले भने ।

नेपालमा लागू भएका अन्य अनुदानहरूमा समेत अन्तर्राष्ट्रिय कानुन लागेको भन्दै महतले अन्य परियोजनाहरूमा विदेशी कामदारहरू आएर काम गरेको प्रसस्त उदाहरण भएको दावी गरे । ‘एमसीसी अनुदान नेपालको हितमा छ, यसमा पनि अन्तर्राष्ट्रिय कानुनअनुसार ठेक्कापट्टा हुन्छ, यी कुरा नेपालमा पहिलेदेखि भइरहेकोले नयाँ होइन तर यसलाई अपव्याख्या गरेर चुवानी नारा बनाउन खोजियो, त्यो काग्रेसले पूरा हुन दिएन’, महतले भने । यसैबीच जिल्लाको प्रसिद्ध धार्मिक स्थलमा निर्माण गरिएको नेपालकै ठूलो शंख सहितको शंखपार्क सर्वसाधारणका लागि खुल्ला गरिएको छ । शंख आकारमा पानीको मुहान आउने भएकोले यसलाई शंखमूल भनिएको र त्यसै स्थानमा छत्रेश्वरी गाउँपालिकाको १ करोड ६० लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न गरेको हो ।

यो पार्क मात्र नभएर पवित्र धार्मिक स्थल भएकोले यसको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकोले यसको संरक्षण गरेको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले जानकारी दिए । ‘यो शंखपार्क मात्र नभएर पवित्र धार्मिक स्थल हो, जीर्ण अवस्थामा गइसकेको यसलाई हामीले पुनर्जीवित गरेका छौँ’, केसीले भने । यस क्षेत्रमा परम्परादेखि नै पूजाआजा गर्दै आएको र यहाँ अस्तु सेलाउनका लागि सल्यान, रुकुम रोल्पा लगायतका क्षेत्रहरूबाट मानिसहरू आउने गर्दछन् । गाउँपालिकाको बजेटबाट पार्कभित्र परम्परागत खरको छानो भएको सल्यानी घर तथा शिवपार्वतीको मूर्ति स्थापना गरिएको छ ।

प्रतिक्रिया