काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा फैसला सुनाउने मिति तय गरेको छ ।
न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै पक्षको सुनुवाइ सकेर आगामी साउन १३ गते फैसला सुनाउने मिति तय गरेको हो । त्यसअघि २१ असारसम्म बहसनोट पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो । विशेषको फैसला विरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका हुन् ।
विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १० साउन, २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो । जोशीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो ।
जोशीसँगै गैरकानुनी सम्पत्ति लुकाएको आरोप पत्नी सविता पन्त, जेठीसासू चोलाकुमारी पन्त, सासू नीरकुमारी, साला बासुदेव पन्त, बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाइएको थियो । तर, २०६३ कात्तिक ३० मा विशेष अदालतले अनुसन्धानको हदम्यादका आधारमा जोशीलाई सफाइ दिएको थियो ।
प्रतिक्रिया