बहाना : युक्रेन–रुस युद्ध, मिलेमतोमा उपभोक्ता लुट्दै ब्यापारी

काठमाडौं । युक्रेन–रुसबीच जारि युद्धको नाममा ‘कृत्रिम अभाव’ सिर्जना गरी दैनिक उपभोग्य बस्तुको मूल्य बृद्धि गरिएको छ । ति दुवै मुलुकबीच भइरहेको युद्धको मौकाको फाइदा उठाएर नेपालका केही ‘हेपाहा प्रवृत्तिका’ उद्योगी र व्यापारीको मिलेमतोमा अत्यावश्यक बस्तुको कृत्रिम अभाव सिर्जना गरि अत्याधिक मूल्य बृद्धि गरिएको छ । युक्रेन–रुसबीच जारि युद्धका कारण अत्यावश्यक खाद्य पदार्थ उत्पादन गर्ने कच्चा पदार्थ सकिनुका साथै आयात हुन नसकेको दाबी गर्दै नेपालका उद्योगी व्यवसायीले कृत्रिम अभाव सिर्जना गरि अत्याधिक मूल्य बृद्धि गरेका हुन् । कृत्रिम अभाव सिर्जना हुनु र आफुखुशी मूल्य निर्धारण हुनुमा सरकारको पनि स्पष्ट मिलेमतो देखिएको छ ।

एक महिनामै पटक÷पटक मूल्य बृद्धि हुँदा पनि सरकारी अनुगमनकारी निकायले बजार र उद्योगमा अनुगमन गरि बैज्ञानिक आधार पत्ता नलगाएका कारण देशभरकै बजार सिमित ‘हेपाहा प्रवृत्तिका’ उद्योगी र व्यापारीको कब्जामा पुगेको छ । युक्रेन र रुसबीच युद्ध सुरु भएको बल्ल करिब डेढ साता पुगेको छ । तर, व्यवसायी र उद्योगीले आयात हुने मुलुकबाट कच्चा पदार्थ आयात नभएको भन्दै कृत्रिम अभाव सिर्जना गरिसकेका छन् । पछिल्लो करिब दुई साताको अवधिमा नेपाली भान्छामा अत्याधिक खपत हुने चामलदेखि सबैप्रकारका खानेतेल र दालको मूल्य अस्वभाविक रुपमा मूल्य बृद्धि भएको छ ।

महिनामै दुई÷तीन पटकसम्म पेट्रोलियम पदार्थसहित अत्यावश्यक बस्तुको मूल्य बृद्धि हुँदा निम्नस्तरका सर्वसाधारणको टाउकोमा महँगीको भार थपिएको छ । थोक खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भट्टले युक्रेन–रुसको युद्धका कारण कच्चा पदार्थको अभाव तथा ढुवानी खर्च महँगिएका कारण अत्यावश्यक बस्तुको मूल्य बृद्धि भएको दाबी गरे । भट्टका अनुसार सबैभन्दा बढी खानेतेलको मूल्य बृद्धि भएको छ ।
‘अहिले बजारमा खासगरी दुई प्रकारले प्रभाव परेर मूल्य बढेको हो,’ भट्टले भने, ‘पहिलो त इन्धनको मूल्य अत्याधिक बढेर ढुवानी खर्च नै निकै बढेको छ । दोश्रो, तेल उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ युक्रेन–रुस युद्धका कारण अभाव भएको र समयमा आउन नसकेका कारण मूल्य बढेको हो ।’

भट्टको दाबीलाई खुद्रा व्यापार संघले भने गलत बताएको छ । खुद्रा व्यापार संघका महासचिब अमुलकाजी तुलाधरले युक्रेन–रुसको युद्धको बहानामा उद्योगी र थोक बिक्रेताले कृत्रिम अभाव सिर्जना गरि आफुखुशी मूल्य बृद्धि गरेको जानकारी दिए । ‘युद्ध सुरु भएको बल्ल डेढ साता पुग्दैछ । यस्तोमा कसरी कच्चा पदार्थको अभाव र आपूर्ति असहज हुनसक्छ,’ महासचिव तुलाधरले भने, ‘उद्योगीले कच्चा पदार्थ कम्तिमा १÷२ महिनालाई पुग्ने गरी आयात गर्छन् । युद्ध भयो भन्दैमा तत्कालै मूल्य बृद्धि र कच्चा पदार्थको अभाव हुनै सक्दैन । यो सबै मिलेमतोमा कृत्रिम अभाव गरी मूल्य बृद्धि गरिएको हो ।’

तुलाधरका अनुसार अनुगमनकारी निकाय, उद्योगी र थोक विक्रेताकोे मिलोमतोमा कृत्रिम अभाव सिर्जना गरी अत्यावश्यक खाद्यान्नको अचाक्ली मूल्य बृद्धि गरिएको हो । उनका अनुसार ठूलो उद्योग र थोक विक्रेताको गोदाममा तेल पर्याप्त परिमाणमा मौज्दात रहे पनि खुद्रा व्यापारीलाई ‘मौज्दात सकिएको’ भन्दै फर्काउन थालिएको छ । एक तेल उत्पादक उद्योगीले पनि तुलाधरको भनाई पुष्टि गरेका छन् । उनका अनुशार, अधिकाँश तेल उत्पादन गर्ने उद्योगीले अहिले उत्पादन गरेको तोरी तेल, सोयाविन तेल (भटमास) र सनफ्लावर (सूर्यमुखि) तेल विभिन्न स्थानको गोदाममा लुकाएर राखेका छन् । ति उद्योगीका अनुसार, युक्रेन–रुसको युद्धको असर नेपालको उद्योगमा पनि परेको छ तर, सर्वसाधारण उपभोक्तालाई लुट्नका लागि मात्र ।

‘सम्पूर्ण कच्चा पदार्थ सकिएको र उत्पादित तेल नै उद्योगसँग नभएको होइन,’ नाम उल्लेख नगर्ने शर्तमा ति उद्योगी भन्छन्, ‘अधिकाँश उद्योगीले उत्पादन भएको सबै प्रकारको खाने तेल लुकाएर राखेका छन् । उनीहरुले तेल छैन भनेर कृत्रिम अभाव सिर्जना गरि आफुखुशी मूल्यमा सिमित खुद्रा व्यापारीमार्फत महँगो मूल्यमा तेल बिक्री गर्दैछन् ।’ उनका अनुसार, युक्रेन–रुस युद्धलाई कारण देखाएर घरेलु बजारमा खाने तेलको मूल्य अत्याधिक बृद्धि गर्न केही उद्योगीहरु तयार छैनन् । तर, शक्तिको संरक्षणमा रहेका केही उद्योगी भने मानवीयता बिर्सिएर यो अवसरलाई आफ्नो हितमा प्रयोग गर्न चाहन्छन् । युद्धको विभिषिकाले उनीहरुलाई कतै पोल्दैन र उनीहरु युक्रेन–रुस युद्धभन्दा हजारौं माइला टाढा रहेका सर्वसाधारण उपभोत्तालाई पनि युद्धको भन्दा बढी पिडा थोपर्न उद्धत छन् ।

घरेलु बजारमा अत्याधिक मूल्य राखेर बिक्री गर्दा विवाद सिर्जना हुने भनेर उत्पादित खानेतेलको अनावश्यक भण्डारण गर्नुका साथै कृत्रिम अभाव सिर्जना गरेका छन् । अधिकाँश उद्योगीले घरेलु बजारभन्दा भारतीय बजारमा मूल्य पनि अत्याधिक पाइने र मूल्यसम्बन्धी विवाद पनि सिर्जना नहुने भन्दै भारततर्फ अत्याधिक नाफा लिएर निर्यात गर्न थालेका छन् । ‘घरेलु बजारमा आम उपभोक्ताका लागि खाने तेल नभए पनि भारततर्फ उच्च नाफा राखेर निर्यात गर्न भने पर्याप्त परिमाणमा उद्योगीसँग मौज्दात छ,’ ति उद्योगीले सौर्य दैनिकलाई भने । उनका अनुसार युक्रेन–रुसको युद्धका कारण तत्कालै घरेलु बजारमा प्रभाव पर्दैन ।

उद्योगीले कच्चा पदार्थ मगाउँदा नेपालसम्म आइपुग्न कम्तिमा दुई महिना समय लाग्छ । यो अवधिलाई हेर्ने हो भने उद्योगीले एकपटकमा कम्तिमा एकदेखि डेढ महिनासम्म उत्पादन गर्न पुग्ने कच्चा पदार्थ तेश्रो मुलुकबाट आयात गर्छन् । तर, उद्योगीले अहिले नै कच्चा पदार्थ सकिएको भन्दै तेल उत्पादन ठप्प भएको बहानाबाजी गरेका छन् । उपभोक्तावादी प्रेमलाल महर्जन नेपालका केही सिमित ‘शक्तिशाली’ उद्योगी व्यवसायी जो राज्यलाई आफुले चाहेअनुसार खेलाउन सक्छन्, उनीहरु नै सबैभन्दा बढी कालोबजारीमा संलग्न रहेको दाबी गर्छन् । त्यस्ता उद्योगपतिहरुले नै राज्यका भ्रष्ट संयन्त्रणको मिलेमतोमा खाद्यान्नसहित खाने तेलको अनावश्यक भण्डारण गरि कृत्रिम अभाव सिर्जना गरेर अस्वाभाविक मूल्य बृद्धि गरिएको महर्जनको दाबी छ ।

‘यसको ज्वलन्त उदाहरण अहिले भर्खरै युद्धको बहानामा खाने तेलको मूल्य बृद्धि हुनु हो । युद्ध सुरु भएको दोश्रो दिन नै खानेतेलको मूल्यमा ४० देखि ८० रुपैयाँसम्म बढाइयो,’ उपभोक्तावादी महर्जनले भने, ‘यसले गर्दा मुलुकमा सुशासन कायम गर्ने भनेर डम्फु बजाउने नेता र प्रशासकको धोति फुस्काउने काम गरेको छ ।’ सत्ता र शक्तिको नजिक रहेका उद्योगी र व्यवसायीले नेता र प्रशासकलाई आफ्नो नियन्त्रणमा लिएर कृत्रिम अभाव सिर्जना गरि कालोबजारी, जम्माखोरी र मुनाफाखोरी गर्दै आएको उनको कथन छ । निम्बस होल्डिङ प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक डा. दिनेश गौतमले भने युक्रेन–रुस युद्धको प्रभाव खाद्य तेलमा परेको जानकारी दिए ।

खाद्य तेल उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थको निर्यातक मुलुक रुस र युक्रेन संसारमै सबैभन्दा ठूलो हो । उनका अनुसार युद्ध सुरु भएपछि अहिले ति दुवै मुलुकले निर्यात सम्बन्धी सम्पूर्ण प्रक्रियामा रोक लगाएका छन् । सबैभन्दा ठूलो निर्यात हुने मुलुकबाट आयात प्रक्रिया अवरुद्ध भएर उपलब्धता न्युन हुनु, इन्धनको मूल्य बढेर अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा ढुवानी भाडा बृद्धि हुनु, जहाज र कन्टेनरको अभाव हुनुजस्ता कारणले कच्चा पदार्थको मूल्य अध्याधिक बढेको दाबी उनको छ । ‘युक्रेनबाट कच्चा पदार्थ आयात गर्ने कल्पना पनि गर्न सकिन्न । अहिले उद्योगसँग रहेको कच्चा पदार्थ प्रयोग गरी खाने तेल उत्पादन भइरहेको छ,’ डा. गौतमले भने, ‘बाटोमा भएको कच्चा पदार्थ पनि सिपमेन्ट समस्याका कारण होल्ड गरिएको छ भने धेरैले मूल्य अस्वाभाविक रुपमा बढेर कन्साइनमेन्ट क्यान्सिल गरेका छन् ।’

नेपालमा तयार हुने तोरी तेल, सनफ्लावर तेल, सोयाबिन तेल र पाम तेलमा प्रयोग हुने कच्चा पदार्थमध्ये ९५ प्रतिशत रुस र युक्रेनबाट आयात हुँदै आएको छ । नेपालमात्र होइन, विश्वभर तेल उत्पादन गर्ने मुलुकहरुले यस्ता कच्चा पदार्थ कूल मागको करिब ७५ प्रतिशतभन्दा बढी युक्रेन र रुसबाटै आयात गर्छन् । नेपालमा वार्षिक चार लाख टन खाने तेल खपत हुन्छ । करिब २४ वटा उद्योगबाट खाने तेल उत्पादन हुन्छ । नेपालमा कुल मागभन्दा झण्डै २० दोब्बर क्षमताका उद्योगहरु छन् । यस्ता उद्योगबाट स्वदेशी माग पुरा गरेर त्यसको दसौं दोब्बर खानेतेल भारत निर्यात हुन्छ । करिब ८० अर्ब रुपैयाँको कच्चा पदार्थ विभिन्न मुलुकबाट आयात हुन्छ ।

अचाक्ली बढ्यो मूल्य
खुद्रा व्यापार संघका अनुसार फागुन १ गते एक हजार ६ सय ५० रुपैयाँ रहेको प्रति बोरा जिरा मसिनो चामलको मूल्य बढेर अहिले एक हजार आठ सय रुपैयाँभन्दा माथि पुगेको छ । यसैगरी दुई सय ४० रुपैयाँ प्रति लिटर रहेको सनफ्लावर तेलको मूल्य दुई सय ७० देखि दुई सय ८० रुपैयाँसम्म पुगेको छ । भुटेको तोरीको तेलको मूल्य तीन सय बाट तीन सय ४० देखि तीन सय ८० रुपैयाँसम्म पुगेको छ । काँचो तोरीको तेल दुई सय ४० बाट बढेर दुई सय ८० रुपैयाँ प्रति लिटरसम्म पुगेको छ । दुई सय २० रुपैयाँ पर्ने भटमास (सोयाबीन) तेलको मूल्य दुई सय ५५ रुपैयाँ पुर्याइएको छ ।

पछिल्लो समयमा दालको मूल्य पनि त्यतिकै बढाइएको छ । एक सय ६० रुपैयाँ प्रतिकिलो पर्ने मासको दाललाई एक सय ८०, एक सय ७० रुपैयाँ पर्ने रहर दाललाई एक सय ९० र एक सय ३० पर्ने मुसुरोको दाललाई एक सय ६० रुपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको छ । यो मूल्य बृद्धिका कारण सर्वसाधारणको भान्छा निकै महँगिएको छ ।

प्रेमलाल मर्हन

 प्रेमलाल मर्हन (उपभोक्तावादी)
सक्ता, शक्ति र भ्रष्ट प्रशासनतन्त्रको भरमा रजाई गर्ने नेपालका केही सिमित उद्योगी/व्यवसायीहरु राज्यलाई आफुले चाहेअनुसार औंलामा खेलाउन सक्ने अवस्थामा पुगेका छन् । राज्य, उद्योगी र थोक बिक्रेताको मिलेमतोमा खाद्यान्नसहित खानेतेलको जम्माखोरी गरि कृत्रिम अभाव सिर्जना गरेर अस्वाभाविक मूल्य बृद्धि गरिएको छ । यसको ज्वलन्त उदाहरण हो, भर्खरै युद्धको बहानामा खाने तेलको मूल्य बृद्धि हुनु । युद्ध सुरु भएको दोश्रो दिन नै खानेतेलको मूल्यमा ४० देखि ८० रुपैयाँसम्म बढाइयो । यसले गर्दा मुलुकमा सुशासन कायम गर्ने भनेर डम्फु बजाउने नेता र प्रशासकको धोति फुस्काउने काम गरेको छ । उनीहरुले नेता र प्रशासकलाई आफ्नो प्रभावमा पारेर कृत्रिम अभाव सिर्जना गरि कालोबजारी, जम्माखोरी र मुनाफाखोरी गर्दैआएका छन् ।

 

डा.दिनेश गौतम

डा.दिनेश गौतम (कार्यकारी निर्देशक, निम्बस होल्डिङ प्राइभेट लिमिटेड)
युक्रेन यतिबेला आफ्नो मुलुकबासीको ज्यान जोगाउन लागेकाले उक्त मुलुकबाट कच्चा पदार्थ आयात गर्ने कल्पनासम्म गर्न सकिन्न । अहिले उद्योगसँग रहेका कच्चा पदार्थ प्रयोग गरी खाने तेल उत्पादन भइरहेको छ । बाटोमा भएका पनि शिपमेन्ट समस्याका कारण होल्ड गरिएका छन भने धेरैले मूल्य अस्वाभाविक रुपमा बढ्दै जाँदा कन्साइमेन्ट नै क्यान्सिल गरेका छन् । युद्धका कारण सबैप्रकारका तेलको कच्चा पदार्थ प्रति टन पाँच देखि ६ सय डलर पुगेको छ । सनफ्लावर तेलको कच्चा पदार्थ अत्याधिक मूल्य बढेर पाउनै छाडिएको छ । युद्धविराम भएर पनि तेल उत्पादन गर्न कच्चा पदार्थ नियमित रुपमा आयात गर्न सम्पूर्ण प्रक्रिया मिल्न कम्तिमा तीन महिना लाग्न सक्छ ।

प्रतिक्रिया