काठमाडौं । टिकटकमा अब १० मिनेट लामो भिडियो अपलोड गर्न सकिने भएको छ । आफ्ना प्रयोगकर्तालाई सिर्जना र मनोरञ्जनमा थप समय प्रदान गर्न भिडियोको अवधि बढाइएको टिकटकले जनाएको छ । चिनियाँ टेक जायन्ट, टिकटकमा सुरुमा जम्मा १५ सेकेन्डको भिडियो राख्न पाइन्थ्यो । पछि त्यसलाई बढाएर ६० सेकेन्ड पुर्याइयो भने गत जुलाइदेखि टिकटकले ३ मिनेट लामो भिडियो अपलोड गर्न सकिने सुविधा दिएको थियो ।
अब भने प्रयोगकर्ताले टिकटकमा एकैपटक १० मिनेट लामो भिडियो राख्न सक्नेछन् । टिकटकका प्रवक्तालाई उदृत गर्दै द भर्जले लेखेको छ, ‘यो नयाँ सुविधाप्रति हामी उत्साहित छौं । यसले विश्वभरका हाम्रा रचनाकारलाई अझ बढी रचनात्मक बन्न सघाउने अपेक्षा गरेका छौं ।’ कम्पनीका अनुसार टिकटकमा मासिक १ अर्ब मानिसले लगइन गर्छन् ।
छोटा भिडियोका लागि चर्चित टिकटकले मूलत: युट्युबसँग प्रतिस्पर्धा गर्न लामो भिडियोतिर लागेको बताइन्छ । छोटा भिडियोहरूबाट आम्दानी गर्न (मनिटाइजेसन) पनि गाह्रो हुन्छ । तसर्थ, युट्युबले झैं टिकटकले पनि लामो भिडियोमार्फत् आफ्ना प्रयोगकतालाई मनिटाइजेसनको अवसर दिन खोजेको बताइन्छ । साथै, पाको पुस्तालाई रिझाउने उसको अर्को मनसाय रहेको प्रविधि विज्ञहरूको धारणा छ ।
प्रतिक्रिया