घट्दै कोरोना संक्रमण दर

काठमाडौं । कोरोना भाइरसको संक्रमण घट्दै गइरहेको छ । आज ६ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा ८३६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा कुल परीक्षण गरिएकामध्ये १२.६ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या २६ हजार १०२ जना रहेका छन् ।

पछिल्लो समय एक हजार ८२६ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या ९ लाख ३४ हजार ६४८ पुगेको छ । निको हुने दर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

चार जनाको निधन

पछिल्लो २४ घण्टामा चार जनाको संक्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ८८२ जनाको संक्रमणका कारणले निधन भएको छ । यस्तै ५०० भन्दा बढी संक्रमण भएको जिल्ला १३ पुगेको छ ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की,बाके, रुपन्देही, र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी संक्रमित भएका १२ जिल्ला रहेका छन् । ति जिल्लामा सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नवलपरासी पूर्व, तनहुँ, पाल्पा, दाङ र र कन्चनपुर रहेका छन् ।

शून्य संक्रमित भएको एक मात्र जिल्ला मनाङ रहेको छ । नेपालमा संक्रमण दर १८.२ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा २५ हजार १४१ ,संस्थागत आइसोलेसनमा १६१ , आइसियुमा २०० र भेन्टिलेटरमा ३४ जनाको उपचार हुँदैछ ।

विगत २४ घण्टामा आज दुई लाख ८८ हजार ८३७ जनाले खोप लगाएका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज सात लाख १३ हजार ९०५ मात्रा लगाइएको छ ।

प्रतिक्रिया