खस्कँदो पठन संस्कृति

काठमाडौं । समाज, विश्व, प्रकृति, ब्रमाण्ड तथा जीवन र जगतका यावत् पक्षको जानकारी तथा ज्ञान हुनु मानिसका लागि आवश्यक छ । संस्कृति मानवीय गतिविधिको समुच्य रुप हो । यसमा कला, साहित्य, रहनसहन, धर्म, सामाजिक कार्य, इतिहास, परम्परा, सभ्यता, शिक्षा, आचरण, चिन्तन, जीवनपद्धति आदि पर्दछन् । यी विषयका बारेमा अध्ययन गर्नु र त्यसका बारेमा जानकारी लिने काम पठन संस्कृतिमा पर्दछ । वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकाल पठन संस्कृतिको विकासका लागि समाजसँग जोडिएका आवश्यकता र जीवनपद्धतिसँग मेल खाने रचनाहरु लेखिनु पर्नेमा जोड दिन्छन् । उनी लेखिएका कृतिले नयाँँ विचार, चेतना र भोलिको संघर्षशील समाजलाई सम्बोधन गर्न सक्नुपर्ने धारणा व्यक्त गर्छन् । उनी भन्छन्, ‘पठन संस्कृतिको विकासका लागि प्रविधिमैत्री रचनाहरू अस्तित्वमा आउनु आवश्यक छ ।’

पठन संस्कृति समाज, विश्व र जीवनजगतलाई बुझ्ने महत्वपूर्ण आयाम हो । पढेर जीवन र जगतलाई बुझ्नुका साथै ज्ञान आर्जन गर्नु पठन संस्कृति हो । सहप्राध्यापक धनप्रसाद सुवेदी भने अहिले पठनका विकल्पहरु धेरै भएको बताउँछन् । कुनै समयमा पठन ज्ञान आर्जन र मनोरञ्जनको एउटा भरपर्दो विषय भएको उनले बताए । उनी भन्छन्, ‘धर्मप्राप्ति र मोक्षप्राप्तिका लागि भनेर धार्मिक कृतिको पठनपाठन गर्ने परम्पराले पनि पठन संस्कृतिलाई धेरथोर प्रश्रय दिएको थियो । पछिल्लो समयमा ज्ञान आर्जनका लागि श्रव्य दृश्य सामग्री महत्वपूर्ण मानिन थालियो ।’ सुवेदीले मनोरञ्जनका लागि पढ्ने कुरा त झन् परको विषय भएको बताउँदै धार्मिक तथा आध्यात्मिक विषय पनि पढ्नेभन्दा सुन्ने विषय बनेको विचार ब्यक्त गरे ।

उनले भने, ‘पुँजीवादी युगको विकास र बिस्तार भएसँगै मानिस पैसाका पछि दौडिन थाल्यो । फुर्सद कम हुन थाल्यो । उत्तरआधुनिक चिन्तनले पठनलाई होइन विपठनलाई जोड दियो । अर्को कुरा अहिले हरेक विषयमा जस्तै पठन संस्कृतिमा पनि बजारले हस्तक्षेप गरेको छ । आजको मानिस आफैँ खोजेर, बुझेर काम गर्ने झञ्झट गर्दैन ।’ उनी बजार, विज्ञापन, हल्ला आदिले बताइदिने सूचनाका आधारमा आजको पाठकले पठन सामग्रीको छनोट गर्न थालेपछि अहिलेको पठन संस्कृति कमजोर बनेको जिकिर गर्छन् ।

विशेषगरी पठन कार्यले बौद्धिक विकासमा सहयोग पु¥याउँदछ । पुस्तक, जर्नल, पत्रपत्रिका, भरपर्दा अनलाइन, श्रव्य–दृश्य सामग्री आदि यसका स्रोत हुन् । यिनैबाट ज्ञानका विविध पाटालाई बुझ्न सकिन्छ । इतिहास, धर्म, संस्कार, लोकजीवन, सभ्यता, कला, साहित्य, प्रकृति आदिका बारेमा लेखिएका सामग्रीले नै मानिसमा ज्ञान प्रवाह गर्न मद्दत गर्दछ । पठन कार्यले मानिसमा विवेकको विकास गर्न सघाउँ पु¥याउँदछ र जिम्मेवार बन्न अभिप्रेरित गर्दछ ।

तर, पछिल्लो समय पठन संस्कृति खस्कँदै गएको छ । पठन संस्कृति खस्कनुमा आजको प्रविधिमैत्री विद्युतीय संयन्त्र र सामाजिक सञ्जालको बहुउपयोगिता मुख्य कारण भएको प्रा.डा. ढकालले बताए । उनले भने, ‘आजको पुस्ताले आफूले खोजेको आफ्नो जीवन पद्धति र भोलिको भविष्यसँग मेल खाने कुरा कृतिमा पाउँदैनन् । उनीहरु काल्पनिक संसारभन्दा वस्तुगत सत्य जीवनमा रमाउन चाहन्छन् । यसर्थ पठन संस्कृति कमजोर बनेको हो ।’

उनले पाठ्यक्रम र पाठ्यपुस्तकको भारी धेरै हुनु, परीक्षा प्रणाली र नम्बर संस्कृति हावी हुनु, मनोरञ्जनका विकल्प धेरै र सहज प्राप्य हुनु, कृतिको गुणस्तर कम हुनु आदि कारणले पनि पठन संस्कृति खस्कँदै गएको बताए । डा. सुवेदी भन्छन्, ‘आजभोलि किताब पढिँदैन, सामाजिक सञ्जालका आएका टिप्पणीहरु पढिन्छ । गम्भीर विषयतिर होइन, टापटिपे टिप्पणी, प्रतिक्रिया, सस्तो मनोरञ्जनका विषयहरु चास्सचुस्स रुपमा पढ्ने प्रवृत्ति हाबी भएको छ । गम्भीर विषय पढ्नका लागि समय र धीरता दुवैको अभाव देखिन्छ । आजको पुस्ता बहुराष्ट्रिय कम्पनीका व्यापारिक प्रयोजनका लागि निर्मित विद्युतीय खेलहरुमा लहसिएको छ ।’

साहित्यकार सुमित्रा न्यौपानेले विभिन्न चर्चित पुस्तकहरु बजारमा अहिले पनि धमाधम बिक्री वितरण भइरहेका जनाउँदै राम्रा पुस्तकका लागि पाठकको कमी नभएको बताइन् । उनले पछिल्लो समय अनलाइन माध्यमबाट खरिदबिक्री भएको उदाहरण प्रशस्तै रहेको जानकारी दिइन् । उनले समय परिवर्तनले पठनपाठनको तौरतरिका बदलिएको बताउँदै भनिन्, ‘पुस्तकबाट लिने धेरै किसिमका ज्ञान अडियो भिडियो र इमेल इन्टरनेटबाट लिन सकिन्छ । फेरि पछिल्लो पुस्ता डिजिटल वेभमा प्रवेश गरिसकेकोले पढेरभन्दा हेरेर, सुनेर ज्ञान लिने प्रवृत्ति बढेको छ । एकल परिवारको संरचनाको विकास सँगसँगै कामको चापले गर्दा पनि मानिसले पढ्न छोड्दै गएको पाइन्छ ।’

प्रा. ढकालले सामाजिक सञ्जालको अत्यधिक प्रयोग हुने भएकाले छोटा छरिता र व्यवहारोपयोगी सिर्जना गर्न सकेमा पठन संस्कृतिको विकास हुनसक्ने बताए । अभिनेत्री विमला केसीले पठन संस्कृतिले विचारलाई निखार्न सहयोग गर्ने जनाउँदै पछिल्लो समय कमजोर बन्दै गएको बताइन् । उनले भनिन्, ‘हाम्रो जीवनशैली, व्यवहार, आचारविचार आदि सबै कुरामा एकदमै स्खलन हुँदै गएको छ । यो पठन संस्कृति कमजोर बन्दै जाँदाको परिणाम हो ।’ सहप्राध्यापक डा. सुवेदीले पठन संस्कृतिको विकासका लागि समाजका सचेत वर्ग संवेदनशील हुन आवश्यक रहेको बताए । उनले भने, ‘मुख्यतः बालबालिकालाई सानैदेखि पठनतिर उन्मुख गराउनुपर्छ । हामीले जतिसुकै बल गरे पनि प्रविधिप्रतिको आकर्षणलाई रोक्न सक्तैनौँ, त्यसैले प्रविधिलाई पन्छाएर होइन, त्यसको प्रयोग गरेर पठन संस्कृतिलाई प्रश्रय दिन सक्छौँ । त्यसैले पठनीय कृतिलाई विद्युतीय माध्यममा सहज उपलब्ध हुने परिस्थिति सिर्जना गर्नुपर्छ ।’

बालबालिकालाई सानै उमेरदेखि पढ्ने बानीको विकास गर्नुपर्नेमा जोड दिँदै सुवेदी पछिल्लो समय हाम्रा बालसाहित्यिक रचना, कृति अहिलेको बालबालिकको रुचि, चेतना र ज्ञानभन्दा धेरैपछि रहेको धारणा ब्यक्त गर्छन् । उनी भन्छन्, ‘राम्रा बालसाहित्यिक कृतिको रचना आवश्यक छ । विद्यालय तहमा कोर्सका किताबको भारी बोकाइन्छ, यसले बालकमा पढाइप्रति वितृष्णा जगाउँछ । कोर्सका किताबको भारीलाई घटाएर राम्रा बालसाहित्यिक तथा ज्ञानविज्ञानमा आधारित कृतिहरु पढाउने कुरामा जोड दिनुपर्छ । अर्को कुरा राम्रा कृतिलाई बजारमा लैजाने, समीक्षा गराउने र बजारलाई हामीले पनि हस्तक्षेप बढाउन आवश्यक छ ।’

अभिनेत्री केसीले राजनीति पनि विचार, प्रशिक्षण, राष्ट्रिय अन्तर्राष्ट्रिय विषयको अध्ययन, स्कुलिङबाट खारिएर आउनेभन्दा पनि चन्दा दिने, दलाली गर्ने, भ्रष्ट, माफियाबाट बढी प्रभावित हुन थालेपछि पठन संस्कृति कमजोर बन्दै गएको जिकिर गरिन् । उनले पछिल्लो समय फस्टाएको विकृतिपूर्ण आचरणले कस्तो संस्कृतिको निर्माण होला भन्ने अहम् प्रश्न उठेको बताइन् हो । उनले भनिन्, ‘पठन संस्कृतिको विकास गर्न विभिन्न संघ–संस्था विद्यालयदेखि विश्वविद्यालयसम्म तथा अन्य सबै क्षेत्रबाट सकारात्मक पहल हुन जरुरी छ । अध्ययनले नै मानिसलाई परिवर्तन गर्न सघाउँछ ।’

साहित्यकार न्यौपानेले अहिलेका पाठक सचेत भएकाले थरीथरीका पुस्तकबाट धेरै ज्ञान लिन चाहने बताइन् । उनले भनिन्, ‘पहिलेको तुलनामा पछिल्लो समयमा प्रकाशित धेरै पुस्तकले समयको प्रवाह समात्ने नसकेको हो कि जस्तो पनि लाग्छ । पुस्तकको भरपूर विज्ञापन सुनेपछि किनेका पुस्तकका मुल्य बढी हुने र रस कम हुने समस्या पनि पछिल्लो समयमा देखा पर्दै आएको छ । यो कारणले पनि सचेत पाठकले हत्तपत्त पत्याइहाल्ने र पुस्तकहरू खरिद गर्ने अवस्था देखिँदैन ।’
न्यौपाने अहिलेका मानिस अति व्यस्त भएकाले थोरै समयमा धेरै ज्ञान लिन सकिने बाटो खोजिरहेको धारणा ब्यक्त गर्दै यसले पनि पठन संस्कृतिमा कमी आएको बताउँछिन् । उनी भन्छिन्, ‘तुलनात्मक रूपमा बजारमा प्रत्येक महिनाजसो सयौं पुस्तक आएकोले पनि पढ्नेहरूको संख्या कम छ कि जस्तो लाग्ने पनि महत्वपूर्ण पुस्तकहरू खोजीखोजी पढ्नेको संख्या हुँदै नभएको भन्न भने मिल्दैन । पढ्नेहरू पनि छन् । जो चुपचाप पढिरहेका छन् ।’

साहित्यकार न्यौपानेले सबै उमेर समूहको इच्छा चाहाना बुझेर समय अनुकूलका पुस्तकहरु बजारमा आउनुपर्नेमा जोड दिँदै युवा र बालबालिकाको रुचि र चाहनालाई विशेष ख्याल गर्नु जरुरी रहेको बताइन् । उनले थपिन्, ‘नवपुस्तालाई पठनको मूलप्रवाहमा ल्याउन सकिएन भने पठन संस्कृति झनै खस्कँदै जान्छ । यथार्थ किसिमको प्रचार वा विज्ञापन हुनु अर्को महत्वपूर्ण पाटो हो । पाठकलाई झुक्याउनु हुँदैन । साथै विभिन्न स्थानमा पुस्तकालय, वाचनालय खोलेर पढ्ने वातावरण तयार गरिनुपर्छ ।’ नयाँ पुस्तामा पुस्तक पढने संस्कारमा कमी हुँदै गएको छ । अझ विद्यालयमा पढ्ने भनेको नै पाठ्यपुस्तक मात्रै हो भन्ने भ्रम पनि छ । यसबाट मुक्त हुन जरुरी छ । विद्यार्थीले पाठ्यपुस्तकसँगै जीवन र जगतका विविध आयाम समेटिएका पुस्तक पढ्नु पर्दछ र यसका लागि अभिप्रेरित समेत गरिनुपर्छ ।

प्रतिक्रिया