मोरङ उखुबारी हत्या प्रकरण : थप एकजनाको शव ललितपुरमा भेटियो

काठमाडौं । मोरङ उखुबारी हत्याकाण्ड घटनासँग जोडिएको थप एकजनाको शव बिहीबार साँझ ललितपुरको ठेचो हाइटमा भेटिएको छ । शव जमिनमा चारफिट तल गाँडेर माथिबाट प्लाष्टर गरिएको अवस्थामा भेटिएको हो । शव एक घरको कम्पाउन्डनजिकै खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरले मोरङ हत्याकाण्डसँग जोडिएको थप एउटा शव भेटिएको पुष्टि गरे । उनका अनुसार, मोरङ प्रहरीको सूचनाका आधारमा बरामद गरिएको शव मोहनप्रसाद लिम्बुको हो ।

यसअघि मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको अवस्थामा दुईवटा शव फेला परेको थियो । एउटा शव राजेन्द्रकुमार श्रेष्ठ र अर्को उनकै साथी शम्भु चौधरीको भएको पुष्टि भएको थियो । बिहीबार ललितपुरमा शव भेटिएको लिम्बुसमेत यही समूहसँग ब्यापार व्यवसायमा संलग्न थिए । महानगरीय प्रहरी अपराध महासाखाका प्रमुख एसएसपी कुँवरका अनुसार यो समूहका अर्का सदस्य अनिलकुमार मण्डललाई नियन्त्रणमा लिएपछि लिम्बुको शवको विषयमा जानकारी प्राप्त भएको हो । मण्डलसहित यो समूहले हाइड्रो कम्पनी र सिमेन्ट उद्योग खोल्ने तयारी गर्दै थियो । त्यसका लागि उक्त समूहले बजारबाट ठूलो रकम उठाएको थियो । पछि त्यही क्रममा लेनदेनको विषयमा कुरा नमिल्दा उनीहरुको हत्या भएको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ ।

हाल मोरङका डीएसपी मन्जिल मुकारुङ नेतृत्वको एउटा टोली काठमाडौं आएको थियो । त्यही टोलीले महाशाखाको सहयोगमा मण्डललाई पक्राउ गरेको थियो । स्रोतका अनुसार मोरङ प्रहरीले थप केही ब्यक्तिलाई पनि पक्राउ गरेको छ ।
यसअघि श्रेष्ठ र चौधरी दुवैको शव खाल्डोमा पुरेको अवस्थामा माघ १६ गते फेला परेको थियो । उखु काट्न पुगेका किसानले शंकास्पद अवस्थामा खाल्डो खनी केही पुरिएको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

शवको अनुहार पहिचान गर्न नसकिने अवस्थामा थियो । खाल्डोमा शव गाडेर नुन छर्केको पनि पाइएको थियो । मृतक श्रेष्ठ धरानमा सुन पसल सञ्चालन गर्दै आएका थिए । उनी पछिल्लो समय जग्गा प्लटिङको व्यवसायमा पनि संलग्न थिए ।
लेनदेन मिलाउन भन्दै उनी मंसीरमा झापातिर हिँडेको परिवारले प्रहरीलाई बताएका छन् । मृतक तिनैजनाको घाँटीमा डोरीले बाँधेर हत्या गरिएको आशंका प्रहरीले गरेको छ । हत्यामा पेशेवर अपराधिको प्रयोग गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया