कलाकृतिमा सहिद

(कलाकार राजन काफ्लेद्वारा सृजित सहिदका चित्र)

देश र जनताका लागि ज्यानको आहुति दिने व्यक्तित्वलाई सहिद भनेर चिनिन्छ । उनीहरुको सम्झनालाई चीरस्थायी बनाइराख्न कलाकारले कलाकृतिमार्फत सहिदको व्यक्तित्वलाई प्रस्तुत गरेको पाइन्छ । राष्ट्रका लागि स्वाभिमानपूर्वक लड्ने र क्रुर शासनविरुद्ध रत्तिभर नडगमगाई बलिदान दिने सहिदको स्मृतिमा कलाकारले बनाउने कलाको समाजमा विशेष महत्व रहेको हुन्छ । सहिद शब्द फारसी भाषाबाट आएको हो । यसको अर्थ ‘धर्मयुद्धमा मर्नु’ भन्ने हुन्छ । ल्याटिन भाषाको मार्टियर अर्थात् ‘वीरगति प्राप्त गर्नु’ बाट पनि यो शब्द आएको हो । देश र जनताका लागि ज्यान दिने सहिदका कलाकृतिले सधैं न्यायपूर्ण समाज निर्माणमा उत्प्रेरणा दिने कलाकार नारदमणि हार्तम्छाली बताउँछन् । उनी भन्छन्, ‘सहिदका कलाकृतिले ती महान् व्यक्तित्वको त्याग र समर्पणलाई सधैं ताजा बनाइराख्न मद्दत गर्दछ भने स्मृतिलाई अजर अमर पनि बनाउँछ ।’ उनका अनुसार नेपालमा पनि कलाकारहरुले सहिदको व्यक्तित्व झल्किने चित्र, मूर्ति तथा स्मारकीय कला बनाएका छन् ।

नेपालमा १९९७ साल माघ १० देखि १६ गतेभित्र जहानियाँ राणा शासनका बेला शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दलाई क्रुरतापूर्वक हत्या गरिएको थियो । तिनै सहिदको सम्झनामा सरकारले माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ को रुपमा मनाउँदै आएको छ । यी चार सहिदका कलाकारले बनाएका चित्र तथा मूर्ति देशका विभिन्न स्थानमा राखिएको छ । यसैगरी राणा शासकविरुद्ध आवाज उठाएबापत् सहादत प्राप्त गरेका सहिद लखन थापाको पनि देशका विभिन्न स्थानमा शालिक राखिएको छ भने फरक÷फरक कलाकारले दर्जनौं चित्रसमेत बनाएका छन् ।

थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो । उनलाई नेपालको पहिलो सहिदका रुपमा लिइन्छ ।
राणा शासनप्रति कटाक्ष गर्दै १९७७ सालमा ‘मकैको खेती’ पुस्तक लेखेका कृष्णलाल अधिकारीलाई पक्राउ गरेर जेलमा कोचिएको थियो । उनको १९८० साल मंसिरमा जेलमै निधन भएको थियो । कलाकार चन्द्रमानसिंह मास्केलाई पनि राणाविरोधी व्यंग्यचित्र बनाएबापत् १९९७ सालमा सर्वस्वसहित १८ वर्षे जेल सजाय तोकिएको थियो ।

यिनै सहिदका कारण नेपालमा २००७ सालमा प्रजातन्त्र आयो । सहिदका सपनालाई राज्यले सही ढंगले सम्बोधन गर्न नसक्दा २०१७ सालमा प्रजातन्त्रको अंकुरलाई निमोठेर पञ्चायती व्यवस्था लागु गर्ने हर्कत गरियो । ३० वर्षसम्म पञ्चायती व्यवस्थाले जनताका अधिकार कुण्ठित गर्दै शासन गर्यो ।

२०४६ सालमा राजनीतिक दल र जनताको शक्तिले पञ्चायती व्यवस्थाको ढल्यो । पञ्चायती व्यवस्था ढाल्न जनताले प्राणको आहुति दिए । यी आन्दोलनका सहिदलाई कलाकारले चित्र, मूर्ति तथा स्मारकीय कलामा उतारेर उनीहरुको योगदानलाई कालजयी बनाउन सहयोग गरेका छन् । २०५२ सालदेखि माओवादीले गरेको सशस्त्र जनयुद्धमा सहादत प्राप्त गरेका सयौं सहिदका चित्र, मूर्ति तथा स्मारकीय कला देशका विभिन्न स्थानमा बनाइएको छ ।

यसैगरी तात्कालीन राजा ज्ञानेन्द्र शाहले शासन आफ्नो हातमा लिएपछि फेरि नेपाली जनताले २०६२/६३ सालमा दोस्रो जनआन्दोलन गरे । यस आन्दोलनमा समेत दुई दर्जन बढीको सहादत भयो । यसैगरी नेपालमा समानताको आन्दोलनलाई अगाडि बढाइरहेका जातजाति तथा विभिन्न समुदायका आन्दोलनमा समेत थुप्रै व्यक्तित्वले ज्यानको आहुति दिएका छन् ।
राणा शासकले हत्या गरेका चार सहिद शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दको स्मृतिलाई सधैं जीवन्त बनाइराख्न टुँडिखेलको दक्षिणमा सहिदगेट बनाइएको छ । जसमा चार सहिद र राजा त्रिभुवनको मूर्ति राखिएको छ ।

सहिदको सम्झनामा चित्र, मूर्ति तथा स्मारक बनाउने कलाकारमा अमर चित्रकार, बालकृष्ण तुलाधर, टेकवीर मुखिया, लय मैनाली, रवीन्द्र ज्यापु, नारदमणि हार्तम्छाली, रामकृष्ण भण्डारी, राजन काफ्ले, लक्ष्मण भुजेल, गंगाधर सारु, अग्निराज पौडेल, बिक्रमश्री, नरेन्द्रप्रसाद भण्डारी, पृथ्वीनारायण श्रेष्ठ, गोविन्द चौधरी, भुवन थापा, विष्णुप्रसाद श्रेष्ठ, धनु याख्खा, लालकाजी लामा, सुर्य मध्यरात, कमला श्रेष्ठलगायतका सयौंको योगदान रहेको छ ।

सहिद गेटलाई स्मारकीय कलाको रुपमा प्रस्तुत गरिएको छ । साथै यी सहिदका देशका विभिन्न स्थानमा मूर्ति तथा स्मारक बनाइएको छ । काठमाडौं महानगरले पनि प्रजातन्त्र प्राप्तिका लागि मृत्युदण्ड पाएका चार सहिदको पूर्णकदको सालिक स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको र २०७६ सालमा धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सालिक स्थापना गरिएको छ । हेटौडामा पनि सहिदपार्क बनाइएको छ । २०४६ सालको जनआन्दोलनपछि यो पार्क बनाइएको हो ।

पञ्चायती व्यवस्थाविरुद्ध बलिदान दिने सुखानीका सहिदको स्मृतिमा झापामा मूर्ति निर्माणसँगै आकर्षक पार्क बनाइएको छ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा पनि अहिलेसम्म देश र जनताको पक्षमा ज्यानको आहुति दिएका सहिद तथा बेपत्ताका नाममा स्मारकीय कला बनाइएको छ । कलाकार नारदमणि हार्तम्छालीले बनाएको यो स्मारकीय कलाले सहिद तथा बेपत्ताको स्मृतिलाई कलात्मक रुपमा झल्काएको छ । यस्ता स्मारकीय मूर्ति तथा शालिक देश विभिन्न जिल्लामा बनाइएको छ र बन्नेक्रममा पनि छन् ।

सहिदको सम्झनामा चित्र, मूर्ति तथा स्मारक बनाउने कलाकारमा अमर चित्रकार, बालकृष्ण तुलाधर, टेकवीर मुखिया, लय मैनाली, रवीन्द्र ज्यापु, नारदमणि हार्तम्छाली, रामकृष्ण भण्डारी, राजन काफ्ले, लक्ष्मण भुजेल, गंगाधर सारु, अग्निराज पौडेल, बिक्रमश्री, नरेन्द्रप्रसाद भण्डारी, पृथ्वीनारायण श्रेष्ठ, गोविन्द चौधरी, भुवन थापा, विष्णुप्रसाद श्रेष्ठ, धनु याख्खा, लालकाजी लामा, सुर्य मध्यरात, कमला श्रेष्ठलगायतका सयौंको योगदान रहेको छ ।

यी कलाकारले चित्र, मूर्ति, स्मारक, दृष्टान्तचित्र आदिमा सहिदका आकृति र व्यक्तित्व बनाइ उनीहरुको योगदानलाई युगौँयुगसम्म जीवन्त बनाउन सहयोग गरेका छन् । यी कलाकारले २००७, २०४६, २०५२ र २०६२÷०६३ सालमा भएका संघर्षमा बलिदान दिएका सहिदका थुप्रै कलाकृति बनाएका छन् । कलाकार राजन काफ्लेले दोस्रो जनआन्दोलन २०६२÷०६३ का सहिदका चित्र बनाएका छन् । उनले २५ जना सहिदको चित्र बनाएको बताउँदै भने, ‘सहिदका कलाकृति बनाए पनि यिनको सही ढंगले प्रतिस्थापन गर्न सकिएको छैन ।’ सहिदका चित्रलाई संग्रहालय बनाएर राख्नुपर्ने बताउँदै कलाकार काफ्ले भन्छन्, ‘नेपाली समाजको राजनीतिक परिवर्तनका लागि बलिदान दिने सहिदलाई उचित ढंगले सम्बोधन गर्न उनीहरुका चित्र तथा मूर्ति लगायतका कलाकृतिलाई सार्वजनिक स्थलमा राखेर सम्झिनुपर्छ ।’

यसैगरी अग्रज कलाकार टेकवीर मुखियाले १९९७ सालका चार सहिद, त्यसयताका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनमा बलिदान दिएका विभिन्न सहिदको चित्र बनाएका छन् । नेपाली समाजमा सहिदहरुले दिएको योगदानका कारण परिवर्तन सम्भव भएको मूर्तिकार रामकृष्ण भण्डारीले बताउँछन् । उनी भन्छन्, ‘देशका लागि उज्यालो बाटो देखाउने सहिदलाई सबै जनताले सम्मान जनाउनका लागि पनि उचित स्थानमा शालिक तथा स्मारक बनाउनुपर्दछ ।’ सहिदलाई उचित सम्मान गर्न नसकिए राष्ट्रप्रतिको सम्मानमा जागरण आउन नसक्नेमा भण्डारीले जोड दिए । भण्डारीले दर्जनौं सहिदका शालिक बनाएका छन् । उनले २०४६ सालका सहिदका धेरै शालिक बनाएको बताए ।

नेपाली समाजको राजनीतिक परिवर्तनका लागि बलिदान दिने सहिदलाई उचित ढंगले सम्बोधन गर्न उनीहरुका चित्र तथा मूर्तिलगायतका कलाकृतिलाई सार्वजनिक स्थलमा राखेर सम्झिनुपर्छ ।

सहिदका चित्र तथा मूर्ति बनाउने कलाकारका रुपमा नारदमणि हार्तम्छालीको नाम पनि आउँछ । उनले कोटेश्वरस्थित पेरिसडाँडामा बनाएको स्मारकीय कला निकै आकर्षक र कलात्मक छ । देशका निम्ति उत्सर्ग दिने ज्ञात अज्ञात सबै सहिदलाई स्मारकीय मूर्तिमा समेटेको हार्तम्छालीले बताए । आन्दोलनको झल्को दिने गरी सुखानीका सहिदको मूर्ति कलाकार लक्ष्मण भुजेल र गंगाधर सारुले बनाएका हुन् । जुन कला निकै ओजपूर्ण र आवेगात्मक छ ।

सप्ताहव्यापी सहिद सम्झना
देश र जनताको मुक्तिका लागि बलिदान दिने सहिदको सम्झनामा सरकारले माघ १० गतेदेखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाउँदै आएको छ । सहिदहरुको सम्झनामा विविध कार्यक्रम गरी सहिद सप्ताह सुरु गरिएको छ । काठमाडौं महानगरका अनुसार कोरोना संक्रमणका कारण यस वर्ष औपचारिक रूपमा सभा आयोजना नगरिएको हो ।
सहिद सप्ताहको पहिलो दिन सोमबार काठमाडौंको टेकु पचलीस्थित सहिद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुष्पगुच्छा अर्पण गरिएको छ ।

काठमाडौं महानगरका मेयर एवं सहिद सप्ताह मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले शास्त्रीको सालिकमा पुष्पगुच्छा अर्पण गरे । काठमाडौंको टेकु पचलीलाई २०३५ सालमा तत्कालीन काठमाडौं नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो । महानगर प्रमुख शाक्यले कार्यक्रमको स्वरूप परिवर्तन गरेर सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिइएको बताए । यस वर्ष माघ १६ गते बिहान ९ बजे लैनचौरको सहिद स्मारकमा ज्ञात अज्ञात सहिदको सम्झनामा संक्षिप्त स्मृति कार्यक्रम आयोजना गर्न लागेको महानगरले जनाएको छ ।

राणाविरोधी आन्दोलनमा लागेका कारण विसं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित पचली, माघ १३ गते धर्मभक्त माथेमालाई सिफल तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । सो घटनाको सम्झना गर्दै विसं २०१२ सालदेखि हरेक वर्ष १० माघदेखि १६ गतेसम्म सप्ताहव्यापी रुपमा कार्यक्रम गर्न थालिएको हो । राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमशेर लगायतको भारदारीसभाले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधानलाई १९९७ माघ ७ गते सिंहदरबारमा सर्वस्वसहित ज्यान सजायको फैसला सुनाएको थियो । पूर्णनारायणलाई भने पछि आजन्मकैदको फैसला गरियो ।

सरकारसँगै छैन सहिदको तथ्यांक
जनताको न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदको यकिन तथ्यांक सरकारसँग पनि छैन । साथै नेपालका आन्दोलनमा सहादत प्राप्त गरेकामध्ये कसलाई सहिद भन्नेमा बारेमा समोत सरकारले अझै स्पष्ट मापदण्ड बनाउन सकेको छैन । पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने व्यक्तित्व, दश वर्षसम्म चलेको माओवादी जनयुद्ध, २०६२/६३ को जनआन्दोलन, मधेस, थारु तथा अन्य विभिन्न आन्दोलनमा प्राण दिएका कति व्यक्ति सहिद भए त्यसको तथ्यांक सरकारसँग हालसम्म छैन । न्यायपूर्ण आन्दोलन र मुलुकका लागि प्राण आहुति दिने कति व्यक्ति सहिद भए भन्ने स्पष्ट तथ्यांक राज्यसँग नहुनु निकै दुखद कुरा हो ।

गृह मन्त्रालयका अनुसार विसं २०४६ को जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ जना सहिदका परिवारलाई सम्मानस्वरुप सरकारले जनही एक लाख आर्थिक सहयोग गरेको थियो । सहिदका विषयमा विवाद उठेपछि सरकारले २०६२÷६३ सालको जनआन्दोलनपछि दुई आयोगसमेत बनाएको थियो ।नवराज सुवेदी र मोदनाथ प्रश्रितको संयोजकत्वमा सहिदको मापदण्ड बनाउन फरक फरक दुई आयोग बनाइएको थियो । ती आयोगले दिएका प्रतिवेदनसमेत अहिलेसम्म कार्यान्वयनमा आउन सकेका छैन । यस्तै, सरकारले पछिल्लो मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिलाई सहिद घोषणा गर्न आयोग समेत गठन गरेको थियो ।

प्रतिक्रिया