राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनका सबै उम्मेदवार विजयी

बुटवल । राष्ट्रियसभा सदस्यको लागि लुम्बिनी प्रदेशमा भएको मतदानमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । निर्वाचनका लागि पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा थियो ।

लुम्बिनी प्रदेशका तीन सिटको लागि भएको निर्वाचनमा तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा विजयी भएका हुन् ।

एमालेको तर्फबाट उम्मेदवारी दिएका दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार पराजित भएका छन् । गठबन्धनका उम्मेदवारले चार हजार तीन सय ७४ मतभार प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले दुई हजार तीन सय १२ मतभार प्राप्त गरेका छन् । बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह तीन बजे सकिएको थियो ।

आगामी २० फागुनमा १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदै छ । जसमा लुम्बिनी प्रदेशबाट कोमल ओली, दीर्घनारायण पाण्डे र रामलखन चमारको चार बर्षे कार्यकाल सकिदैछ ।

लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र एक सय नौ स्थानीय तहका प्रमुख र उपप्रमुख दुई सय १५ जना गरी दुई सय ९६ मतदाता थिए । प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ निर्धारण गरिएको थियो ।

प्रतिक्रिया