थापाको गीतमा प्रेमकहानी

काठमाडौं । गीतकार घनबहादुर थापाको ‘तिमीलाई नै’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक किरण भुजेल र गायिका मेलिना मैनालीको युगल आवाज रहेको गीतमा प्रेमभावलाई कलात्मक रुपमा उधिनिएको छ । गीतमा दीपकराज विश्वकर्माको संगीत तथा भिडियो निर्देशन रहेको छ ।

आकाश खसोस, धर्ती फाटोस्
घाम रोकियोस् चाहे जुन रोकियोस्
तर हाम्रो माया…कहिलै नफाटोस्…

थापाको हालै सार्वजनिक गीत ‘तिमीलाई नै’ का यी शब्दले अटुट प्रेमको भावनालाई चित्रण गरेको छ । प्रेमको खोजी र यसको प्राप्ति सहजै हुने कुरा होइन । संसारमा बनेका हरेक जोडी आत्मियता कै खोजीका क्रममा बाँधिएका हुन्छन् । यस गीतले पनि यस्तै प्रेमको परिभाषा बोल्छ । मन मिल्ने साथी भेटिएपछि उनीहरू त्यो साथ कहिल्यै टुटाउन चाहँदैनन् । समातिएको एक अर्काको हात आपसबाट कहिल्यै छुटाउन चाहँदैनन्, चाहे त्यो बेलामा जस्तोसुकै विपत्ति किन नआओस् । यही भाव गीतका शब्दले खोल्छ ।

कति घुमे खण्डहर, भेटिन्छ कि रारा भनी
कति जागे रात भर, आकाशका तारा गनी
यस्तो त्याग तपस्याले, तिम्रो आधार खोजेको छु
जुनी जुनी साथै बस्न तिमीलाई नै रोजेको छु

जीवनको त्याग र तपस्यापछि भेटिएको मान्छेलाई आफूबाट टाढा राख्न नसकिने तर्क पनि गीतमार्फत अभिव्यक्त गरिएको गीतकार थापाले बताए । पहिलो मायाको पहिलो अनुभव सङ्गाल्ने भाका फुराएको गीतमा कलिलो माया गाँसिदाका अप्ठेरा अनि रमाइला पल समेटिएको छ । गीतकार थापाले आजकल समाजमा स्वार्थ बढेको बताउँदै स्वार्थी प्रेममा युगल जोडी गाँजिएको र पछि विच्छेदका घटना बढ्ेको सुनाए । उनले यसलाई रोक्नुपर्ने अभिभारा हाम्रो काँधमा छ भन्ने सोच पलाएर गीत तयार पारिएको जिकिर गरे । उनले भने, ‘अनेकौं मोड छिचोलेर र कयौँ ठक्कर खाएर स्थापित प्रेमसम्बन्ध जोगाउन अहिले कठिन भइरहेको छ । ठूलो त्यागले जोडिएको सम्बन्ध नटुटोस्, हजारौंबाट छानेर भएको मिलन आकाश–धर्ती फाटे पनि फाट्नुहुन्न भन्ने कल्पना आयो, अनि शब्द उनें ।’

प्रहरी निरीक्षक थापा कविता, कथा लगायतका साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन् । उनले यसपाली कलाकार (गीतकार) का रुपमा आफूलाई चिनाएका छन् । ‘इनाक्षी इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोमा गायक÷गायिका स्वयंको अभिनय छ । केशवराज भट्टको कोरियोग्राफी, डिन्सन शाहको सम्पादन, अनिता ग्वाछाको शृंगार र अमन बडूको छायांकनमा भिडियो तयार गरिएको हो ।

काठमाडौंको साँखु क्षेत्रका प्राकृतिक दृश्य भिडियोमा समावेश गरिएको छ । युवायुवतीको प्रेम र दम्पत्तिले वैवाहिक सम्बन्ध दीगो राख्ने कामना गरिएको गीतले समाजमा सकारात्मक सन्देश छरेको छ । निर्देशक दिपकराज विश्वकर्माले फिल्मी शैलीमा गीतको भिडियो बनाएको बताए । उनले भने, ‘गीतको शब्द रचना, संगीत, स्वर र रमणीय क्षेत्रका दृश्यले दर्शकलाई तान्ने प्रयास गरेको छ ।’ छोटो समयमा गीतले एक लाख ५४ हजार भ्युज पाएको छ ।

प्रतिक्रिया