छानिए जातीय विभेदविरोधी चलचित्र

काठमाडौं । जातीय विभेदविरुद्ध घोषणा गरिएको लघुचलचित्र प्रतियोगितामा २० चलचित्र छानिएका छन् । नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडिपीसँग मिलेर उक्त प्रतियोगिताको आयोजना गरेका हुन् । ६ सदस्य रहेको निर्णायक मण्डलले जातीय विभेद र उन्मुलनका बारेमा बनाइएका २० लघुचलचित्रको प्रारम्भिक चरणको छनोट गरेको हो । निर्देशक समाज र युनडिपीले जातप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा तीन मिनेटभित्र प्रस्तुत गर्नुपर्ने सूचना प्रकाशित गरेको थियो । मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, अग्रज कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडिपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल रहेको निर्णायक मण्डलले प्राप्त चलचित्रमध्येबाट २० वटा छानेको हो ।

निर्देशक समाजका महासचिव पराजुलीका अनुसार ५६ वटा प्राप्त चलचित्रबाट २० छानिएको हो । छनोटमा परेका चलचित्रमा सुरेन्द्र प्रजापतिको ‘शून्य’, सुदन सिंह ठकुरीको ‘सेम’, वाशिष्ठ प्रधानको ‘दि बास्केट’, सराना श्रेष्ठको ‘सामना’, बालकृष्ण बंशीको ‘पुमावाङगु म्हगास’, राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’, अतीन श्रेष्ठको ‘म स्वयं नेपाली’, हाफटाइम क्रिएसनको ‘पीडा’, रनधीर श्रेष्ठको ‘परी’, साफुको ‘म म नै हुँ’, आशिष शर्मा पंगेनीको ‘क ख ग घ’, छिन्नमस्ता फिल्मस्को ‘आइ एम नट ह्युमन’, नगेन्द्र राईको ‘हि इज माई गड’, मेरियन राजभण्डारीको ‘गंगा’, सन्तोष सरकारको ‘फू’, काव्यालय प्रडक्सनको ‘चेत’, विनोद पुडासैनीको ‘भगवान सबैको’, शर्मा क्रिएसनको ‘अछोप’, प्रतीक सिंह एन्ड टिमको ‘ब्याटल अगेन्स्ट डिस्क्रिमिनेसन’, प्रकाश सुब्बाको ‘फ्लावर’ रहेका छन् । आयोजकका अनुसार छनोटमा परेका यी चलचित्र दुई हप्ता दर्शकको अवलोकनका लागि सामाजिक सञ्जालमा राखिएको छ ।

चलचित्रले पाउने दर्शक तथा प्रतिक्रिया एवं निर्णायकको निर्णयका आधारमा बिजेता घोषणा गर्ने जनाइएको छ । दर्शकले दिने प्रतिक्रियाको अंकभार ५० प्रतिशत र ५० प्रतिशत निर्णायकको रहनेछ । प्रतियोगितामा पहिलो हुने चलचित्रले दुई लाख, दोस्रो हुनेले एक लाख ५० हजार र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया