यातायात व्यवसायीको हास्यास्पद कुतर्क

कोरोना संक्रमणवृद्धिदरलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातीदेखि उपत्यकामा चल्ने सवारी साधनहरूमा जोरबिजोर प्रणाली लागू गरेका छन् । भिडभाड नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली लागू गरिएको हो । कोराना संक्रमणको तेस्रो लहर देशका कुनाकाप्चामा पुगिसके पनि राजधानी काठमाडौं उपत्यकाको संक्रमणवृद्धि भने निकै भयावह छ । दैनिक थपिने नयाँ संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाकै छन् । जबकी नेपालको कुल जनसंख्यामा काठमाडौं उपत्यकाको हिस्सा १५ प्रतिशतको हाराहारीमा मात्रै छ । शुक्रबार रातीदेखि लागू गरिएको जोरबिजोर प्रणालीले काठमाडौं उपत्यकाको भिडभाडमा उल्लेख्य कमी आएको छ । तर सार्वजनिक यातायातका साधनमा गुन्द्रक खाँदे भैmँ यात्रुहरू कोच्ने विकृतिलाई नियन्त्रणमा लिन प्रहरीले अझै सकेको छैन । काठमाडौंमा मात्रै २६ भन्दा धेरै प्वाइन्ट बनाएर अनुगमन गरिएको दावी प्रहरीको छ, तर प्रहरीले जोरबिजोरलाई मात्रै अनुगमन गरेको देखिएको छ, यात्रुहरू कोच्ने समस्याप्रति प्रहरीले वास्ता गरेको देखिएको छैन ।

संकटका बेला आफ्नो स्वार्थ त्यागेर एकअर्कालाई सहयोग गर्नु सबै नागरिकको दायित्व हो, तर यतिबेला यातायात व्यवसायीहरूले अनेकथरी निहुँ निकालेर यो दायित्वबाट पन्छेका छन् । सकभर जोरबिजोर प्रणाली लागू नगर्ने पक्षमा यातायात व्यवसायीहरू छन् । जोरबिजोर प्रणाली लागू गर्दा थोरै साधन चल्ने भएकोले यात्रुको भिड बढ्ने र कोरोना संक्रमण झन् बढ्ने तर्क यातायात व्यवसायीहरूले राख्दै आएका छन् । यातायात व्यवसायीहरूको यो तर्कलाई वास्ता नगरी उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले जोरबिजोर प्रणाली लागू गरेका हुन् । तर आफ्नो कुतर्कलाई पुष्टि गर्ने नाममा यातायात व्यवसायीहरूले जानी जानी यात्रुहरू कोचिरहेका छन् ।

यातायातका साधनहरू आधा चल्दा यात्रुको भिड बढ्छ भन्नु हास्यास्पद कुतर्क मात्रै हो । काठमाडौंको मुख्य समस्या भनेको सवारी जाम हो । सवारी जामका कारण चार किलोमिटर दुरी पार गर्न एक घण्टा लाग्ने गरेको छ । तर जोरबिजोर प्रणाली लागू हुनासाथ सवारी जामको समस्या हुँदैन । चार किलोमिटर दुरी १५ मिनेटमा पार हुन्छ । साविको अवस्थामा गन्तव्यमा पुग्न एउटा बसलाई एक घण्टा लाग्थ्यो भने जोरबिजोर प्रणाली लागू भएपछि १५ मिनेटमै गन्तव्यमा पुग्छ । एकपटकको सट्टा चारपटक यात्रु ओसार्न सक्छ । यस्तो स्पष्ट अवस्था हुँदाहुँदै पनि अनेकथरी निहुँ निकालेर यात्रु कोच्ने सार्वजनिक सवारी साधनमाथि कारबाही गर्नुपर्छ ।
यदि यात्रुले सुरक्षित रूपमा मास्क र फेससिल्ड प्रयोग गरेको छ भने संक्रमितसँगै आधा घण्टासम्म बस्दा पनि संक्रमण सर्दैन भन्ने कुरा विज्ञहरूले बताइरहेका छन् ।

अहिले जसरी जोरबिजोर प्रणाली लागू गरिएको छ, त्यसलाई इमानदारीका साथ कार्यान्वयन गर्ने हो भने उपत्यकाका अधिकांश रुटहरूमा आधा घण्टाभन्दा कम समयमै यात्रुहरू गन्तव्यमा पुग्छन् । सडक खाली भए पनि स्टेसनहरूमा लामो समय बस रोकेर यात्रु खाँद्ने प्रवृत्ति नियन्त्रण नगर्ने हो भने जोरबिजोर प्रणाली लागू गर्नुको कुनै औचित्य रहन्न । यसका लागि टाइम कार्डको व्यवस्था गर्न सकिन्छ । सबै स्टेसनमा टाइम कार्ड लागू गर्न नसकिए पनि प्रस्थान रुट र पुग्ने रुटसम्म टाइम कार्डको व्यवस्था गर्ने हो भने यात्रु कोच्ने समस्या स्वतः समाधान हुन्छ, कोरोना संक्रमणको जोखिम पनि स्वतः घट्छ । अत्यावश्यकीय सामान बाहेकको बजार, पार्टी प्यालेस, रेस्टुरेन्ट लगायतका ठाउँहरूमा मानिसको भिड रहरले हुने हो, तर सार्वजनिक यातायातका साधनमा मानिस चढ्ने भनेको रहरले होइन, बाध्यताले हो । यो वाध्यता कोराना संक्रमणको कारक बन्नु हुँदैन ।

प्रतिक्रिया