महालक्ष्मी विकास बैंक ४५ करोड ६२ लाख नाफामा

काठमाडौं । महालक्ष्मी विकास बैंककोे चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल भएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढी रहेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब पुगेको छ । यस आर्थिक वर्ष बैंकले सञ्चालन आम्दानीतर्फ १ अर्ब १० करोड आम्दानी गरी बैंक अर्बको क्लबमा उक्लिएको छ । त्यसैगरी, गत आर्थिक वर्षको पुस मसान्तसम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले वृद्धि गरी खुद सञ्चालन मुनाफा ६८ करोड आर्जन गरेको छ । समीक्षा अवधिमा बैंकले उल्लेख्य रूपमा खराब कर्जा घटाई गत वर्षको ४.७९ प्रतिशतको खराब कर्जालाई २.८९ प्रतिशतमा झार्न सफल भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनी महानुभावलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गर्न सफल बैंकले समग्र वित्तीय विवरणमा उल्लेख्य प्रगति गर्दै आगामी वर्ष पनि आकर्षक लाभांश दिनतर्फ उन्मुख रहेको देखिन्छ ।
देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा १ सय ३ वटा शाखा सञ्जाल रहेको बैंकले ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया