प्रधानमन्त्री देउवाको संवोधन, निरोको बाँसुरी

सत्ताको नेतृत्व गर्ने व्यक्तिको आलोचना गर्नुपर्दा धेरैले प्रयोग गर्ने एउटा उदाहरण हो, ‘रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ ।’ हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवाले गत शुक्रबार देशवासीका नाममा गरेको संवोधन रोम जलिरहँदा त्यहाँको शासक निरोले बा“सुरी बजाइरहेको उदाहरणसँग करिबकरिब मिल्दोजुल्दो छ । कुरा नचपाई भन्नुपर्दा यतिबेला हाम्रो मुलुक धेरै कोणबाट भयावहको अवस्थामा छ । मुलुक भयावहको अवस्थामा रहेकै बेला प्रधानमन्त्री देउवाले देशवासीका नाममा संवोधन गर्ने समाचार आयो । यस्तो बेलामा प्रधानमन्त्रीबाट केही न केही नयाँ कुरा आउला भन्ने आशमा जनताले पनि ध्यान आकृष्ठ गर्नु स्वभाविक हो । तर प्रधानमन्त्री देउवाको वक्तव्य सुन्दा यस्तो लाग्यो कि, ‘मुलुकमा कुनै संकट नै छैन, देउवा प्रधानमन्त्री भएपछि त मुलुकले सबै क्षेत्रमा तरक्की नै तरक्की गरेको छ ।’ प्रधानमन्त्री देउवा देशमा विद्यमान तथा उत्पन्न समस्याप्रति बेखबर हुन् या जनताले हेपेर उनले यस्तो संवोधन गरेका हुन् ? भन्ने प्रश्नलाई सामान्य रूपमा लिन मिल्दैन ।

यतिबेला जल्दोबल्दो रूपमा रहेको कोरानाकै समस्यालाई लिउँ । आर्थिक अभावमा जनता परीक्षण गर्न नै जान छाडेका छन्, बिरामी जनता अस्पताल जान छाडेका छन् । पिसिआर गरेकामध्ये करिब ६० प्रतिशतमा कोराना पोजेटिभ देखिएको छ । औषधि पसलहरूमा सिटामोलसमेत छैन । ६० प्रतिशत जनता अझै पनि खोप लगाउनबाट वञ्चित रहेको कुरा प्रधानमन्त्री देउवाले वक्तव्यमा नै उल्लेख गरेका छन्, तर प्रधानमन्त्रीले संवोधन गरेकै दिनदेखि सरकारले अत्यावश्यकीय सेवा लिन जा“दासमेत खोप कार्ड अनिवार्य गरेको छ । अब ६० प्रतिशत जनताले अत्यावश्यकीय सेवा नलिने त ? भन्ने प्रश्नलाई नजरअन्दाज गर्न मिल्दैन । सरकारले दैनिक १ लाख ६० हजारलाई खोप लगाउने गरेको तथ्यांकमा देखिन्छ ।

यस हिसाबले पूर्ण मात्रा खोप लगाइसक्न अझै चार महिना लाग्ने स्पष्ट छ । खोप केन्द्रमा देखिएको भिडभाड हेर्ने हो भने खोप केन्द्र नै संक्रमणको थलो बनिरहेका छन् । तर, खोप केन्द्रको बिस्तार गर्ने, नागरिकहरूलाई सहज र सरल ढंगले खोपप्राप्त गर्ने वातावरण बनाउने र वृद्धवृद्धा, गर्भवती महिला, बालबालिका, अपांग, र अशक्तहरूलाई घरघरमै खोप सेवा पु¥याउने कार्य योजना प्रधानमन्त्री देउवाको वक्तव्यमा छैन । गायब २४ लाख डोजको खोजीनीति गर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने, लाखौँ नागरिकले पाउनुपर्ने कोरोना बिमा बापतको रकम बिमितहरूले कहिले पाउ“छन् ? एक शब्द पनि बोलिएको छैन ।

संवोधनका क्रममा प्रधानमन्त्री देउवाले अबको एक वर्षभित्र तीन वटै तहको निर्वाचन गराइसक्नुपर्ने संविधानमा रहेको व्यवस्था उल्लेख गर्न छुटाएनन्, तर संविधानले निर्धारण गरेको यो दायित्व वर्तमान सरकारले पूरा गर्न सक्छ भनेर जनताले पत्याउने आधार प्रस्तुत गर्न सकेनन् । कोरोनाविरुद्ध खोप लगाउने गति यस्तै हुने हो र खोप केन्द्रहरू यसरी नै संक्रमण वृद्धिको कारक बनिरहने हो भने आगामी जेठभित्र स्थानीयतहको निर्वाचन संभव छैन । त्यसपछि त वर्षा सिजन सुरु भइहाल्छ, अनि दसैँतिहारजस्ता चाडपर्व सुरु भइहाल्छ । अनि कसरी संभव हुन्छ अबको एक वर्षभित्र तीन वटै तहको निर्वाचन ? कात्तिकदेखि नै सुरु हुनुपर्ने मेलम्ची खानेपानी आयोजना मर्मतको काम अझै सुरु भएको छैन ।

रकमको अभावमा काठमाडौं–निजगढ द्रुतमार्गलगायत राष्ट्रिय गौरवका कैयौँ आयोजनाको काम अघि बढ्न सकेको छैन । मुलुकको अर्थतन्त्र इतिहासमै सबैभन्दा संकटपूर्ण बनिसकेको छ । तर प्रधानमन्त्री देउवाले विकास निर्माणले गतिलिएको दावी आफ्नो वक्तव्यमा उल्लेख गरे । परराष्ट्र मामिलाको कुरा गर्ने हो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमी लिम्पियाधुरामा सडक निर्माणको काम सम्पन्न गर्न लागेको सार्वजनिक रूपमा बताइसक्दा त्यो भूमि हाम्रो हो भनेर पत्र पठाउने हिम्मत पनि प्रधानमन्त्री देउवाले जुटाउन सकेका छैनन् । न छिमेकी मुलुक चीनसँग संबन्ध सुधार गर्न सरकारले सकेको छ ।

अमेरिकासँगको संबन्धसमेत बिग्रेको छ । अधिकांश मुलुकहरू राजदूतविहीन छन् । भ्रष्टाचारका नयाँनयाँ प्रकरणहरू सतहमा आएका छन् । कम्तिमा पनि वर्तमान प्रधानमन्त्री देउवाले पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो देश र जनतासामु झुठो बोल्दैनन् भन्ने जनविश्वास थियो । तर देउवाले शुक्रबारदेखि त्यो जनविश्वास पनि गुमाएका छन् ।

प्रतिक्रिया