सात महिनादेखि सडक अवरुद्ध : समस्यामा सर्वसाधारण

म्याग्दी । सड्क बाढीले बगाएको निकै लामो समय बितिसक्दा पनि यसतर्फ सम्बन्धित निकायको ध्यान नगएपछि पर्वतको जलजला गाउँपालिकाको बगरफाँटका बासिन्दा समस्यामा परेका छन् । बगरफाँट जोड्ने सडक बाढीले बगाएपछि सवारी साधनमार्फत यात्रा र सामान ढुवानी गर्न आठ किलोमिटर दूरीको घुमाउरो सडक प्रयोग गर्न स्थानीय बाध्य छन् ।

कालीगण्डकीमा आएको बाढीले गत असारमा माटेपानीमा एक सय मिटर सडक कटान गरेर बगाएपछि बेनीदेखि बगरफाँट जोड्ने सडक सात महिनादेखि अवरुद्ध छ । पहाडको फेदीमा बाँध बनाएर सडक बनाउँदा म्याग्दीतर्फ कटान हुने र बाढीले सडक बगाएर लगानी खेर जाने भएपछि हालसम्म सडक पुनःनिर्माण हुन सकेको छैन ।

यसअघि पनि बर्सेनि हिउँदमा सडक बनाउने र बर्खामा बाढीले बगाउने गरेको थियो । तीन सयभन्दा बढी घरधुरीको बसोबास रहेको जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बगरफाँटका बासिन्दाले म्याग्दी आवतजावतका लागि प्रयोग गर्दै आएको कालीपुल जोड्ने झोलुङ्गेपुलको पनि लट्ठा खिया लागेर छिन्ने अवस्थामा छ ।

झोलुङ्गे पुलबाट आवतजावत गरे पनि निर्माण सामग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न समस्या परिरहेको स्थानीयको गुनासो छ । एक बोरा सामान पुल तारेको भरियालाई एक सय रुपैयाँभन्दा बढी तिर्नुपर्छ । बिरामीलाई अस्पताल पु¥याउन डोको र स्टेचरमा बोक्नुपर्ने बाध्यता छ ।

बगरफाँटमा बसोबास गर्ने अधिकांश म्याग्दीका विद्यार्थी, व्यवसायी, कर्मचारी र सर्वसाधारण छन् । प्राविधिक हिसाबले माटेपानीको भिरमा सडक निर्माण सम्भव नदेखिएपछि कालीपुलदेखि बगरफाँट जोड्ने पक्की मोटरेबल पुल र बेलिब्रिज जडानका लागि पहल गरिएको जलजला गाउँपालिका–३ का वडाध्यक्ष रबि भण्डारीले बताउँछन् ।

प्रतिक्रिया