पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिमार्फत् २० हजार १८७ नमूना परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ४६२ नमूनाको पीसीआर र पाँच हजार ७२५ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणबाट आठ हजार २१२ र एन्टिजेन परीक्षणबाट दुई हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरी १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ७०८ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।

प्रतिक्रिया