राउतप्रति मन्त्री यादव आक्रोशित : अर्को गौर नरसंहार मच्चाउने चेतावनी

काठमाडौं । भौतिक पूर्वाधार मन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादव जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति आक्रोशित बनेकी छन् । बुधबार मधेश बलिदान दिवसका अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रममा राउतप्रति आक्रोशित बनेकी हुन् ।

राउतले फणा उठाएमा अर्को गौर नरसंहार मच्चाउने चेतावनी मन्त्री यादवले दिएकी हुन् । मन्त्री यादवले आफुहरू बलिदानी दिवस मनाउन आएकाले हिंसा नगर्ने भन्दै आफु भोलि यहाँको सडकको अवस्था अवलोकन गर्ने बताएकी थिइन् । उनले भनिन,’राइस मिल अहिले पनि जिवित छ । गौरमा फणा देखाउने प्रयास नगर । यहाँ लाठी भाँच्‍न मानिसले जानेका छन् । तुफानसँग टकराउने प्रयास नगरे हुन्छ । यो गौर ऐतिहासिक जिल्ला हो । बलिदानी दिवसमा हिंसा गर्नु छैन, आज हामी बलिदानी दिवस मनाउन आएका छौं, भोलि म यहाँको सडकको अवस्था अवलोकन गर्नेछु’ यादवले भनेकी छन् ।

‘तुफानसँग टकराउने प्रयास गर्‍यो भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । त्यो इतिहास डाक्टर साब (सिके राउत) ले नभुलुन् । नत्र तपाईँका कार्यकर्ता मारिन्छन्, तपाईँले पनि घेराबन्दी गरेर मारिदिन्छन् । हत्या हुन्छ, सतर्क रहनुस्’ मन्त्री यादवले भनिन् ‘डाक्टरसाबलाई म चेतावनी दिन्छ, यदि कलेजोमा ताकत छ, गाई भैंसीको दूध खाएको छ भने सिंहदरबारमा गएर घेराउन गर्नुस् । तर, जसको नसमा गाई र भैँसीको दूधको रगत बगेको छ यसलाई फासफुस कहिल्यै पनि हुँदैन, लड्ने प्रयास नगर्दा बेस हुन्छ ।’

प्रतिक्रिया