गण्डकी प्रदेशस्तरीय नाटक महोत्सव

पर्वत । गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव हुने भएको छ । पोखरा थिएटरको आयोजनामा हुन लागेको दोस्रो संस्करणको महोत्सवमा अन्तिम चरणका लागि १२ नाटक छनोट भएका छन् । गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको लागि प्राप्त २४ नाटकमध्ये पहिलो चरणमा १६ नाटक छनोट गरिएको पोखरा थिएटरले जनाएको छ । छनोटमा परेका १६ मध्येबाट १२ नाटक छनोट गरिएको हो ।

महोत्सव संयोजकसमेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक छनोटका लागि कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेको ३ सदस्यीय निर्णायक समिति बनाएको जानकारी दिए । उनले भने, ‘नाटक छनोटका लागि पुस २६ गतेदेखि माघ २ गतेसम्म विभिन्न जिल्लामा गएर अवलोकन गरिएको थियो । यसअघि अन्तिम चरणमा १० नाटक छनोट गर्ने भनिए पनि नाटकको प्रस्तुतिका आधारमा थप दुई नाटकलाई प्रोत्साहनस्वरूप छानिएको हो ।’

परिवर्तनका अनुसार निर्णायक समितिले सम्बन्धित ठाउँमा पुगेर नाटकको अवलोकन गरी उत्कृष्ट १२ छनोट गरेका हुन् । अन्तिम चरणको प्रतिस्पर्धाका लागि नवलपुरबाट तीन नाटक छनोटमा परेका छन् । लीलाबहादुर भण्डारीको लेखन तथा निर्देशनमा कुमारी आधारभूत विद्यालयको ‘हराएको खुसी’, खगराज सापकोटाको लेखन तथा निर्देशनमा त्रिभुवन बाल माविको ‘जिम्मेवार कोरु’ र अनामिका सापकोटाको लेखन तथा कमला कँडेलको निर्देशनमा बरचुली माविको ‘सक्षम छात्रा’ को नाटक रहेका छन् । कास्कीबाट मनोज अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवासीय माविको ‘शान्तिको अशान्ति’ र सुनिता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको ‘आरोह अवरोह’ रहेका छन् ।

लमजुङबाट भरत रानाको लेखन तथा निर्देशनमा युनिभर्सल एकेडेमीको ‘धनबहादुर’ र सूर्यबहादुर केसीको लेखन तथा पशुपति न्यौपानेको निर्देशनमा विद्याज्योति मावि सुन्दरबजारको ‘जिउँदा लासहरू’ नाटक छानिएका छन् । तनहुँबाट टुकादेवी पौडेलको लेखन तथा निर्देशनमा पञ्चमुनिदेव माविको ‘नाम बिनाको चिर्कटो’, गोरखाबाट अनिता देसाईको लेखन तथा सुरेन्द्र देवकोटाको नाट्य रूपान्तरण एवं निर्देशनमा शक्ति माविको ‘एक समर्पित छोरा’ छनोटमा परेका छन् । म्याग्दीबाट कर्ण बस्यालको लेखन र रामचन्द्र पौड्यालको निर्देशनको बेनी सामुदायिक माविको ‘बाल विवाह, बागलुङबाट जीवननाथ शर्मा रेग्मीको लेखन तथा अर्जुन थापाको निर्देशन रहेको कालीगण्डकी आवासीय माविको ‘विदेसिनु पर्दाको पीडा’, पर्वतबाट मिना रेग्मीले लेखन र रेजिना मल्लको निर्देशन रहेको न्यु होराइजन आवासीय माविको ‘मेरो समाजमा नारी’ नाटक छनोटमा परेको छ ।

कोरोना संक्रमण बढेसँगै छनोटमा परेका नाटकको मञ्चन मिति भने पछाडि सरेको पोखरा थिएटरले जनाएको छ । यसअघि ११ माघदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिने जनाएको महोत्सव संक्रमण बढेसँगै सारिएको हो । थिएटरका अनुसार परिस्थिति अनुकूल हुनेबित्तिकै नयाँ मिति तय हुनेछ ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौं र पोखरा प्रज्ञा प्रतिष्ठान पोखराको सहकार्य उक्त महोत्सव गर्न लागिएको हो । ‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ मूल मन्त्रसहित आयोजना गरिएको महोत्सवको उद्देश्य विद्यालय तहसम्मै नाटकलाई पु¥याउनु रहेको छ । गत वर्षदेखि पोखरा थिएटरले गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको आयोजना गर्न थालेको हो । त्यसअघि थिएटरले पोखरा महानगरपालिकास्तरीय नाटक महोत्सवसमेत आयोजना गरेको थियो ।

प्रतिक्रिया