पुस्तकमा तनहुँसुर

तनहुँ । ऐतिहासिकस्थल तनहुँसुरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पक्ष समेटिएको पुस्तक तनहुँसुर र सेरोफेरो पुस्तक सार्वजानिक भएको छ । लेखक देव बस्न्यातद्वारा संकलित र लिलामान सिंह बस्न्यात स्मृति प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तकको शनिबार समाजसेवी एक सय वर्षीय भीमबहादुर बस्नेतले विमोचन गरे । तनहुँसुरका सेनवंशीय राजाहरूको वंशावली, उनीहरूले मान्दै आएका धार्मिक सांस्कृतिक पर्यटनस्थलको विकासमा हामीले निर्वाह गर्नुपर्ने भूमिका, तनहुँ जिल्लाका साहित्यकारबाट प्रकाशित कृतिहरू र अन्य विविध विषयका सम्बन्धित घटनाहरूलाई आधार मानेर लेखिएका लेख तथा रचनाहरू सँगालेर पुस्तक लेखिएको बस्न्यातले जानकारी दिए । ‘पत्रपत्रिकाहरूमा प्रकाशित लेखहरूमध्येको एउटा सँगालोको परिणति हो तनहुँसुर र सेरोफेरो । पुस्तक लेखन तथा प्रकाशनका विषयमा एकल प्रयासबाट सम्पन्न गर्ने प्रयास गरेको हो,’ उनले भने । विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका रचनालाई संकलित गरेर तनहुँसुरको नालीबेली समेटिएको तनहुँसुर सेरोफेरो पुस्तक प्रकाशन सम्भव भएको लेखक बस्न्यातले बताए । तनहुँसुर र यसको सेरोफेरोको सामाजिक, धार्मिक र पर्यटकीय स्थानको अध्ययन–अनुसन्धानमा खटिने विद्यार्थीका लागि पनि यो कृति सहायक सिद्ध हुने विश्वास गरिएको लिलामानसिंह बस्न्यात स्मृति प्रतिष्ठानका संरक्षक रामचन्द्र बस्न्यातले बताए ।

पुस्तकमा ऐतिहासिक सेनकालीन जिल्लाका मठमन्दिर र चाडपर्वका विषयसमेत समेट्ने प्रयास गरिएको छ । पुस्तकमा जिल्लाको ऐतिहासिक परिचय, तनहुँको ढुकुटी घर र राजा कामारीदत्त सेनबीचको अन्तरसम्बन्ध, दसैँ परिचय र दुर्गोत्सव पर्वको आरम्भता, तनहुँसुर दरबारको दुर्गोत्सव पर्वको तयारीका प्रथम प्रयास, तनहुँसुर कालिकामाई मन्दिरमा गरिने फूलपाती शोभायात्रा, तनहुँसुरको जारकोटे ढुंगा, तनहुँसुर खड्गदेवी, लोपको संघारमा तनहुँसुरको देवीनाच, तनहुँसुरका महत्वपूर्ण स्थान लगायतका विषय समेटिएका छन् । लेखक बस्न्यातले यसअघि दमौली महात्म्य पुस्तक पनि प्रकाशन गरिसकेका छन् भने व्यास बोली, श्रीपाली बस्न्यात परिचय, गलेखामकोट र सेरोफेरो, मिर्लुङकोट र सेरोफेरो पुस्तक प्रकाशोन्मुख रहेको छ । तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास छ ।

प्रतिक्रिया