यी १० जिल्लामा कोरोनाकाे उच्च संक्रमण

काठामडाैं । कोभिड-१९ को सङ्क्रमण तीव्र रूपमा फैलिएसँग ७७ जिल्लामै कोरोना पुष्टि भएको छ भने १० वटा जिल्लामा उच्च सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकापछि भारतसँग सीमा जोडिएका जिल्लामा कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिन थालेको छ । उच्च सङ्क्रमण भएका १० जिल्लामा मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, कास्की, रुपन्देही र कैलाली छन् ।

शनिबार देशभर सङ्क्रमण पुष्टि भएका चार हजार ६३६ सङ्क्रमितमध्ये दुई तिहाइभन्दा बढी सङ्क्रमित यी १० जिल्लामा भेटिएका छन् । जसमा मोरङमा १०४, सुनसरीमा ११६, काठमाडौंमा एक हजार ५९१, भक्तपुरमा १४२, ललितपुरमा ४८६, चितवनमा २०५, मकवानपुरमा ८३, रुपन्देहीमा ९३ र कैलालीमा १०७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा सङ्क्रमण सबैभन्दा बढी देखिएको छ । निको हुनेभन्दा नयाँ सङ्क्रमितको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या थपिंदै गएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या काठमाडौंमा नौ हजार ६१, ललितपुरमा दुई हजार ३८२ र भक्तपुरमा एक हजार ३७१ पुगेको छ । यो देशभर सक्रिय सङ्क्रमितमध्ये आधाभन्दा बढी हो । देशभर २१ हजार ५८४ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया