शिल्पीलाई ५ कठ्ठा जग्गा

काठमाडौं । कोरोना कहरले नेपाली रंगमञ्च संकटमा परिरहेका बेला शिल्पी थिएटरलाई प्रदेश १ सुन्दरहरैंचा नगरपालिका (मोरङ) ले पाँच कठ्ठा जग्गा उपलब्ध गराएको छ । एक दशकदेखि निरन्तर रंगकर्ममा सक्रिय रहँदै आएको शिल्पी र नगरपालिका प्रतिनिधिले जग्गा प्रदान गरेको हस्ताक्षरसहितको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बुधबार नगरप्रमुख शिवप्रसाद ढकाल र प्रशासकीय अधिकृत विनोदप्रसाद भट्टराई एवं शिल्पीका संस्थापक घिमिरे युवराजले सम्झौता–पत्र हस्ताक्षर गरेका हुन् ।

शिल्पीका संस्थापक घिमिरेले नगरपालिकाले रंगमञ्चलाई महत्व दिएकोमा आफू निकै उत्साहित भएको सुनाए । उनले थिएटरलाई स्थायी ढंगले सञ्चालन गर्नका लागि यसले निकै मद्दत गर्नेमा आफू आशावादी रहेको बताए । उनले भने, ‘भर्खरै नगरपालिकासँग सम्झौता भएको कागज पाएका हौं । यसबाट हामी निकै उत्साहित छौं । रंगमञ्च र कलाप्रति नगरपालिकाले अग्रसरता लिनु उदाहरणीय कार्य हो ।’ घिमिरेका अनुसार शिल्पीलाई नगरसभाले पारित गरेर उपलब्ध गराएको जमिनमा २५० सिट क्षमता भएको नाटकघर बनाइने छ । उनले पाँच सय सिट क्षमता भएको ओपन एयर थिएटरसमेत बनाइने जानकारी दिए ।

घिमिरेले मोरङमा थिएटर बनाउनु भनेको यहाँको कला, संस्कृति, भाषा, सामाजिक परिवेश आदिलाई अझ व्यवस्थित र समृद्ध पार्नु पनि रहेको बताए । उनले भने, ‘मोरङमा स्थानीय सरकारको सहयोगमा नाटकघर बनाउनु भनेको यस क्षेत्रको भाषा, संस्कृति र मौलिकतालाई सम्मान गर्नु पनि हो । यो कार्यले यस क्षेत्रका आममानिसमा रंगमञ्च, कला, संस्कृति तथा मौलिकताप्रति अपनत्व जगाउने भन्ने आशा लिन सकिन्छ ।’ घिमिरेले सुन्दरहरैंचाको यो निर्णयले अन्य स्थानीय सरकारलाई समेत प्रेरित गर्ने जिकिर गरे ।

उनी भन्छन्, ‘प्रदेश १ को सरकार र संस्कृति मन्त्रालयको सहयोगले थिएटरको काम एक वर्षभित्रमा सम्पन्न हुन्छ ।’ उनले पहिला केन्द्रीय सरकारको मुख ताक्नुपथ्र्यो भने अहिले स्थानीय तहबाटै आफ्नो समुदायलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने अभ्यासको रुपमा यसलाई हेनुपर्ने बताए । उनले यसलाई राज्य संघीयतामा गएको उदाहरण मान्न सकिने बताउँदै भने, ‘सांस्कृतिक रूपमा स्थानीय सरकारको निर्णय चल्दा बहुभाषिक, बहुसांस्कृतिक कुराले प्राथमिकता पाउँछ ।’

प्रतिक्रिया