नेताहरू काला व्यापारीका कठपुतली

नारायणहिटी संग्रहालयको जग्गा हिनामिना प्रकरणका एक पात्र आनन्द बतासले सोमबार साँझ एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा निकै डरलाग्दा रहस्यहरू उजागर गरे । प्रमुख राजनीतिक दल तथा तिनका मुख्यमुख्य नेताहरूलाई आफूले नियमित रूपमा आर्थिक सहयोग गर्दै आएको उनले बताए । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ०५७ सालदेखि आफूले आर्थिक सहयोग गरेको बताउँदै प्रधानमन्त्री पत्नी डा. आरजु राणा पनि केही महिना अघिसम्म बतास फाउन्डेसनको सल्लाहकार रहेको जनाए । साथै आफ्ना ससुराका साथी भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ज्वाइँ भन्ने गरेको समेत बताए । राप्रपाका पूर्वअध्यक्ष कमल थापासँग पनि आफ्नो संबन्ध देउवा र ओलीसँगको भन्दा कम नरहेको बताए । तर, राजनीतिक दलका शीर्ष नेताहरूलाई गर्दै आएको आर्थिक सहयोगको रकम खुलाउन भने व्यापारी बतासले चाहेनन् । नेताहरूलाई आर्थिक सहयोग गरेवापत व्यापारीहरूले राज्यका तर्फबाट अवाञ्छित लाभ लिने गरेको चर्चा पछिल्लो समयमा निकै धेरै हुने गरेको छ । पोखराका व्यवसायी बतासले ललितपुर दरबार स्क्वाएरको मुख्य भवन, भारतको सहयोगमा केही वर्षअघि निर्माण भएको पशुपतिको धर्मशालामा निजी व्यवसाय सञ्चालन गरिरहेका छन् । तर, नारायणहिटी राजदरबार संग्रहालय परिसरभित्र व्यवसाय गर्ने बतासको प्रयत्नका विषयलाई लिएर यतिबेला ठूलै खैलाबैला भएको छ । यही खैलाबैलाका कारण व्यापारी बतास यतिबेला विशेष चर्चामा छन् ।

पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका सम्पदामा क्षति पुग्ने गरी निजी क्षेत्रलाई व्यापारको अनुमति दिन हुन्छ कि हुन्न ? भन्ने प्रश्न उठेका कारण यतिबेला नारायणहिटीको जग्गा प्रकरण सतहमा आएको हो । तर, यो प्रकरणमा व्यापारी बतासलाई मात्रै एकोहोरो पेल्नु उचित होइन । उनी त विशुद्ध व्यापारी हुन् । जहाँ धेरै मान्छेहरूको जमघट हुन्छ त्यही ठाउँ व्यापारीहरूले रोज्ने हुन् । व्यपारीहरू पुरातत्व विज्ञ होइनन् । त्यसैले नारायणहिटी दरबार परिसरभित्र व्यापार गर्नका लागि निजी क्षेत्रलाई टेन्डर आह्वान गर्ने सरकारी अधिकारी कुन हो ? छानबिन यहाँबाट थालनी हुनुपर्छ । पर्यटन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी आपैmँले स्वविवेकले यो निर्णय गरेका हुन् कि ? तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको आदेशमा उनले यो काम गरे ? भन्ने प्रश्नको उत्तर शक्तिशाली आयोग बनाएर वयान लिएपछि मात्रै खुल्छ । त्यसो त टेन्डर प्रक्रियाका सन्दर्भमा पनि धेरै प्रश्नहरू उठेका छन् । व्यापारी बतास संलग्न रहेका तीन वटा कम्पनीले मात्रै टेन्डरमा भाग लिएको रहस्य प्रारम्भिक छानविनका क्रममा खुल्नुले पनि धेरै गम्भीर रहस्योद्घाटन भएको छ ।

तर, यस्ता समस्याका मूल जड भनेका राजनीतिकदलका शीर्षनेता नै रहेछन् भन्ने कुरा पुष्टि भएको छ । उदाहरणका लागि नारायणहिटी जग्गा प्रकरणमा मुछिएको व्यापारी बतासले सगौरव भनेका छन्, ‘म नेपाली कांग्रेसको साधारण सदस्य पनि होइन, तर सभापति देउवाले समानुपातिक कोटाबाट सांसद बन्न धेरै नै अनुरोध गर्नुभएको थियो, मैले अस्वीकार गरेँ ।’ देउवाले के का लागि बतासलाई समानुपातिक सांसद बनाउन खोजे त ? देउवा पत्नी राणा केका लागि बतास फाउन्डेसनको सल्लाहकार बनिन् त ? भन्ने प्रश्नको उत्तर कम पेचिलो छैन । व्यापारीहरूसँग कुस्त रकम लिने र त्यस बापत चोरबाटो प्रयोग गरेर कानुनका छिद्रामार्फत राज्यको आर्थिक स्रोत व्यापारीका हातमा सुम्पने अपराध राजनीतिक दलका नेताहरूबाट हुँदै आएको छ ।

व्यापारीसँग लिएको अवैध रकम प्रयोग गरेर पार्टी कब्जा गर्ने र त्यही पैसाले चुनावमा भोट किनेर सत्ता प्राप्त गर्ने दुर्गन्धित चक्र मुलुकमा चलिरहेको छ । यस्तो दुश्चक्रलाई लोकतन्त्र भन्न सर्वसाधारण जनता वाध्य छन् । करिब एक दर्जन काला व्यापारी तथा दलालहरूले सबै प्रमुख पार्टीका शीर्ष नेताहरूलाई आफ्नो कठपुतली बनाइसकेको कहालीलाग्दो अवस्थाबाट हाम्रो मुलुक गुज्रिरहेको छ । यो भयावह अवस्थाबाट मुलुकलाई कसरी निकास दिने ? भन्ने प्रश्न कम पेचिलो छैन ।

प्रतिक्रिया