पारो (मर्करी) : आयुर्वेद, जानकारी विशेष

मोहनप्रसाद सापकोटा

१५औँ शताब्दीमा भावप्रकाशले लेखे ‘पारोले मानिसलाई आकाशमा उड्ने शक्ति प्रदान गर्दछ’ । भाव प्रकाशले जे जति लेखेका छन् ती सबै प्रायः उनीभन्दा अघिका विद्वानले लेखेका ग्रन्थको सार लेखेका छन् । अर्थात् पारोको विषयमा उनीभन्दा अघि नै केही कुरा लेखिसकिएका थिए ।

भावप्रकाश निघण्टुलाई नेपालीमा अनुवाद गर्ने क्रममा उल्लिखित विषयले मेरो दिमागमा केही प्रश्न उठे । पारोको प्रयोगले मानिस आफैं आकाशमा उड्न सक्ने हुने होला कि ? मानिस उड्न सक्ने गरी कुनै यन्त्र बनाउन मिल्ने होला ? अनि मैले आधुनिक विज्ञानका मतहरू हेर्ने निधो गरेँ । करिब तीन घण्टासम्म सामाजिक सञ्जाल चहार्दा मैले भेटेका तथ्य यस्ता रहे :

(१) पारोलाई रकेटको इन्धन बनाउने विषयमा अनुसन्धान भइरहेको । नासाले स्वास्थ्यमा पर्ने असरका कारण सन् ६० को दशकमा यसको प्रयोगलाई रोकेको । हाल फरक ढंगले अनुसन्धान भइरहेको ।

(२) हामीलाई थर्मोमिटरको पारोका बारेमा मात्र थाहा छ तर आयुर्वेदमा हेर्दा पृथ्वीमा भएका सबै खालका ओखतीमध्ये पारो सबैभन्दा उत्तम ओखती हो र यसले सबै खालका निको पार्न कठिन हुने रोग पनि निको पार्दछ भनिएको छ । यसैका आधारमा विश्वभर अनुसन्धानहरू भइरहेका रहेछन् । विविध कारणले गर्दा यस्ता अनुसन्धान प्रायः अत्यन्त गोप्य ढंगले हुँदा रहेछन् । कहिलेकाहीँ कुनै प्रश्न उठ्दा सक्कली वैज्ञानिकलाई अन्ठसन्ठ कुरा बताउन लगाएर टारिँदो रहेछ ।

जे होस् मानिसले अन्तरिक्ष–विज्ञानमा विशेष उपलब्धी हासिल गर्ने हो भने पारोको विषयमा गहन अनुसन्धान गर्नुपर्ने देखिन्छ । किन कि प्रायः सबै आयुर्वेदका प्राचीन ग्रन्थले यसमा उड्ने (वा उडाउने) क्षमता हुन्छ भनेका छन् । पारोका विभिन्न भेद बताइएका छन् । त्यसमध्ये थुनिएको कालो पारोमा यी गुण हुन्छ भनिएको छ । थर्मोमिटरमा जस्तै कुनै सिलिन्डर जस्तोमा विशेष यौगिक विधिले राखिएको सिलिन्डरले आफूसँगै रहेको चिजलाई आकाशतिर लिएर जाने पो हो कि ? भविष्यमा विज्ञानले अवश्य यसको रहस्य चिरफार गर्ला नै । तर, सोचको विकास भने पूर्वीय दर्शनबाटै उद्गम भएको देखियो, यसमा मलाई गर्व छ । फरक यत्ति छ म पूजा गरेर बस्दछु, अन्त प्रयोग गर्दछन् ।

लसुन र हर्रोमा पाँच रस (तीतो टर्रो आदि) हुन्छन् । पृथ्वीमा पाइने पारो मात्र यस्तो एउटा द्रव्य हो जसमा ६ वटै रस हुन्छन् । यसैबाट पनि यसलाई थप रहस्यमय (अनुसन्धान गर्न बाँकी) वस्तु भनी बताइन्छ । भगवान् शिवका बारेमा केही बताएर फूलबुट्टा भर्न चाहन्न । तर शास्त्रले ‘शिव ! शिव !’ भनिरहँदा केही कुरा सूत्रका रूपमा बताउन चाहेको पो हो कि जस्तो पनि लाग्दछ । किनकि शिव भगवान्लाई बुझाउने सबै पर्यायवाची नामले पारोलाई समेत बुझाउँदछ । कतै पारोको अन्तरिक्ष–प्रयोग शिवलिंगसँग गाँसिएको त छैन ? मनगढन्ते कुरा त अनेक पाइन्छन् । तर तिनमा सत्यताको अंश शून्य छ भन्न यति जानकारी थाहा पाएपछि अब म तयार छैन, सायद तपार्इंहरू पनि मसँग सहमत हुनुहुन्छ होला ? कैलाश पर्वतको रहस्य, त्यस पर्वतलाई अन्तरिक्षसँगको पुलका रूपमा वयान गरिएका कुरा र करोडौँ शिवलिंग आदि सबै ‘मनगढन्ते कुरा वा अन्धविश्वास मात्र हुन् ।’ अब म यस भनाइमा सहमत हुन सक्दिनँ ।

‘हिन्दूधर्म पृथ्वीभर थियो त्यसैले पृथ्वीमा जताततै शिवलिंग पाइएका हुन्’ मात्र भन्नुभन्दा पनि हामीले फरक ढंगले पो सोच्नुपर्ने हो कि ? पुराणले सृष्टिको क्रम बताउँदै लेख्दछ, पहिले गोलो अण्ड थियो, त्यो आफैँ फुट्यो । त्यसबाट तीन शक्ति जन्मिए : बनाउने, हेरचाह गर्ने र नास्ने । यिनलाई क्रमशः ब्रह्मा, विष्णु र शिव नाम दिइयो । शिवले आकाशको सृष्टि गरे…. । यसैगरी अर्को पुराणमा शिवका नाम बताउने क्रममा ‘अन्तरिक्ष’ शब्दलाई शिवको नामका रूपमा लेखिएको पाइन्छ । शिवले सूर्यलाई निस्तेज पारी ब्रह्माण्डलाई लामो समय अन्धकारमय र स्थिर बनाइदिएका प्रसंग पनि पाइन्छन् । विज्ञान सूर्य हिलियम ग्याँसको पिण्ड हो भन्दछ । अन्तरिक्ष यात्रामा सूर्यको किरण बाधक हुने गरेका अनेक प्रसंग आधुनिक विज्ञानले बताइरहँदा म शिव र सूर्यको यो कथा प्रसंगलाई सम्झन पुग्दछु । कतै पारोबाट बनेका कुराले सूर्यको किरणको असरलाई मत्थर त पार्दैन ?

फ्रान्सेली भूगर्वविदले बनाएको उत्तरी धु्रवमा रहेको पर्वतको तस्बिर (नक्सा)

हुन त मेरु पर्वतलाई अन्तरिक्ष र पृथ्वीका बीचको आवतजावत गर्ने अन्तरिक्ष केन्द्र बताइएको छ । सुरुमा मेरु अति अग्लो रहेको र पछि त्यो कारणवश टुक्रिएर लंका बनेको जस्ता प्रसंग पनि पुराणमा छन् । फ्रान्सका प्राचीन खगोलविद्ले उत्तरी ध्रुवमा अत्यन्त अग्लो आकाश छुने पहाड रहेको र त्यसबाट चारतिर चार नदी निस्केको बयान गरी चित्रसमेत कोरेको पढ्न पाइन्छ । पुराणमा वर्णित मेरु पर्वत कतै त्यही पो थियो कि जस्ता तर्कहरू पनि गरिएका छन् । अन्य कतिपयले वर्तमानको कैलाश पर्वतलाई मेरु भनी वर्णन गरेको पनि पाइन्छ । कैलाश पर्वत वरिपरि वा विशेष भागमा चुम्बकीय क्षेत्र रहेको, त्यस क्षेत्रमा पुगेर धेरै समय बस्ने मानिस चाँडै बूढो हुने गरेको आदिजस्ता प्रंसग धेरै लेखिएका छन् । भूगर्भविद् र अन्य क्षत्रेका केही वैज्ञानिकहरू कैलाशलाई मानव निर्मित पिरामिड पनि बताउँदछन् । यो पर्वत र इजिप्ट आदि देशका पिरामिडका बीचमा आवतजावत गर्ने भित्री बाटो छसमेत भनिएको छ ।

कतिपयले कैलाशभित्र अति प्राचीन सहर र सभ्यता जीवित हुन सक्ने र सांग्रिला भनिएको यसैलाई हो भनेरसमेत लेखेका छन् । तिनको यो तर्कमा थप्दै अन्यले शाम्बल देशमा हुने भनी पुराणहरूमा बताइएको कल्की अवतार पनि यही सांग्रिला नामक गोप्य प्राचीन सहरबाट हुन्छ पनि भनेका छन् ।

शिवलिंगको उत्पत्ति प्रसंग हेर्दा ज्योतिर्लिंगको प्रसंग आउँदछ । ज्योतिर्लिंगका जे जसरी बयान गरिएको छ त्यसको आकार आजभोलि कल्पना गरिन थालिएको र चलचित्रहरूमा देखिने स्विच थिच्दा आउने र मान्छे पसेपछि उसलाई लिएर चाहेको स्थानमा (स्टेसन भएको ठाउँमा) लैजाने टेलिपोर्टको आकारसँग मेल खाने देखिन्छ । धर्मशास्त्र वा पुराण प्राचीन सभ्यताको इतिहास पनि हो । मिथकजस्ता लाग्ने सबै कुरा मिथक हुँदैनन् । चाहे जे होस् अन्तरिक्ष (शिव), शिव, शिवलिंग र पारो (शिव) लाई एउटै सूत्रमा बाँध्न सकिए मानवका हातमा अवश्य केही उपलब्धी हात लाग्नेछ । सबै रोगको ओखती एवं अन्तरिक्षमा लैजाने शक्ति भएको शिव (पारो) ले सबैलाई शिव (आनन्द वा उपलब्धी) प्रदान गरुन् ।

प्रतिक्रिया