बिरालोका कारण १०० बढी घरमा आगलागी

सिओल । दक्षिण कोरियामा देशभर भएका १०० बढी आगलागीका घटना बिरालोका कारण सुरु भएको पत्ता लागेपछि घरपालुवा जीव राख्नेहरूलाई सजग रहन चेतावनी दिइएको छ । सोउल मेट्रोपोलिटनको आगजनी तथा प्रकोप विभागका अनुसार बिरालोकै कारण यस वर्ष १०७ घरमा आगलागी सुरु भएको हो । बिरालोले विद्युतीय स्टोभहरू स्वीच अन गरेर आगलागी सुरु गर्ने गरेको विभागको भनाइ छ । बिरालोहरूले संवेदनशील टच बटनमाथि उफ्रिएर स्वीच अन गर्दिन सक्छन् । त्यसो गर्दा उपकरण ‘ओभरहिट’ भई आगो लाग्न सुरु हुन्छ ।
ती सबै आगजनीमा थुप्रै मानिस घाइते भएका छन् । तीमध्ये आधाभन्दा बढी घटनामा घर मालिक बाहिर गएका बेला यस्तो दुर्घटना हुने गरेको पाइएको छ ।

विभागका अधिकारी छङ ग्यो–छल भन्छन्, ‘बिरालोले सुरु गरेको आगजनी निरन्तर बढिरहेको अवस्था छ । त्यसैले हामी घरपालुवा जीवजन्तु पालेका सबैलाई आफ्नो ‘पेट’प्रति अतिरिक्त ध्यान दिन सुझाव दिन्छौँ । किनकि, घरमा कोही नभएका बेला आगलागी व्यापक रूपमा फैलने खतरा हुन्छ ।’ त्यस्तै, विभागले छिट्टै आगो लाग्ने वस्तुहरू जस्तै : पेपर टावललगायतलाई स्टोभबाट सधैँ टाढा राख्न पनि भनेको छ । त्यस्तै, विद्युतीय स्टोभको प्रयोग गर्दा अटोमेटिक लक फंसन राख्न भनेको छ ।

विशेषगरी राजधानी सोउलमा आगजनीका घटना एकदमै बढिरहेको बताइएको छ । सन् २०१९ मा मात्र जनवरीदेखि सेप्टेम्बरमा ३१ घरेलु आगजनीमध्ये अधिकांश बिरालोका कारण सुरु भएको पाइएको थियो । वास्तवमा यो समस्या दक्षिण कोरियामा मात्र सीमित नभएर अरू मुलुकहरूमा समेत बढ्दै गएको पाइएको छ । अमेरिकन ह्युमेन एसोसिएसनका अनुसार अमेरिकामा मात्र हरेक वर्ष एक हजार बढी घर आगजनीका घटनामा घरपालुवा जीवजन्तु नै जिम्मेवार रहेका छन् ।

प्रतिक्रिया