उँखुको नयाँ मूल्य निर्धारण सम्बन्धमा छलफल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा बिहीबार उँखुको नयाँ मूल्य निर्धारणको सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

उँखुको क्रसिङ सिजन नजिकिएकोले यस वर्षको उँखुको बिक्री मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल उँखु उत्पादक महासंघ र सरोकारवाला निकायहरुबीच छलफल भएको हो ।

यसवर्ष उँखुको मूल्य यसै साता तोक्ने गरी तयारी भइरहेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश सन्जेलले बताए । यस वर्ष उँखुको मूल्य तोक्ने कार्य विगतको भन्दा वैज्ञानिक र व्यवहारिक हुने उनले बताए । ‘उँखुको मूल्य तोक्ने सम्बन्धमा अध्ययन सकिएको छ, यसै साताको शुक्रबारसम्म मूल्य तय हुन्छ,’ प्रवक्ता सञ्जेलले भने ।

यस वर्षको उँखुको मूल्य तोक्न उँखुको पकेट क्षेत्र मानिने तराईका १० जिल्लामा अधिकृत स्तरको २ जनाका दरले प्रतिनिधि खटाइएको थियो । प्रत्येक जिल्लाबाट कम्तीमा पनि ३०भन्दा बढी अध्ययन नमूना संकलन गरिएको मन्त्रालयले जनाएको छ ।

देशैभरबाट प्राप्त ३ सय नमूनालाई कृषि विभागले अध्ययन गरेको र यसैका आधारमा बिहीबार थप छलफल गरिएको मन्त्रालयले जनाएको हो ।

गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम् मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो । उँखुको मूल्य ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च र मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्विन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा थियो । गत वर्ष अघिल्लो वर्षको तुलनामा क्विन्टलमा जम्मा ८ रुपैयाँ मूल्य बढेको थियो ।

भने यस वर्ष उँखुको मूल्य प्रतिक्विन्टल ६ सय रुपैयाँभन्दा बढी हुनुपर्ने नेपाल उखु उत्पादक महासंघको माग छ । कृषि मन्त्रालयले मूल्य तय गरेर वाणिज्य मन्त्रालयलाई सिफारिस गर्नेछ । वाणिज्य मन्त्रालयले मन्त्रिपरिषद् पठाएपछि मात्र उँखुको मूल्य सरकारले घोषणा गर्नेछ ।

प्रतिक्रिया