शेखरलाई जिल्लाका नेताको सुझाव : ‘तपाईंले मात्रै जित्न सक्नुहुन्छ’ 

काठमाडौं । कांग्रेसको संस्थापनइत्तर पक्षमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि नेताहरूबीच रस्साकस्सी चलिरहेको छ । आकांक्षी नेताहरू आफ्नो पक्षमा माहोल बनाउन दौडधुप गरिरहेका छन् । केही दिन यता नेताहरू रातदिन छलफलमा छन् । तर, सहमति जुट्न सकेको छैन ।  सभापतिका लागि वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच रस्साकस्सी चलेको छ । महामन्त्री शशांक कोइरालाले भने आफू नै सभापतिको उम्मेदवार हुनुपर्छ भन्ने दाबी नरहेको भनिसकेका छन् ।

सभापतिका आकांक्षी नेता शेखर कोइरालाले बिहीबार विहान जिल्ला र प्रदेशका नेताहरूसँग अलग्गै छलफल गरेका छन् । उनले जिल्लाका नेताहरूको सुझाव र सल्लाह लिएका थिए । ‘धेरै साथीहरूले साझा उम्मेदवार बनाऔँ, त्यो साझा उम्मेदवार तपाईं बन्नुभयो भने जित्न सकिन्छ भन्ने धारणा राख्नुभयो, कतिपयले मध्यमार्गी बाटोबाट एकताकै बाटो रोज्नुपर्ने भन्नुभयो,’ एक जिल्लाका सभापतिले भने, ‘समग्रमा सहमति र एकताको विकल्प छैन, हामीले त्यही सुझाव दिएका छौँ ।’

छलफलमा नेता कोइरालाले भने देशभरका साथीहरूको सुझावले झन् उत्साह मिलेको भन्दै सभापतिमा दाबी नछाड्ने बताएका थिए । बिहानमात्रै वरिष्ठ नेता पौडेलको निवासमा पुगेर ‘सिंहले माने आफूले छोड्ने, नभए आफूलाई सघाउनभनेका थिए ।

ती जिल्ला सभापतिका अनुसार शेखरले प्रकाशमानले मान्दै नमानेको अवस्थामा पनि आफू उम्मेदवारीबाट पछि नहट्ने बताएका थिए । ‘मैले सभापतिको दाबी छाडेको छैन, छाड्दिनँ,’ शेखरको भनाइ उदृत गर्दै ती सभापतिले भने, ‘हामीले पनि उहाँलाई सकेसम्म आफ्नो नाममा सहमति जुटाउने प्रयास गर्न आग्रह गर्‍यौँ ।

नेता सिंहले आफूबाहेक अरू कसैका लागि पनि नछोड्ने बताएपछि संस्थापनइतर पक्षमा एकताको प्रयासमा लागेका नेताहरू नै एकताको सम्भावना कमजोर बनेको भन्न थालेका छन् । ‘हाम्रो प्रयास एकतामात्रै होइन, जित निकाल्ने गरीको एकताको प्रयास हो, तर मिलाउन कहाँ सजिलो छ र ?,’ बिहीबार बिहान बत्तीसपुतलीमा छलफलपछि एक केन्द्रीय सदस्यले भने, ‘हाम्रो प्रयास जारी छ, तर सम्भावना भने कमजोर बन्दैछ ।’

ती नेताले आकांक्षी नेताहरूको हठका कारण समस्या उत्पन्न भएको बताए । ‘सबैलाई चाहिएको छ, सबैलाई सभापति नै हुनुपर्नेछ, कोही सामुहिक एकतामा विश्वास गर्न सक्ने अवस्थामा छैनन्,’ ती नेताले भने । बुधबार अपरान्ह चार आकांक्षीबीच छुट्टै छलफल भए पनि सहमति जुटेनँ । बरू तनावको अवस्था बनेको थियो । उनीहरूले आफूहरूमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गरेर सुझाव दिन केन्द्रीय सदस्यहरूलाई भनेका थिए । विहीबार बिहान बत्तीसपुतलीमा केन्द्रीय सदस्यहरूमात्रै बसेर छलफल गरेका छन् ।  ‘हामीले एउटा धारणा बनाएका छौँ, त्यही आधारमा अब समूहको बैठकमा बसेर छलफल गर्छौँ,’ ती केन्द्रीय सदस्यले भने ।

प्रतिक्रिया