नबिल बैंकले सार्वजनिक गर्‍यो ‘डिजिबैंक पोर्टल’

काठमाडाैं । नबिल बैंकले आधिकारिक रुपमा ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । ‘नबिल डिजिबैंक पोर्टल’ मार्फत बैंकका ग्राहकहरुले एकद्वार मार्फत अनलाइन सेवाहरु प्राप्त गर्न सक्नेछन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले आज आयोजित एक कार्यक्रमका बीच नबिल डिजिबैंक पोर्टलको शुरुआत गरे ।कम्प्युटराइज्ड बैंकबाट शुरू भएको यात्रा अब भने साँच्चै डिजिटल बैंकको रुपमा विकास भएको उनले बताए ।

नबिल डिजिबैंक पोर्टलमार्फत उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकता परिणत गर्ने दिशामा थप एक पाइला अगाडि बढेको बैंकले जनाएको छ । यसैबीच बैंकले भिडियो केवाईसी र भर्चुअल आईकार्ड लगायतका थप दुई नयाँ अनलाइन सेवाहरु पनि शुरू गरेको छ । भीकेवाईसीको शुरुवातसँगै ग्राहकहरुसँग केवाईसी प्रमाणिकरणका लागि बैंक शाखा पुग्नुपर्ने झन्झट अन्त्य भएको छ ।

भीकेवाईसीका लागि ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्व निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचान कार्य पूरा गर्नुपर्नेछ । त्यस्तै नबिल भर्चुअल आईकार्ड नबिल स्मार्टबैंक एप भित्र इम्बोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरि भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्ने बैंकले बताएको छ ।

प्रतिक्रिया