निधिले साथ नपाए देउवाले सजिलै जित्ने

काठमाडौं । इतर पक्षले चमत्कारिक रणनीति अपनाएन भने नेपाली कांग्रेसको आसन्न १४ औं महाधिबेशनबाट सभापति पदमा शेरबहादुर देउवा नै दोहोरिने संभावना बढेर गएको छ । नेपाली कांग्रेसको प्रदेश अधिबेशनको परिणामले सभापति देउवा सजिलै चुनाव जित्ने अवस्थामा रहेको प्रमाणित गरेको छ ।

महाधिबशेन प्रतिनिधिहरु संस्थापन अर्थात देउवा पक्षकै बढी निर्वार्चित भएको प्रदेश अधिबशेनले पुष्टि गरेको छ । सातमध्ये ६ वटा प्रदेशको निर्वाचन परिणम आइसकेको छ । जसमध्ये सुदुरपश्चिम, कर्णाली , बाग्मति र प्रदेश १ गरी चारवटामा देउवा अर्थात संस्थापन पक्षले जितेको छ भने गण्डकी र लुम्विनीमा पौडेल अर्थात इतरपक्षले जितेको छ । यी ६ वटा प्रदेशको कुल भोट जोड्दा देउवा पक्षको ४ हजार २ सय ४० पुग्छ भने इतरपक्षको जम्मा ३ हजार ८ सय ३३ हुन्छ । प्रदेश २ को अधिबशेन स्थगित गरिएको छ ।

प्रदेश अधिबशेनका मतदाता र महाधिबेशनका मतदाता उस्तै मात्रै होइनन् करिव करिव एउटै हुन् । देउवा अर्थात संस्थापन पक्षको ६० प्रतिशत र इतर पक्षको ४० प्रतिशत मत रहेको प्रदेश अधिबशेनले पुष्टि गरिसकेको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशमा देउवा पक्षले ७० प्रतिशत भन्दा बढी मत हासिल गरेको छ भने अन्य प्रदेशमा दुवै पक्ष करिव करिव बराबारीको अवस्थामा रहेका छन् ।

यो अंक गणित हेर्दा देउवा सभापति पदमा निर्वाचित हुने सुनिश्चित जस्तै देखिन्छ । तर देउवा चुनौति विहिन भने छैनन् । देउवा पक्षमा देखिएको ६० प्रतिशत मतमा उपसभापति बिमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौलाको पनि हिस्सा छ । नेता सिटौलाको हिस्सा कम्तिमा १० प्रतिशत रहेको पुष्टि भइसकेको छ भने निधिको हिस्सा कति छ ? भन्ने पुष्टि हुन महाधिबशेनको परिणाम पर्खनु बाहेक अर्को उपाय छैन । तर प्रदेश २ को मत परिणाम पछि भने निधिको हिस्सा मोटामोटी आँकलन गर्न सकिने अवस्था छ ।

कुल महाधिबशेन प्रतिनिधिमध्ये करिव ४० प्रतिशत हिस्सा रहेको इतर पक्षमा कसलाई उमेदवार बनाउने भन्ने टुंगो अझै लाग्न सकेको छैन । मैले बाहेक अर्कोले देउवालार्य हराउन सक्दैन भन्दै रामचन्द्र पौडेल , प्रकाशमान सिंह , डा. शखर कोइराला , डा. शशांक कोइराला लगायतका नेताहरुले आँफु उमेद्वार बन्न पाउनु पर्ने दावी गर्दै आएका छन् । तर प्रदेश अधिबशनको परिणामले इतरपक्षबाट एक जना मात्रै उमेद्वार बने पनि देउवालाई पराजित गर्न नसक्ने कुरा सिद्ध गरिदिएको छ ।

अहिलेसम्मको अंक गणित हेर्दा एउटा परिस्थितिमा मात्रै देउवा पराजित हुने संभावना छ । त्यो संभावना हो –‘ जसरी राप्रपामा डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणाले कमल थापा हराउन जे जस्तो रणनीति अवलम्वन गरेका थिए, कांग्रेसको इतर पक्षले पनि त्यही रणनीति अवलम्वन गर्नु ।’ राप्रपाको अध्यक्ष पदमा कमल थापालाई पराजित गर्न डा. लोहनी र राणाले कमल थापाकै टिमका राजेन्द्र लिंगदेनलाई अघि सारे जस्तै कांग्रेसको इतर पक्षले देउवालाई हराउन देउवाकै टिमका बिमलेन्द्र निधि वा कृष्णप्रसाद सिटौलालाई अघि सार्न सक्छ की सक्दैन भन्ने प्रश्न नै यतिबेला सर्वाधिक महत्पूर्ण हो ।

इतर पक्षका दावेदारहरुले आँफू पछि सरेर देउवा विरुद्ध संस्थापन पक्षकै निधि र सिटौलामध्ये एक जनालाई अघि सार्न सक्ने संभावना बन्छ कि बन्दैन ? यही प्रश्नको उत्तरमै देउवाको भाग्य अडिएको छ । यदी इतर पक्षले यो रणनीति अघि सा¥यो भने देउवा हार्छन्, होइन भने देउवाले चुनाव जित्ने निश्चत छ । तर इतर पक्षका नेपालहरु मध्ये रामचन्द्र पौडेल र प्रकाशमान सिंह कृष्णप्रसाद सिटौला सँग निकै चिढिएका छन् । बरु देउवाले नै चुनाव जितुन तर सिटौलाको हैसियत कुनै पनि हालतमा माथि उठ्न दिनु हुन्न भन्ने मानसिकतामा पौडेल र सिंह छन् । तर निधिका नाममा भने इतर पक्षबीच सहमति हुने संभावना जिवितै छ ।

वडा तह देखि प्रदेश तहसम्म देउवा र सिटौलाले तालमेल गरेरै निर्वाचनमा भाग लिएका हुन् । अब केन्द्रिय महाधिबशेनमा देउवा र सिटौला वीच के कसरी तालमेल हुन्छ हेर्न बाँकी छ । सिटौलालाई उपसभापतिका रुपमा आफ्नो टिममा राख्न सके भने देउवाका लागि संभावनाको थप ढोका खुल्छ । तर विजयकुमार गच्छदारको चित्त बुझाउनु पर्ने हुन्छ । किनकी एउटै प्रदेशका सिटौला र गच्छदार दुवै जनालाई टिममा राख्न देउवालाई सहज हुँदैन ।

कुल महाधिबशेन प्रतिनिधि संख्या मध्ये संस्थापन अर्थात देउवा पक्षमा ५५ प्रतिशत भन्दा बढी रहेको पुष्टि भएको छ । संस्थापन अर्थात देउवा पक्ष स्पष्ट बहुमत भएको पुष्टि हुँदै गर्दा इतर अर्थात पौडेल पक्षको रणनीति के होला त ? भन्ने जिज्ञासा सर्वत्र देखिएको छ । इतर अर्थात पौडल पक्ष सँग बढीमा ४५ प्रतिशत मत रहेको पुष्टि भएको छ । इतर पक्षबाट एक जना मात्रै उमेद्वार बन्दा पनि देउवालाई पराजित गर्न नसक्ने अंक गणित प्रकट भएको छ ।

प्रदेश अधिबशेनमा भोग्नु परेको पराजय पछि इतर पक्षका नेताहरु गत सोमबार विहानै देखि समिक्षामा जुटेका छन् । तर इतर पक्षका लागि अब विकल्प के छ त ? भन्ने प्रश्न पनि धेरै नै महत्वपूर्ण छ । प्रदेश अधिबशेनको परिणाम नआउँदा सम्म इतर पक्षले दुई वटा आँकलन गरेको थियो । पहिलो आँकलन थियो –‘ देउवाको ५० प्रतिशत भोट कट्ने छैन , दोस्रो चरणमा बाजी मार्न सकिने छ ।’ तर यो आँकलन फेल भएको छ ।

देउवाले आफ्नो पक्षमा देखिएको ५५ प्रतिशत मत संरक्षण गर्न सक्लान की नसक्लान भन्ने प्रश्न जति सान्दर्भीक छ, इतर पक्षले देउवालाई पराजित गर्ने रणनीति अपनाउला की नअपनाउला ? भन्ने प्रश्न पनि त्यतिकै सान्दर्भीक छ । इतर पक्षले कस्तो रणनीति अपनायो भने देउवा पराजित हुने संभावना रहला ? इतर पक्षले देउवालाई जिताउने रणनीति अपनाउला कि पराजित गर्ने रणनीति अपनाउला ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ ।

नेकपा एमालेको हालै सम्पन्न दशौं महाधिबशेनमा पराजय निश्चित हुँदा हुँदै पनि नेता भीम रावल केपी शर्मा ओली सँग अध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिए । पराजय निश्चित हुँदा पनि चुनावमा होमिनु राजनीतिक धर्म भन्दा बाहिर होइन । राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै सम्पन्न एकता महाधिबशेनमा आफ्ना प्रतिद्धन्दी कमल थापा निकै बलियो देखिए पछि डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणा उमेद्वार बनेन् , उल्टै बहुमत पक्षका राजेन्द्र लिंगदेनलाई अघि सारेर कमल थापाको पासा पल्टाइदिए । आँफू पछि हटेर बलियोको पाशा पल्टाउनु पनि राजनीतिक धर्म भन्दा बाहिर होइन ।

एमालेमा ओलीको जे पोजिसन थियो, राप्रपामा कमल थापाको जे पोजिन थियो , नेपाली कांग्रेसमा शेरबहादुर देउवाको पनि अहिले त्यही पोजिसन छ । अब कांग्रेसको इतर पक्षले एमालेमा भीम रावलले अपनाएको जस्तो रणनीति अपनाउँछ की ? राप्रपामा डा. लोहनी र राणाले अपनाएको जस्तो रणनीति अपनाउँछ ? हेर्न बाँकी छ ।

‘मैले बाहेक देउवालाई अर्कोले हराउन सक्दैन भन्दै’ आपसमा हिलो छ्यापाछ्याप गरेका इतर पक्षका नेताहरु समय घर्किसकेपछि छलफलमा जुट्नुको खासै अर्थ देखिन्न । प्रदेश अधिबशेन भनेको नेपाली कांग्रेसको मिनि जनमत संग्रह हो । मिनि जनमत संग्रहले देउवा पक्षमा महाधिबशेन प्रतिनिधिहरुको संख्या ५५ प्रतिशत भन्दा माथि रहेको संकेत दिइसकेको छ । नेपाली कांग्रेसको इतर पक्षको मनोबल थप गिर्नु स्वभाविकै हो । आफ्नो गुटको भोट सुरक्षित गर्न वा पार्टी भित्र आफ्नो हैसियत के कति छ ? मापन गर्ने बाटो इतर पक्षले रोज्ला या देउवा पक्षकै निधिलाई समर्थन गरेर चमत्कार देखाउला ? भन्ने प्रश्नको उत्तर आउन भने अझै दुई–तीन दिन पर्खनै पर्ने हुन्छ ।

प्रतिक्रिया