लैंगिक हिंसाविरुद्ध अभियानमा सिओसी सहभागी

कालिकोट । महिला हिंसाविरुद्धको १६ दिने अभियान सफल पार्न कालिकोटका तीन वटा स्थानीय तहमा सिओसी कक्षाका सदस्यहरुले जनचेतना फैलाउँदै आएका छन् ।

जिल्लाको रास्कोट नगरपालिका,सान्नी त्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा रहेका सिओसी कक्षाका सदस्यहरुले विभिन्न क्रियाकलापमा सहभागी भई हिंसाविरुद्धको अभियानमा सक्रिय देखाएका छन् ।

सान्नीत्रिवेणी गाउँपालिकाको मुम्रामा रहेको सिओसीका सहभागीहरुले कर्णालीमा बोलिने खस भाषाको देउडा प्रतियोगिता गरी १६ दिने लैंगिक हिंसाविरुद्ध अभियानमा सहभागीता जनाएका छन् ।

उक्त देउडा प्रतियोगितामा सहभागी प्रथम, दृतिय र तृतिय स्थान ल्याउने सिओसी कक्षाका सदस्यहरुलाई उचित पुरस्कारसहित सम्मान गरेको हुरेन्डेक नेपालका कार्यक्रम अधिकृत डम्बर बोहोराले बताए ।

बोहोराले जिल्लाको रास्कोट नगरपालिकामा पनी सिओसी कक्षाका सदस्यहरुले १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सफल पार्न ‘महिला हिंसा न्यूनिकरणमा स्थानीय सरकारको भूमिका’ विषयक वक्तृत्वकला गरेको बताए । वक्तृत्वकलामा नगरपालिकाभित्र रहेका सबै माध्यमिक विद्यालयका छात्र–छात्राहरुको सहभागीता रहेको बताइएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको सहजिकरणमा सञ्चालित लिड एण्ड डिसाईड कार्यक्रम र बालविवाह, छिटो विवाह तथा जबरजस्ती विवाह न्यूनिकरण परियोजनाअन्तर्गत कालिकोटका तीनवटा स्थानीय तहमा अभियान सफल पार्न विभिन्न कार्यक्रम गरी १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानमा लागि परेको हुरेन्डेक नेपालका परियोजना संयोजक शिवशंकर उपाध्यायले बताए ।

उनले नरहरीनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकामा सरोकारवालाहरुसँग महिला हिंसा न्यूनिकरणका विषयमा बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया