तालीबानको फिर्तीपछि सयभन्दा बढी पूर्व सैनिक मारिए

काबुल । तालिबान सत्तामा फिर्ता भएपछि सयभन्दा बढी पूर्व अफगान सुरक्षा बलका सदस्यलाई या त तालिबानले हत्या गरिदियो या उनीहरुलाई गायब पारिएको एक रिपोर्टमा खुलासा भएको छ । ह्यूमन राइट्स वाच (एचआरडब्ल्यू) को एक रिपोर्टमा तालिबान नेतृत्वले बचनका बावजुद स्थानीय कमान्डरले पूर्व सैनिक वा प्रहरीलाई निशाना बनाउन जारी राखेको बताइएको छ । एचआरडब्ल्यूले तालिबानको नेतृत्वमा आफ्ना लडाकूमार्फत् हत्यालाई उक्साइरहेको आरोप लगाएको छ । हालै तालिबानका प्रवक्ताले बदलाको भावनाले हत्या गरिएको आरोपलाई अस्वीकार गरेका थिए ।

अमेरिकाले २० वर्षको युद्धपछि अफगानिस्तानबाट आफ्ना सैनिकलाई फिर्ता बोलाउने निर्णय गर्यो । तत्पश्चात् अगस्टकामे मध्यमा देशको अशरफ गनीको सरकारलाई हटाएर तालिबानले काबुललाई आफ्नो कब्जामा लिएको थियो । त्यतिबेला तालिबानले अतितमा प्रहरी, सेना वा राज्यका अन्य शाखाका लागि काम गर्ने मानिसहरु सुरक्षित हुने बताउँदै पूर्व सरकारी कर्मचारीलाई आश्वासन दिएको थियो । आफूहरुले ती व्यक्तिविरुद्ध कुनै पनि द्वेष भाव नराख्ने बताउँदै आएका थिए ।

तर कतिले तालिबानको यो भनाईप्रति शंका व्यक्त गरेका थिए । तालिबानको सुरक्षा बलका व्यक्ति र नागरिक समाजका व्यक्तिको हत्या गर्ने लामो इतिहास रहेको छ । सन् २०२० को सुरुवातदेखि यस वर्षको अगस्टमा सत्तामा फिर्ता भएसम्म लगभग १८ महिनामा तालिबानले एक रक्तपातपूर्ण अभियान चलायो जसमा थुप्रै मानिसहरुलाई निशाना बनाएर हत्या गरियो । पीडितमा न्यायाधीश, पत्रकार र कार्यकर्ता पनि समावेश छन् ।

विश्लेषकका अनुसार यो रक्तपातपूर्ण अभियान सत्तामा फिर्ता हुनु अघि सम्भावित आलोचनालाई समाप्त गर्न र जिउँदो बचेका मानिसहरुमा डर पैदा गर्नका लागि गरिएको थियो । तालिबान यतिबेला विश्वव्यापी रुपमा पहिचान पाउनका लागि हर सम्भव कोसिस गरिरहेको छ । अफगानिस्तानमा संसारभरबाट पाइने राहत सामग्री र आर्थिक सहयोग नपाएका कारण आधारभूत चिजको संकट गहिरिँदै गइरहेको छ ।

प्रतिक्रिया