राप्रपाको कार्यक्रममा सीपी र प्रचण्डबीच घोचपेच

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा राजा महेन्द्रको प्रसंगलाई लिएर दुई कम्युनिष्ट नेताहरुबीच घोचपेच भएको छ । नेकपा मालेका महासचिव सीपी मैनालीले राप्रपा राष्ट्रवादी शक्ति भएको उल्लेख गर्दै महेन्द्रको प्रशंसा गरेका थिए । उनले भने, ‘नेपाललाई भारतमा गाभिएको सिक्किम वा भूटानजस्तो हुनबाट जोगाउने पृथ्वीनारायण शाहपछि कसैले कदम चालेको छ राजा महेन्द्रले नै हो। दिल्ली सम्झौतामा उल्लेख विधानसभा भएको भए नेपाल त्यतिबेलै भारतमा गाभिन्थ्यो । महेन्द्रले देशलाई बचाए ।’

उनले २०६२/६३ को जनआन्दोलनपछि नेपालमा विदेशी हस्तक्षेप बढेको उल्लेख गर्दै माओवादी आन्दोलनलाई भारतले दुरुपयोग गरेको टिप्पणी गरे । ‘सुरुमा जसले माओवादी आन्दोलन गर्न सहयोग गर्यो अन्तिममा उसैले आतंककारी भन्यो । उहाँहरु जनवादी शासन व्यवस्था ल्याउँछु भनेर सशस्त्र आन्दोलनमा जानुभयो तर सक्नु भएन, आत्मालोचना गर्नुपर्दैन ?’, मैनालीले सोधे।

भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा मैनालीपछि लगत्तै माओवादी आन्दोलनका नेता पुष्पकमल दाहाल प्रचण्डले बोल्ने मौका पाए । राप्रपा महाधिवेशन सफलताको शुभकामना दिँदै प्रचण्डले महेन्द्रको प्रशंसा गरेको र माओवादी आन्दोलनप्रति मैनालीले गरेको टिप्पणीको प्रतिवाद गरे ।

उनले भने, ‘राजतन्त्र निरंकुश भएकोले हटाउनुपर्छ भनेर टाउको काट्ने आन्दोलनको सुरुवात सीपी मैनालीजीहरूले नै गर्नुभएको हो । अहिले आएर राजा महान भन्दिनु भो । मलाई लाग्यो सीपीजी राप्रपाको अध्यक्ष बन्न पो खोजेका हुन् कि ? त्यसो हो भने मेराे शुभकामना ।’ प्रचण्डले आफू सीपीले जस्तो जे पनि बोल्न नसक्ने भन्दै कटाक्ष गरे । ‘सीपीजीले त भनिदिनुभयो राजा महान भनेर तर म त्यस्तो बोल्न सक्दिनँ’, प्रचण्डले भने ।

प्रतिक्रिया