अस्पतालबाटै राजीनामा दिएर आराम गर्न प्रधानन्यायाधीश जबरालाई बारकाे आग्रह

काठमाडाैं । नेपाल बार एसोसिएसनले अस्पतालबाटै राजीनामा दिएर आराम गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आग्रह गरेको छ । प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण भएर एपीएफ अस्पतालमा उपचाररत रहेको सन्दर्भ उल्लेख गर्दै बार महासचिव लीलामणि पौडेलले त्यहीँबाट राजीनामा गर्न सुझाएका हुन् । ‘अहिले उहाँको नैतिक स्वास्थ्य पनि खराब छ । अस्पताल परिसरबाटै राजीनामा दिएर आराम गर्न आग्रह गर्छु,’ पौडेलले भने ।

प्रधानन्यायाधीश अस्वस्थ रहेकाले आज उनीविरुद्ध नाराबाजी भने नगरेको उनले उल्लेख गरे । सर्वोच्च अदालतमा भोलिदेखि गोलाप्रथाबाट पेशी तोक्ने परम्पराको शुरूआत हुन लागेकोमा बारले त्यसको स्वागत गरेको छ । गोलाप्रथामा प्रधानन्यायाधीशलाई सहभागी हुन नदिन उनले अपिल गरे । ‘बलमिच्याइँ गरेर गोला ताने पनि उहाँको इजलास बहिस्कार गर्छाैं,’ पौडेलले भने ।

साथै उच्च र जिल्ला अदालतमा पनि छिट्टै गोलाप्रथा लागू गर्न महासचिव पौडेलले आग्रह गरे । उच्च र जिल्ला अदालतमा मंसिर १ बाटै गोलाप्रथा लागू गर्ने भनिएकोमा आजसम्म लागू नभएको विरोधमा बारले अब ती अदालतमा पनि दैनिक एक घण्टा धर्ना दिएर मात्र काममा फर्किने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया