चिसो बढिरहेकाले सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपालमा अहिले बङ्गलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीका साथै अरब सागर तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक असर परेको छ ।

उक्त मौसमी प्रणालीको असरले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राजधानी काठमाडौंसहित देशभर चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरेको छ ।

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ६ र अधिकतम तापक्रम २१ दशमलव चार डिग्रिसेल्सियस रहेको छ ।

आइतबार काठमाडौंको न्यूनतम तापक्रम सात दशमलव हाराहारीमा थियो । मङ्सिरयता निरन्तर न्यूनतम तापक्रम घट्दै गएकाले बढी चिसो बढिरहेको हो । न्यूनतम तापक्रम घटे पनि हिजो र आज बिहानैदेखि पारिलो घाम लागेकाले काठमाडौंमा तुलनात्मकरुपमा कम चिसो महशुस गरिएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिक बदली हुनाका साथै गण्डकी प्रदेशको उच्च हिमाली भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मङ्गलबार पनि देशभर आंशिक बदली रहने जनाइएको छ । बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया