ओली, रावल, भुसाल र भीम आचार्यको मनोनयन दर्ता

चितवन । केपी शर्मा ओलीले पनि एमाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । उनीअघि भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए। यससँगै अध्यक्षमा ओली र रावलबीच निर्वाचन हुने निश्चित भएको छ । घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।  केन्द्रीय सदस्यमा नाम प्रस्ताव गरेका रावल र भुसालपछि भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन्। १० बुँदे सहमतिपछि एमालेमा फर्किएका १० नेतामध्ये रावल, भुसाल र आचार्यलाई ओलीले पदाधिकारीमा समेटेका थिएनन् ।

उम्मेदवारी दर्ता गर्ने क्रम लम्बिएपछि निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्ने समय आधा घण्टा बढाएको छ । यसअघि सोमबार बिहान ९ः३० सम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो। अहिले बिहान १० बजेसम्म बढाइएको छ ।

सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार मध्याह्न १२ः०५ बजे उम्मेदवारहरुके अन्तिम नामावली प्रकाशन गरिनेछ। मतदान भने आज राति ९ बजेदेखि मंसिर १४ गते बिहान ३ बजेसम्मलाई निर्धारण गरिएको छ। मतदान सकिएलगत्तै मतगणना हुने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए । मंसिर १२ गतेसम्मलाई तोकिएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयनको नाउँमा समय घर्काइँदा थप दुई दिन लम्बिने देखिएको छ ।

प्रतिक्रिया