एपिक अवार्ड प्रदान

काठमाडौं । गीत संगीतका क्षेत्रमा योगदान दिएका विभिन्न स्रष्टालाई अवार्डद्वारा सम्मान गरिएको छ । एपिक नेपाल म्युजिकले आयोजना गरेको ‘तेस्रो एपिक नेपाल म्युजिक अवार्ड’ कार्यक्रम मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा गरिएको हो । बोडेस्थित कुमारी पार्कमा राजेन्द्र पुरीको संयोजन तथा बबिता श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा गीत संगीतमा योगदान दिएका विभिन्न कलाकारले फरक–फरक विधाबाट अवार्ड प्राप्त गरेका छन् ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई एक लाख एक हजार रुपैयाँ राशिसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । रंग पत्रकारिता गर्दै आएका पत्रकार जीवन पराजुलीलाई नगद २१ हजारसहित सम्मान गरियो । साथै, कार्यक्रममा टिका पुनले ‘भाग्यमै छौ’ बोलको गीतबाट सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड, खेम सेञ्चुरीले ‘झ्यालमा पर्दा छ’ बोलको गीतबाट सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड पाए ।

नेत्र अर्यालले ‘झ्यालमा पर्दा छ’ बोलकै गीतबाट सर्वोत्कृष्ट लोकदोहोरी शब्दकारको अवार्ड, श्रीकृष्णबम मल्ल ‘डाँडा घरे साँइली’ बोलको गीतबाट सर्वोत्कृष्ट लोकदोहोरी लयको अवार्ड चुम्न सफल भए । रविन शाहले ‘बाँचे कमाउँला’ बोलको गीतबाट सर्वोत्कृष्ट लोकदोहोरी निर्देशकको अवार्ड, काजिस श्रेष्ठले ‘सुर्ती माड्दै माड्दै’ बोलको गीतबाट सर्वोत्कृष्ट लोकदोहोरी निर्देशकको अवार्ड, नवराज उप्रेतीले ‘फुटेका चुरा’ सर्वोत्कृष्ट छायांकारको अवार्ड र मीन रावलले ‘चोट’ बोलको गीतबाट सर्वोत्कृष्ट भिडियो सम्पादकको अवार्ड प्राप्त गरे ।

त्यस्तै, विश्वास नेपालले ‘झल्को आम्च का’ बोलको गीतबाट सर्वोत्कृष्ट एरेन्जरको अवार्ड, सारिका केसीले ‘लाहुर’ बोलको गीतबाट सर्वोत्कृष्ट लोकदोहोरी महिला मोडल अवार्ड, बिपेश घिमिरे ‘माइली’ बोलको गीतबाट सर्वोत्कृष्ट लोकदोहोरी पुरुष मोडलको अवार्ड चुम्न सफल भए । कार्यक्रममा दुर्गेश थापाले ‘तिमी एति राम्री किन’ बोलको गीतबाट सर्वोत्कृष्ट पपुलर अवार्ड, सरिता डाँगीले ‘मेरो हजुर’ बोलको गीतबाट सर्वोत्कृष्ट जुरी अवार्ड, प्रकाश सपुत ‘फुटेका चुरा’ बोलको गीतबाट सर्वोत्कृष्ट पब्लिक च्वाइस अवार्ड हात पार्न सफल भए । त्यसैगरी, प्रबिन थापाले ‘मदानीमा नेती’ बोलको गीतबाट सर्वोत्कृष्ट नृत्य निर्देशकको जुरी अवार्ड, नमराज घिमिरेले ‘लाइदेउ माया’ बोलको गीतबाट सर्वोत्कृष्ट इन्करेजमेन्ट अवार्ड, मेलिना राईले ‘कहाँ होला मेरो मायालु’ बोलको गीतबाट सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड प्राप्त गरे । त्यस्तै, कार्यक्रममा प्रेम सेन्चुरीले ‘जीवन यहाँ यस्तै छ’ बोलको गीतबाट सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड, भोजराज पाण्डेले ‘आँधी हुरी’ सर्वोत्कृष्ट आधुनिक शब्द लेखनको अवार्ड, केशव सापकोटाले ‘तिमीलाई माया गर्ने मुटु’ बोलको गीतबाट सर्वोत्कृष्ट आधुनिक संगीतकारको अवार्ड पाए ।

अभिनेता पल शाहले ‘फुलबुट्टे सारी’ बाट सर्वोत्कृष्ट आधुनिक पुरुष मोडलको अवार्ड तथा अभिनेत्री शिल्पा पोखरेलले ‘ए जिन्दगी’ बोलको गीतबाट सर्वोत्कृष्ट आधुनिक महिला मोडल अवार्ड प्राप्त गरे । विक्रम चौहानले ‘भुपु माया ४’ बोलको गीतबाट सर्वोत्कृष्ट आधुनिक निर्देशकको अवार्ड, ध्वज मोहराले ‘धनगढी बजार’ बोलको गीतबाट सर्वोत्कृष्ट डेउडा गायकको अवार्ड हात पारे । रेखा जोशीले ‘नबढेकी ठेउकी’ बोलको गीतबाट सर्वोत्कृष्ट डेउडा गायिकाको अवार्ड पाइन् भने रामशरण आलेमगरले ‘घैया मकै’ बोलको गीतबाट सर्वोत्कृष्ट काँठे गायकको अवार्ड लिन सफल बने । शारदा रसाइलीले ‘खेतको आली’ गीतबाट सर्वोत्कृष्ट काँठे गायिकाको अवार्ड, कल्पना श्रेष्ठ ‘छङ्गुलङ स्वयबु मिखा’ गीतबाट सर्वोत्कृष्ट नेपाल भाषा गायिकाको अवार्ड, हरिसुन्दर श्रेष्ठले ‘भगवान खमाबा’ बोलको गीतबाट सर्वोत्कृष्ट नेपाल भाषा गायकको अवार्ड, अलिफ खानले ‘झुम्के बुलाकी’ गीतबाट सर्वोत्कृष्ट लोकदोहोरी नवगायकको अवार्ड प्राप्त गरे । कार्यक्रममा सोनिया डिसीले ‘नसालु मायालु’ बोलको गीतबाट सर्वोत्कृष्ट लोकदोहोरी नवगायिकाको अवार्ड, सुरज श्रेष्ठ ‘ए गनगन–२’ गीतबाट सर्वोत्कृष्ट लोकदोहोरी नवमोडलको अवार्ड लिन सफल बने ।

गीता ढुंगानाले ‘चौका दाउ’ बोलको गीतबाट सर्वोत्कृष्ट लोकदोहोरी नवमोडेलको अवार्ड, साहिल खानले ‘एक्लै हुँदा परदेशमा’ बाट सर्वोत्कृष्ट नवनिर्देशकको अवार्ड प्राप्त गरे । यस्तै, विजय पुनले ‘पत्थरको मुटु’ बोलको गीतबाट सर्वोत्कृष्ट आधुनिक नवमोडलको अवार्ड, प्राची लामाले ‘तिमी एति राम्री किन’ बोलको गीतबाट सर्वोत्कृष्ट नवमोडेल आधुनिकको अवार्ड, देवेन्द्र बब्लुले ‘मायालु’ बोलको गीतबाट सर्वोत्कृष्ट आधुनिक नवगायकको अवार्ड, गायिका एलिना चौहानले ‘धोकेवाज’ गीतबाट सर्वोत्कृष्ट आधुनिक नवगायिकाको अवार्ड प्राप्त गरे । कार्यक्रममा आयोजक एपिक नेपालकी अध्यक्ष बबिता श्रेष्ठले मध्यपुर थिमि नगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । उनले उक्त नगरपालिकाका मेयर श्रेष्ठले नेपाली गीतसंगीत क्षेत्रप्रति चासो र सद्भाव देखाएकोमा धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रममा मेयर श्रेष्ठले मध्यपुर थिमिभित्रका पुरातात्विक वस्तु, संस्कृति जगेर्ना गर्ने उद्देश्यले नगरपालिकाले अवार्डसँग सहकार्य गरेको बताए । उनले आगामी दिनमा पनि सहकार्य अगाडि बढाउने प्रतिबद्धता जनाए । कार्यक्रम संयोजक राजेन्द्र पुरीले आफूहरुले नेपाली गीतसंगीतमा योगदान दिएका कलाकारलाई अवार्डबाट सम्मान गर्दै आएको जानकारी दिए ।

प्रतिक्रिया