तथ्यांक विभागले हेक्का राखोस्

गत शुक्रबार यता राष्ट्रिय जनगणना २०७८ को मुख्य काम सम्पन्न भएको घोाषणाका साथ केन्द्रीय तथ्यांक विभागले पत्रकार सम्मेलन गरिरहेको थियो, उता वरिष्ठ साहित्यकार व्याकुल माइला (प्रदीपकुमार राई)ले जनगणनाको स्थानीय कार्यालय ललितपुरको ग्वार्कोमा टेलिफोन गर्दै आफ्नो घरमा पनि गणकहरू पठाइदिन आग्रह गरिरहेका थिए । प्रख्यात साहित्यकार व्याकुल माइला नेपालको राष्ट्रियगानका रचयितासमेत हुन् । उनी ललितपुरमा घर बनाएर बसेका छन् भन्ने कुरा दुनियाँलाई थाहा छ । उनको घरमा बिदाको दिन स्कुले विद्यार्थीहरूको ठूलै घुइँचो लाग्छ । तर, गणकहरूले उनैको घर छुटाए । सुपरभाइजरले त पक्कै पनि विवरण लिइसकेकै थिए होलान, तैपनि व्याकुल माइलाको घर किन छुट्यो भनेर गणकलाई सोधेनछन् ।

प्रख्यात साहित्यकारको घरसमेत जनगणनामा छुटेपछि स्थानीय कार्यालयले थप खोज अनुसन्धान गर्दा धेरै घरहरू छुटेको थाहा पायो । ब्याकुल माइला त सचेत र जिम्मेवार नागरिक भएका कारण आफैँले टेलिफोन गरेर जानकारी गराए । तर, जनगणनामा सहभागी हुनै नचाहने तथा जनगणनाको महत्व थाहा नहुनेहरूले फोन गरी गरी बोलाउन संभव छैन । त्यसैले विगतको जनगणना जस्तै यसपटकको जनगणनामा पनि सही तथ्यांक आउने संभावना कम देखिन्छ । करिब पाँच अर्ब रुपैयाँ बजेट खर्च हुने जनगणनालाई कर्मकाण्डमा सीमित गर्ने दुस्साहस कसैले पनि गर्नु हुन्न । विगतमा भएका गल्ती तथा कमीकमजोरीबाट पाठ सिकेर सुधार गर्दै लैजानुपर्ने थियो ।

विगतमा के कस्तो गल्ती हुने गरेको थियो भन्ने सन्दर्भमा हिमाली जिल्ला हुम्लाकै उदाहरण लिन सकिन्छ । जनगणना २०६८ को तथ्यांकअनुसार १० वर्षको अवधिमा अरू हिमाली जिल्लामा ५ देखि ३० प्रतिशत जनसंख्या घटेको देखिएको थियो भने सबैभन्दा विकट जिल्ला हुम्लामा २६ प्रतिशत जनसंख्या बढेको देखिएको थियो । राजधानी काठमाडौं उपत्यकापछि सबैभन्दा ठूलो बसाइँसराइ भएको चितवनमा जम्मा २२ प्रतिशत जनसंख्या वृद्धि भएको तर हुम्लामा भने २६ प्रतिशत जनसंख्या वृद्धि भएको तथ्यांक आएको थियो त्यतिबेला ।

१० वर्ष अघिको तुलनामा सञ्चार, यातायात, सूचना प्रविधि लगायतले ठूलो फड्को मारेको छ । त्यसैले आसन्न जनगणनामा विगतको भन्दा सही र भरपर्दो तथ्यांक आउने अपेक्षा गरिएको थियो । यसका लागि तथ्यांक विभागले गत दसैंअघि आठ हजार सुपरभाइजर खटाएर हरेक घर परिवारको जनसंख्या उतारेको थियो । त्यतिबेला एक जना सुपरभाइजरका लागि सरदर एक हजार घरपरिवारको विवरण संकलन गर्ने जिम्मा दिइएको थियो । यसका लागि १५ दिनको समय दिइएको थियो । यसैगरी एक जना सुपरभाइजरको मातहतमा पाँच जना गणक रहने गरी गत कात्तिक २५ देखि यही मंसिर ९ गतेसम्म मुख्य जनगणना गरिएको थियो । एउटा गणकको भागमा सरदर दुई सय परिवारको विवरण संकलन गर्ने जिम्मेवारी परेको थियो । दुई सय परिवारका सदस्यहरूको विवरण लिनका लागि एक जना गणकलाई १५ दिनको समय प्रयाप्त हो । तर कैयौँ ठाउँमा गणकहरूले आफ्नो जिम्मेवारी निर्धारित अवधि भित्र पूरा गरेनन् । गणकहरूले धेरै ठाउँमा लापरवाही गरेको देखियो ।

वास्तवमा यसपटक सुपरभाइजर तथा गणकहरू भर्ना गर्दा नै ठूलो त्रुटी भएको छ । पहिलो कुरा त गणक तथा सुपरभाइजर भर्नामा सरकारी कर्मचारीहरूले नातावाद र कृपावाद गरे । दोस्रो कुरा सुपरभाइजरहरूले को बास्तविक गणक हो ? को नक्कली गणक हो ? भन्ने थाहा पाउन सकेनन् । प्लस टु पास गरेको प्रमाणपत्र पेस गरेर बहिनीले गणकमा नाम निकाल्ने र तालिम गर्न गई भत्ता लिने तर गणना गर्न ८ कक्षा पनि पास नगेरेकी दिदी गएका घटनाहरू कैयौँ ठाउँमा देखिए । जबकी तालिम नलिएको व्यक्तिले जनगणनाको विवरण संकलन गर्न सक्ने कुनै गुन्जायस नै थिएन । राजधानी काठमाडौं उपत्यका भित्रै त यस्तो देखिएको छ भने दूरदराजमा अझ के भएको होला ? यसैगरी कतिपय ठाउँमा गणकहरूलाई झुठा विवरण संकलनका लागि केही जातीय तथा साम्प्रदायिक संगठनमा आवद्ध व्यक्तिहरूले दबाब दिएका समाचार पनि आए ।

कोही गणकहरूले जानाजन झुठा विवरण संकलन गरेको समाचार पनि आए । आफ्नो जाति या भाषीको जनसंख्या बढी देखाउने र अर्को जाति या भाषीको जनसंख्या काम देखाउने राजनीति पनि जनगणनाका क्रममा भयो । त्यसैले जनगणनाको परिणाम सार्वजनिक गर्न केन्द्रीय तथ्यांक विभागले कत्ति पनि हतार नगरोस् । विवरण के कति सही आएको छ ? भन्ने बारे केही दिनको समय लिएर मोटामोटी सर्भे गर्नुपर्ने आवश्यकता देखिएको छ । यसतर्फ तथ्यांक विभागको ध्यान जाओस् ।

प्रतिक्रिया