कांग्रेस कञ्चनपुर सभापतिमा रमेश लेखक निकट बोगटी निर्वाचित

कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । उनले ८०६ मत पाएर विजयी भएका हुन् । उनी रमेश लेखक निकट हुन्। उनका प्रतिस्पर्धी बहादुरसिंह थापाले ७१५ मत पाएका छन् । उनलाई एनपी साउद समूहले सघाएको थियो।

उप–सभापतिमा भने थापा प्यानलका उमेदवार मीनबहादुर सिंह र हरी चन्द्र राना विजयी भएका छन् । सिंहले ७८६ र रानाले ७६३ मत पाएका छन् ।

सचिवमा पनि थापा प्यानलकै भीमराज भट्ट र हेमराज ओझा विजयी भएका छन् । भट्टले ७२८ र ओझाले ६९४ मत पाएका छन् । सह–सचिवमा दुवै प्यानलबाट एक-एक जना निर्वाचित भएका छन् । थापा प्यानलका नाफुसिंह साउँद र बोगटी प्यानलका पुस्कल चौधरी निर्वाचित भएका छन् ।

५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदामा उत्रिएका थिए। शनिबार भएको निर्वाचनमा एक हजार ६ सय १८ मा एक हजार ५ सय ७१ मत खसेको थियो ।

प्रतिक्रिया