कांग्रेस बागमती प्रदेशको सभापतिमा प्रधानद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले काँग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता प्रधानले शनिवार काठमाडौँस्थित शान्तिबाटिकामा उम्मेदवारी घोषणा सभा गर्दै बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरूप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने बताए ।

उनले भने – ‘संघीय संरचना अन्तर्गत संविधानमा तीन तहको सरकारको व्यवस्था गरेको छ । पार्टीको तीन तहको संरचना बनेको छ । त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न सक्यो भने पनि एउटा पहिचान बन्छ । यो प्रथम अधिवेशन हो । त्यो ठाउँमा मैले आफ्नो उम्मेदवारी यहाँहरूको शुभेच्छा, सद्भावले पाउन सक्यो भने मैले आफ्नो कार्यदक्षता, आफ्नो भिजन र भोलि आउने दोस्रो पुस्तालाई पनि संघीयताको बारेमा, संघीयताको मर्म र भावनालाई, संविधानको स्प्रिटलाई एउटा संस्थागत रूपमा लाने, संघीयताबारे धेरै प्रश्न उठेको छ । संघीयता रहन्छ रहँदैन, प्रदेश चाहिन्छ चाहिँदैन, केन्द्र र प्रदेशको द्वन्द्व, प्रदेश र स्थानीय सरकारको द्वन्द्व यी सबै कुरा संविधानमा व्यवस्था गरेतापनि कानुनी रूपमा साह्रै फितलो कमजोर रहेको कारणले पनि यो काँग्रेसको महाधिवेशनले यी सबै कुराको निर्क्योल गर्नलाई पनि तह तप्कामा विविध तहमा रहेर काम गर्न सक्यो भने यसको संस्थागत विकासलाई त्यो तहमा बस्न सक्यो भने आफूले केही काम गराउन सक्नेमा मेरो मान्यता छ । त्यसैले मैले त्यसतर्फ मेरो उम्मेदवारीको इच्छा गरेको छु । आकाङ्क्षा जारी गरेको हो ।’ उनले प्रदेश भित्रका सबै जिल्लाहरूसँग समन्वय गरी बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने आफ्नो आशय रहेको पनि बताए ।

प्रतिक्रिया