जयतुद्वारा विभिन्न विद्वान सम्मानित

काठमाडौं । संस्कृत भाषाका माध्यमबाट पूर्वीय दर्शन, संस्कार र संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका विभिन्न विद्वानलाई जयतु संस्कृतम्ले पुरस्कृत एवं सम्मानित गरेको छ । संस्कृतम्ले पशुपति क्षेत्रस्थित शंकराचार्य मठमा शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रा. शिवगोपाल रिसाल, प्राडा विद्यानाथ उपाध्याय, पूर्वसचिव एवं आध्यात्मिक चिन्तक शरदकुमार भट्टराई र पूर्वसचिव केदारबहादुर अधिकारीलाई सम्मान गरेको हो । यस्तै, संस्कृतम्को धरान शाखाले त्यस क्षेत्रका अग्रज विद्वान् प्रा. पुरुषोत्तम भट्टराईलाई समेत सम्मान गरेको छ । कोरोना जोखिम कायमै रहेकाले अग्रज व्यक्तित्व भट्टराईलाई राजधानी ल्याउन नसकिएकाले धरानमै सम्मान गरिएको संस्कृृतमले जनाएको छ ।

त्यस्तै, संस्कृत भाषामा पुस्तक लेख्ने प्रा.डा. लक्ष्मीकान्त पन्थी र प्रा. रामहरि दाहाललाई ११ हजार १ सय ११ राशिसहितको पुरस्कारबाट सम्मानित गरिएको छ । २०७६ फागुन २२ गते नै कार्यक्रम गर्ने गरी तयारी गरिएकामा कोरोना संक्रमण बढ्न थालेकाले त्यतिबेला स्थगित गरिएको सम्मान एवं पुरस्कार प्रदान कार्यक्रमको आयोजना गरिएको संस्कृतम् संस्थाका सदस्य सचिव डा नवराज कट्टेलले जानकारी दिए । उनका अनुसार संस्थाले प्रत्येक वर्ष संस्कृत भाषामा पुस्तक प्रकाशन गर्ने लेखकमध्ये मूल्यांकनका आधारमा उत्कृष्टलाई पुरस्कार प्रदान गर्र्दै आएको छ । यसैगरी संस्कृत भाषाका माध्यमबाट पूर्वीय दर्शनका विभिन्न विधामा योगदान गर्ने विशिष्ट विद्वानलाई सम्मान गर्दै आएको छ । कट्टेलले भने, ‘संस्कृत भाषाले नै संस्कार र संस्कृतिको संरक्षण गर्न सक्ने भएकाले प्रत्येक वर्ष यो सम्मान गर्ने गरिएको हो । संस्कृत भाषाको संरक्षण र प्रवद्र्धनका लागि जयतु संस्कृतम् संस्थाले नियमित रुपमा पुस्तकसमेत प्रकाशन गर्दै आएको छ ।’ संस्थाले हालसम्म २० वटा पुस्तक प्रकाशन गरिसकेको छ । उनले छ वटा पुस्तक प्रकाशनको चरणमा रहेको जानकारी दिए । यी पुस्तक पनि छिट्टै प्रकाशनको चरणमा रहेको जनाइएको छ । यसैगरी संस्थाले उत्तर महाभारत ग्रन्थ तयार गरिरहेको छ । संस्कृत भाषाका विद्वान्को समूह यो ग्रन्थ प्रकाशनको तयारीमा रहेको कार्यक्रममा जानकारी दिइयो ।

नेपालकै पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् विसं २००४ मा स्थापना भएको थियो । संस्कृतसँगै आधुनिक विषय पनि पठनपाठनको व्यवस्था हुनुपर्ने मागसहित २००४ सालमा तीनधारा संस्कृत छात्रावासका विद्यार्थीले गरेको आन्दोलनपछि राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना हुनुपर्ने मागमा बदलिएको थियो । आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग राख्ने विद्यार्थीलाई काठमाडौं उपत्यकाका चार भञ्ज्याङ कटाएपछि तिनले देशका विभिन्न भागमा राणा शासनको विरोध गर्दै प्रजातन्त्रका पक्षमा जनमत निर्माण गरेका थिए । जयतु संस्कृतम् आन्दोलन गर्र्दै देशव्यापी दौडाहाबाट विद्यार्थीको समूह भारतको बनारस पुगेका थिए ।

बनारसमा नेपालमा प्रजातन्त्र स्थापनाका लागि नेपाली कांग्रेस स्थापना गरी आन्दोलन गरिरहेका नेता बिपी कोइरालासँग भेट भएको थियो । जयतु संस्कृतम् आन्दोलनका अधिकांश विद्यार्थी प्रजातन्त्र स्थापनाको क्रान्तिमा सहभागी भएका थिए । यो आन्दोलनको स्वर्ण महोत्सवका अवसरमा विसं २०५५ मा जयतु संस्कृतम् संस्था स्थापना भएको हो । स्थापनापछि संस्थाले संस्कृत भाषाको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको छ । पुरस्कार एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसचिव एवं सम्मानित व्यक्तित्व अधिकारी, विद्वानद्वय रिसाल र उपाध्याय, पुरस्कृत व्यक्तित्वद्वय पन्थी र दाहाल लगायतले संस्कृत भाषामा ज्ञान भए पनि पछिल्लो समय त्यसको अध्ययन एवं चिन्तन मनन् गर्ने क्रम हराउन थालेकाले संरक्षणका लागि संस्थाले कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया